१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किसानले पाउँदैनन् ऋण

प्रकाश बराल

(बागलुङ) — बागलुङ नगरपालिका–८ सिँगानाका रेशम थापाको बारीमा ४ सय ६० सुन्तलाका बोट छन् । ६ सय कुखुरा पालेका छन् । थप २ हजार कुखुरा पाल्न मिल्ने खोर पनि छ । उनको झन्डै २५ रोपनी बारी छ । यही सम्पत्ति देखाएर उनले बैंकबाट ऋण लिन खोजे । तर, यहाँका बैंकले सडकले नछोएको जग्गा भनेर ऋण दिएनन् ।

गाउँबेंसी कृषि फर्ममार्फत सुन्तलाको भण्डारण केन्द्र बनाउने, उत्पादन बढाउने र कुखुरा थपेर व्यावसायिक रूपमा अण्डा उत्पादन गर्ने उनको लक्ष्य थियो । बैंकबाट ऋण नपाएपछि उनी निराश भए ।


राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा दिने तथा कृषि क्षेत्रलाई प्राथमिकता दिने गरी नीति ल्याएको उनलाई थाहा छ । तर, खेती गर्न ऋण लिन नपाएपछि उक्त नीति आफूलाई काम नलागेको थापा बताउँछन् । ताराखोलाका सरोज गौतमको गुनासो पनि उस्तै छ । स्नातकोत्तर उत्तीर्ण उनको कृषि फार्म छ । जग्गा पनि प्रशस्तै छ । ‘ऋण लिन जाँदा मेरो कमाइ के छ भनेर सोधिन्छ । मेरो प्रमाणपत्र र सडकले नछोएको मेरो जग्गा धितोका रूपमा मूल्यांकन गरिएन,’ उनले भने, ‘के सदरमुकाममा रहेको र राजमार्गले छोएको जग्गा मात्र धितो हो ? हामी किसानले ऋण लिएर काम गर्न नपाउने ?’


नीतिअनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा ५ करोड रुपैयाँसम्म ऋण दिन सकिने व्यवस्था छ । तर थापा र गौतम जस्ता सयौं किसान सहुलियत दरको ऋण पाउन प्रक्रिया नपुगेकै बहानामा वञ्चित छन् । शिक्षित युवा स्वरोजगार कार्यक्रमका लागि ७ लाख र विदेशबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ लगानी गर्न सकिने प्रावधान छ । तर, यसका लागि आवश्यक कागजात जुटाउन सास्ती परेको किसानको गुनासो छ ।


नीतिअनुसार कपडा उद्योग खोल्न ५ करोड रुपैयाँसम्म ऋण दिने व्यवस्था छ । महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न १५ लाख र दलित समुदायको उत्थानका लागि १० लाख रुपैयाँको व्यवस्था छ । सहुलियत कर्जाका लागि बैंकको आधारदरमा २ प्रतिशत मात्र ब्याज लिएर ऋण दिनुपर्ने व्यवस्था राखिए पनि यहाँका बैंकबाट त्यस्तो ऋण प्रवाह कम मात्रै भएको छ । ‘हामीले नीतिमा बसेर ऋण दिनुपर्छ, कागजात पुर्‍याउन समस्या छ,’ बैंकर्स एसोसिएसन बागलुङका अध्यक्ष नारायणप्रसाद पौड्यालले भने, ‘समूह, संस्था र कम्पनीमा जानुपर्ने, भ्याट बिलको कारोबार गर्ने र मूल्यांकनकर्ताले प्रमाणित गरिदिनुपर्ने सर्त राखिएकाले किसान मारमा परेका हुन् ।’ बैंकले चाहेर पनि मूल्यांकनकर्ताको प्रतिवेदनसमेत बाधक भएको उनले बताए ।


बागलुङमा २७ वाणिज्य बैंक छन् । तीमध्ये राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा कम आधारदर छ । ६ दशमलव ७९ प्रतिशत आधारदर भएकाले कृषि व्यवसायका लागि धेरै निवेदन आएको शाखा प्रबन्धक विजयप्रकाश पौडेलको भनाइ छ । ‘धैरै फाइल आएकाले अध्ययन गरेर ऋण दिनै सास्ती भयो,’ पौडेलले भने, ‘अझै ६ हजार फाइल अध्ययनका क्रममा राखिएको छ ।’


बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जनप्रतिनिधिको सिफारिस र किसानको फार्म नै धितो सम्झेर ऋण दिन बैंकलाई आग्रह गरे । ‘सडकले नछोए पनि किसानले कति कमाइ गर्न सक्छ भन्ने पनि हेरिदिनुपर्छ,’ उनले भने, ‘सहुलियत ऋण दिएर किसानलाई सन्तुष्ट बनाए बैंकको बजार क्षेत्रसमेत बढ्नेछ ।’

प्रकाशित : माघ १४, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?