कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उखु किसानको पीडा : ‘खेती गर्नभन्दा भुक्तानी लिन दुःख’

ऋणमा डुब्दै गएका किसान सरकारले पनि अनुदान नदिँदा अन्य पेसा गर्ने मनसायमा पुगेका छन् 
प्रदेश २ ब्युरो

जनकपुर — रौतहटको गढीमाई–३ गम्हरियाका किसान मोहम्मद मजबुल्लाह उखुको उधारो रकम भुक्तानी पाउने आशाले गत बुधबार बिहानदेखि साँझसम्म चिनी मिल परिसरमै पर्खिए । दिनभरको पर्खाइबाट कुनै उपलब्धि हात लागेन । बिहीबार बिहान उखु उत्पादक संघका पदाधिकारीलाई भेटेर उनले मिलले भुक्तानी नदिएको गुनासो पोखे । संघका पदाधिकारीले मिल मालिकसित फोनमा कुरा गरे । मिल सञ्चालकले आइतबार बैंक खातामा बक्यौता रकम जम्मा गरिदिने आश्वासन दिए ।

उखु किसानको पीडा : ‘खेती गर्नभन्दा भुक्तानी लिन दुःख’

गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिलले गत वर्ष उखु खरिद गरेबापत मजबुल्लाहलाई २ लाख तिर्न बाँकी छ । यही रकम पाउन उनले कैयौंपटक मिल धाइसकेका छन् । तर रकम नपाएपछि पटकपटक रकम नपाएको गुनासो गरिरहेका छन् । ‘बक्यौता रकम माग्दा सुरुमा मिल बन्द गर्ने भनेर धम्क्याए । अहिले पनि भुक्तानीको समय कहिलेसम्म हो भन्ने यकिन छैन,’ उनले भने, ‘आफ्नो पैसा लिन यति धेरै दुःख भोग्नुपर्ने ?’


बक्यौता रकम भुक्तानी नभएकै कारण उखु किसानले राजधानी केन्द्रित आन्दोलन गरेपछि माघ ७ भित्र किसानलाई बुझाउन बाँकी रहेको सबै रकम भुक्तानी गर्न मिल मालिक सहमत भएका थिए । सोअनुसार मजबुल्लाहजस्तै धेरै किसानले भुक्तानी पाएनन् । उनले करिब दुई बिघा जमिनमा उखु खेती गर्दै आएका छन् । यतिबेला पनि उनलाई उखु काट्न मजदुर खोज्न हतारो छ । बन्द हुने भनिएको मिल सञ्चालनको तयारीमा रहेपछि मिलसम्म उखु पुर्‍याउन उनलाई हतार छ । यही समयमा अघिल्लो वर्षको रकम लिन मिल धाउनुपरेको उनले गुनासो गरे । मिल सञ्चालकले सरकारसँग सम्झौता पालना नगरेको उखु उत्पादक संघका रौतहटका अध्यक्ष अशोक जैसवालको भनाइ छ । ‘यसबीचमा किसानले १ रुपैयाँ पनि पाएका छैनन्,’ उनले भने । संघले किसानको बक्यौता रकमका लागि मिल सञ्चालकलाई दबाब दिइरहेको जनाएको छ । केही वर्षदेखि मिल सञ्चालक र किसानबीच भुक्तानीकै विषयलाई लिएर विवाद हुँदै आएको छ । किसानले मिल गेटमा धर्ना र गोदाममा ताला लगाएपछि मिल सञ्चालकसँग उनीहरूको द्वन्द्व बढेको हो ।


श्रीराम सुगर मिलले पछिल्लो पाँच वर्षदेखि किसानको रकम बक्यौता राख्दै आएको छ । किसानले गत वर्षको २८ करोडसहित ०७१ सालयताको ३६ करोड रकम लिन बाँकी रहेको अध्यक्ष जैसवालले जानकारी दिए । रौतहटका किसानले आठ हजार बिघा क्षेत्रफलमा उखु खेती गरेका छन् । किसानको बक्यौता रकम भुक्तानीको तयारीमा रहेको श्रीरामका वरिष्ठ कार्यालय सहायक श्यामनन्दन यादवले बताए । मिल घाटामा चलेकाले भुक्तानीमा समस्या हुँदै आएको उनको भनाइ छ ।


उखु खेती गर्दा सिँचाइ, मल र बीउको समस्या भोग्नुपरेको बाराको गढीमाई–४ संग्रामपुरका किसान हरिनारायण साहले बताए । ‘भनेका बेला युरिया मल पाइँदैन । सिँचाइको पनि उस्तै समस्या छ,’ उनले भने, ‘कति दुःख गरेर उखु हुर्काउँछौं । मिलमा लैजाने बेला चलान पाइँदैन । बल्लबल्ल लग्यो, समयमा भुक्तानी पाइँदैन ।’


उखुलाई नगदेबाली भनिए पनि पछिल्लो समय भुक्तानीमा झमेला हुन थालेको छ । अघिल्लो वर्षको २ लाख रुपैयाँ पाउन बाँकी रहेको साहको भनाइ छ । उनले खेती गर्दा एक वर्षअघि गाउँकै छिमेकीसँग लिएको १ लाख ५० हजार रुपैयाँ कर्जा तिर्न सकेका छैनन् ।


