पाम तेल आयात नखुलाउन भारतीय व्यवसायीको ‘लबिइङ’

(नयाँदिल्ली) — पाम तेल निर्यातमाथि भारतले एक महिनाअघि लगाएको बन्देज खुला गर्न नेपाली पक्षले पहल गरिरहेका बेला भारतीय व्यवसायीले त्यसविरुद्ध ‘लबिइङ’ थालेका छन् । उनीहरूले त्यही क्रममा नेपालबाट आयात हुने पाम आयलमा दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अनुसार शून्य भन्सार सुविधा नदिन सरकारसमक्ष आग्रह गरेका छन् । 

पाम तेल आयात नखुलाउन भारतीय व्यवसायीको ‘लबिइङ’

खाने तेल उत्पादक तथा व्यापारीहरूको संस्था सल्भेन्ट एक्सट्र्याक्टरर्स एसोसिएसन अफ इन्डिया (एसईए) ले नेपाललाई त्यस्तो सुविधा दिएको खण्डमा घरेलु प्रशोधन उद्योगलाई असर पार्ने दाबीसहित त्यस्तो आग्रह गरेको हो । सोमबार भारतका वाणिज्यमन्त्री पीयूष गोयललाई भेटेर व्यवसायीहरूले त्यस्तो आग्रह गरेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । नेपालको भन्सार विभागले पनि चालु आवको पहिलो पाँच महिनामा पाम तेलको भारतर्फको निर्यात ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको जनाएको थियो, जुन मुलुकको कुल निर्यातको एक चौथाइभन्दा बढी थियो । र, अझै बढ्ने क्रममा थियो ।


नेपालले पाम आयलमाथि लगाइएको भन्सार छुटका लागि गरिरहेको पहलमा पनि भारतीय उद्योगी व्यवसायीले चासो देखाएका छन् । नेपालले साफ्टाअन्तर्गत शून्य भन्सारमा आरबीडी पालमोलिन निर्यातका लागि दबाब बनाइरहेकोमा समेत एसोसिएसनले ध्यानाकृष्ट भएको जनाएको छ । ‘नेपालले निर्यात गर्ने उत्पादनमा उत्पत्ति (रुल अफ ओरिजिन) र मूल्य अभिवृद्धिसम्बन्धी नियम उल्लंघन भएको हुँदा कुनै पनि हालतमा खुला गर्नु हुँदैन’ एसोसिएसनका अध्यक्ष अतुल चतुर्वेदीले मन्त्री गोयलसमक्ष गरेको प्रस्तुतिलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ । चतुर्वेदीले यस किसिमको आयातलाई छुट दिने हो भने राजस्वसँगै स्वदेशी प्रशोधन उद्योग र तेलहन उत्पादक किसानमाथि पनि असर पर्ने दाबी गरेका थिए ।


भारतीय व्यापारीहरूले साफ्टाको प्रसंग उल्लेख गरे पनि भारतले नेपाली उत्पादनलाई द्विपक्षीय वाणिज्य तथा व्यापार सन्धिअन्तर्गत भन्साररहित सुविधा दिँदै आएको छ । यसअन्तर्गत कृषि तथा अन्य औद्योगिक उत्पादनको कम्तीमा पनि ३० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्छ । तर, पाम तेलमा नेपाली व्यवसायीले उत्पादनको प्रशोधनभन्दा पनि मूल्य अन्तरलाई मात्र अभिवृद्धिका रूपमा व्याख्या गरेको आशंका छ । भारतीय व्यवसायीले पनि त्यसैलाई आधार बनाएर नेपालबाट हुने निकासी रोक्न माग गरेका हुन् ।


नेपाली पक्ष भने भारतले अझै पनि पाम तेलको आयात खुला गर्नेमा आशावादी देखिन्छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले भारतीय व्यापारी तथा उद्योमीहरूको ‘लबिइङ’ बारे अनभिज्ञता प्रकट गर्दै भारतीय पक्षसँग यो विषयलाई सुल्झाउन छलफल भइरहेको बताए । ‘भारतीय पक्षसँग आग्रह भइसकेको छ । उनीहरूसँग नियमित सम्पर्कमा छौं,’ उनले भने ।


अर्थविद्हरू भने अहिले मलेसियाका कारण भारतले निर्यातमा बन्देज लगाएपछि ढिलोचाँडो नेपालबाट हुने निर्यातमाथि अंकुश लाग्ने निश्चित रहेको दाबी गर्छन् । भारतले दिँदै आएको भन्साररहित सुविधाको नेपाली व्यवसायीहरूद्वारा विगतदेखि नै दुरुपयोग गर्ने प्रवृत्ति रहेको र पाम तेलको सन्दर्भमा त्यही दोहोरिएको उनीहरूको भनाइ छ । ‘ढिलो–चाँडो यो त हुनु नै थियो । नेपालमा उत्पादन नै नहुने वस्तु तेस्रो मुलुकबाट आयात गरेर ३० प्रतिशत मूल्य अभिवृद्धि गरेको भनेर कसले पत्याउँछ ?’ अन्तर्राष्ट्रिय व्यापारका जानकार तथा अर्थविद् पोषराज पाण्डेले भने ।


भारतले मलेसियासँगको राजनीतिक सम्बन्ध तनावपूर्ण बनेपछि पाम तेलको आयातमाथि बन्देज लगाउने निर्णय गरेको थियो । जम्मुकश्मीरको विशेषाधिकार खारेजीको निर्णय र नागरिकता संशोधन विधेयकलाई लिएर मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सार्वजनिक रूपमै आलोचना गरेपछि त्यसलाई लिएर भारतीय पक्ष असन्तुष्ट थियो । मलेसियाको प्रमुख कृषि उत्पादनमा पर्ने पाम तेलको प्रमुख बजार थियो ।

प्रकाशित : माघ १५, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?