कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

सुरज कुँवर

काठमाडौँ — पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हिमनदी विज्ञ र भूर्गविद् डा. धनन्जय रेग्मी छानिएका छन् । उनलाई मंगलबार साँझ बसेको पर्यटन बोर्डको सञ्चालक समितिले सीइओमा नियुक्त गरेको हो । स्याङजा पौवागडे जन्मथलो भएका ४५ वर्षीय रेग्मी चार वर्षका लागि बोर्डको पाँचौ सीइओ नियुक्त भएका हुन् ।

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

‘छनोट उपसमितिबाट उत्कृष्ट तीन जनाको नाम सिफारिस भएको थियो,’ बोर्डका अध्यक्ष पर्यटन सचिव केदारबहादुर अधिकारीले कान्तिपुरसँग भने, ‘तीमध्येबाट रेग्मी चार वर्षका लागि बोर्डको सीइओमा छानिएका हुन् ।’


अब रेग्मीले बोर्डका अध्यक्ष अधिकारीसँग कार्यसम्पादन कारार सम्झौता गर्नुपर्ने छ । त्यसलगत्तै उनी सीइओको पदभार सम्हाल्ने छन् । सीइओ छनोट समितिमा रहेका निजी क्षेत्रका प्रतिनिधि कृष्ण महराले १९ जना आवेदकमध्ये रेग्मीको प्रस्तुती र योजना अन्य आवेदकको दाँजोमा उत्कृष्ट रहेको बताए । ‘रेग्मी पर्यटन क्षेत्रमा केही गर्न सक्ने क्षमता भएका अध्येता देखिए उनमा नेपाल सरकारले अघि सारेको भम्रण वर्षकालागि केही नविनतम कार्य गर्न सक्ने क्षमता छ,’ बोर्ड सदस्य महराले भने । पुस ८ गते निवर्तमान सीइओ दीपकराज जोशीको चारवर्षे पदावधि सकिएपछी बोर्डको संचालक समितिले नयाँ सीइओकालागि २१ दिनको समयसिमा राखेर विज्ञापन आह्वान गरेको थियो । त्यसमा आवेदन दिने १९ आवेदकको छनोट प्रक्रियाको ३६ औं दिनमा रेग्मी छानिएका हुन् ।


रेग्मीले सन् २००६ मा जापानको होक्काइदो विश्वविद्यालयबाट पर्वतीय क्षेत्रको भौर्गभिक अवस्था तथा वातावरणीय विज्ञानमा विद्यावारिधि गरेका छन् । भारतीय सेनामा कार्यरत बुबाका कारण उच्च शिक्षा भारतका विभिन्न सहरमा अध्ययन गरेका रेग्मीले पोखराको पीएन क्याम्पसबाट भूगोल र अर्थशास्त्रमा स्नातक गरेका हुन भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट भूगोल र जापनको होक्काइदो विश्वविद्यालयबाट भू–विज्ञानमा स्नातकोत्तर गरेका छन् ।


रेग्मी हिमालयन रिसर्च सेन्टर नामको संस्थामार्फत हिमाली क्षेत्रबारे अनुसन्धानमुलक काम गर्दै आएका छन् । रेग्मीले १२ वर्षयता पदयात्रा सम्बन्धि ट्रेकिङ तथा ट्राभल एजेन्सी पनि संचालन गरिरहेको बताए । राजधानीको लैनचौर र कुपण्डोलमा रहेको टोयटा गाडीको डिलरका पनि रेग्मी नै संचालक हुन् । हाइड्रोपावर व्यवसायमा पनि संलग्न रेग्मीले चार वर्षअघि ताप्लेजुङको फावा खोलाबाट ५ मेगावाट विद्युत उत्पादन गरी उक्त जिल्लामा पहिलोपटक बिजुली बालेको बताए । स्थानियलाई पनि शेयर जारी गरिएको उक्त हाइड्रोपावर हाल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ताप्लेजुङकै पर्यटन व्यवसायी ईश्वरी पौडेलसँगको साझेदारीमा लुक्लामा पनि पर्यटकीय होटल सञ्चालन गरेको रेग्मीले चाँडै सञ्चालनमा आउन लागेको हेलिकप्टर कम्पनी मुस्ताङ एयरमा पनि लगानीकर्ताका रुपमा रहेका छन् ।


वार्षिक २ अर्ब रुपैया बढीको अटो व्यवसाय गर्दै आएका रेग्मीले वार्षिक १ अर्ब हाराहारी बजेट भएको पर्यटन बोर्डको सीइओ भएपछी ९ वटा विषयमा सुधार गर्ने योजना रहेको बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा उनले बोर्डको समग्र सुधार, डिजलट बजारीकरण, अनुसन्धानमा आधारित पर्यटकीय गन्तव्य बिस्तार, बोर्डको आर्थिक सुधार, परम्परागत शैलीमा हुने गरेको मार्केटीङलाई बदल्ने भनेका छन् । ‘तीनै तहका सरकारमार्फत स्कुलतहबाटै नेपालको पर्यटनलाई पुर्नपरिभाषित गरेर तल्लोतहसम्म पर्यटन क्षेत्रको अर्थतन्त्र बिस्तार गर्ने योजनामा छु,’ सीइओ रेग्मीले भने । उनले अबको चार वर्ष आफ्ना सबै व्यवसायको कार्यकारी भूमिकामा नरहेर बोर्डलाई पूर्ण समय दिने बताए । ‘मेरो जीवनको अधिकांश नेपालका अधिकांश हिमाली भेगको अनुसन्धानमा बिताएँ । अब मैले अनुसन्धानमा पत्ता लगाएको विषय कर्ममार्फत बोर्डको सीइओको आवरणमा उतार्ने प्रयास गर्ने छु,’ रेग्मीले भने ।

प्रकाशित : माघ १४, २०७६ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?