सर्लाहीको गोडैता नगरपालिका–१० का रौदी महतोको आम्दानीको स्रोत उखु नै हो । यसैबाट उनका परिवारको खर्च चलेको छ । दुई वर्षयता धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको भुक्तानी नपाउँदा उनलाई दैनिक गुजारा धान्न मुस्किल परेको छ । गत वर्ष उखु खेतीकै लागि ऋण लिएका उनले चिनी उद्योगबाट भुक्तानी नपाउँदा ब्याज तिर्नसमेत धौ–धौ परेको गुनासो गरे ।


किसानले उखु रोप्ने बेलादेखि नै संघर्ष गर्नुपर्छ । उखु खर्चिलो खेती भएकाले रोप्ने बेलामै ऋणको चपेटामा पर्छन् । गोडमेल र कटाइसम्म निरन्तर मिहिनेत, स्याहार र लगानी गर्नुपर्छ । उखु काट्ने बेलामा उद्योगमा ल्याउने पुर्जी (चलान) का लागि पनि किसानले संघर्ष गर्नुपर्छ । उखु काट्न मजदुर र ढुवानी गर्न किसानले नगदै तिर्नुपर्छ । कतिपय किसानले उखु कटानी र ढुवानीका लागि थप ऋण लिनुपर्ने बाध्यता रहन्छ । उखु भने उधारोमा मिललाई बुझाउनुपर्छ । किसानको उखु क्रसिङ गरी चिनी बनाएर बिक्री गरेपछि मात्र उद्योगीले भुक्तानी दिँदै आएका छन् । मूल्य तय हुने समयमै उद्योगीले न्यूनतम ४५ दिन उधारोमा उखु दिनुपर्ने सहमति गर्न लगाउँछन् । तर त्यो सहमति उनीहरू आफैंले उल्लंघन गर्छन् । उधारोमा उखु बुझाइसकेका किसानलाई चिनी बिक्री नभएको बहाना बनाउँदै वर्षौंसम्म भुक्तानीमा आलटाल गर्छन् ।


यहाँका प्रायः किसानको अवस्था उस्तै छ । उनीहरू परिश्रमको मूल्य पर्खिंदापर्खिंदै ऋणको भासमा पर्दै गएका छन् । स्वास्थ्योपचारका लागि खर्चसमेत नहुने किसान धेरै छन् । सिँचाइ सुविधा नभएका कारण जिल्लाको दक्षिणी–पश्चिम क्षेत्रका किसानले उखु खेती गर्छन् । अकासे–पानीको भरमा खेती गरिरहेका यहाँका किसान कहिले सुक्खा त कहिले डुबान समस्यामा पर्ने गरेका छन् । भुक्तानी नपाउँदा साहूसँग लिएको ऋणको ब्याजसमेत तिर्न नसकिएको धनकौल गाउँपालिका–१ सेखौनाका गंगाधर मिश्रले बताए । उद्योगले भुक्तानी नदिँदा उखु बेचेको सबै रकम ब्याज तिर्न ठिक्क हुने अवस्था रहेको उनको भनाइ छ । ‘फाइदाका लागि उखु खेती गरेको,’ उनले भने, ‘पीडा मात्र थपियो ।’


फेरि आन्दोलनको चेतावनी

सरकारले किसानको भुक्तानीका लागि उद्योगीहरूलाई सहमति गराएको समयमा भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसान फेरि आन्दोलनको तयारीमा छन् । उखु किसान संघर्ष समितिले केही दिनमा सरकारले किसानको खातामा पैसा जम्मा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । उद्योगीले जस्तै सरकारले पनि आफूहरूलाई झुक्याएको किसानको आरोप छ । भुक्तानीका लागि किसान छटपटीमा परेका बेला सरकारले माग सम्बोधन गर्नुपर्ने संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए ।


महोत्तरीका किसान उखु उद्योगलाई उधारो दिएपछि समयमा भुक्तानी नपाउँदा अन्य खेतीमा लाग्ने मनस्थितिमा छन् । उद्योगहरूले ४५ दिनभित्र भुक्तानी दिने आश्वासन दिए पनि किसान निराश छन् । आफ्नै श्रम पसिनाको मूल्य नपाएपछि अनेक झमेला बेहोर्नुपर्ने भएपछि उखु खेती लाउनभन्दा भुक्तानी लिन बढी दुःख भएको उनीहरूको भनाइ छ । महोत्तरीका किसान महाशंकर थिङले गत वर्ष १० हजार क्विन्टल उखु उद्योगलाई दिएका थिए । २२ बिघा जमिनमा उखु खेती गर्दै आएका उनले ६ लाख ५० हजार सरकारी अनुदान पाउनुपर्ने थियो । तर त्यो पनि नपाएको उनले गुनासो गरे । उद्योगले समयमै पैसा नदिएपछि उखु खेती घटाएर छ बिघा जमिनमा केरा खेती गरेको उनले जानकारी दिए ।

प्रकाशित : माघ १३, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?