स्थानीय तहको कर : व्यक्तिगत घटनामा पनि शुल्क- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहको कर : व्यक्तिगत घटनामा पनि शुल्क

ठाकुरसिंह थारू

बर्दिया — बर्दियाका आठ वटै स्थानीय तहले सरोकारवालासँग छलफल नगरी सामान्य सरकारी सेवामा पनि मनपरी शुल्क असुल्न थालेका छन् । गाउँ/नगर कार्यपालिकाले आर्थिक कार्यविधि पास भएलगत्तै सामान्य सिफारिस दिन पनि पहिलेभन्दा कयौं गुणा बढी शुल्क उठाइरहेका छन् ।

केही पालिकाले व्यक्तिगत घटना दर्ताका लागि तोकिएभन्दा बढी कर लिएको पाइएको छ । जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्धविच्छेदलगायत घटना दर्ताका लागि राजापुर नगरपालिकाले १५०, ठाकुरबाबा र बाँसगढी नगरपालिकाले १ सय रुपैयाँ लिइरहेका छन् । ३५ दिनभित्रै व्यक्तिगत घटना दर्ता गरिए पञ्जीकरणबापत ५० रुपैयाँ शुल्क लिने कानुनी व्यवस्था छ ।


सरजमिन, नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासनका लागि दिइने सिफारिस, नाता प्रमाणित, सामान्य सिफारिस र प्रमाणित प्रतिलिपि कागज लिने शुल्क अचाक्ली छ । पहिलेको तुलनामा पाँच सय गुणासम्म कर लिन थालिएको छ । सरकारी सेवा शुल्क र जग्गा, घरबहाललगायत करले सर्वसाधारण मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले संकलन गरेको अभिलेखअनुसार सरजमिन र नाता प्रमाणितसहित नागरिकता सिफारिस शुल्क सबैभन्दा बढी तोकिएको हो ।


सरजमिनका लागि बारबर्दियाले १ हजार ८ सय ५०, बढैयाताल गाउँपालिकाले १ हजार ६ सय ८०, ठाकुरबाबा नगरपालिकाले १ हजार ४ सय, बाँसगढी नगरपालिकाले १ हजार १ सय ५०, राजापुर नगरपालिकाले ९६५, गुलरिया नगरपालिकाले ९५५, गेरुवा गाउँपालिकाले ८३०, मधुवन नगरपालिकाले ७५० रुपैयाँसम्म शुल्क तोकेका छन् । ‘यो हदभन्दा बढी शुल्क भो । घरबहाल, मालपोत कर पनि पहिलेभन्दा धेरै तिर्नुपरेको छ,’ बाँसगढी नगरपालिकाका स्थानीय विश्वास शर्माले भने, ‘घरघरमा सरकार आउँछ भनेको त कर पो असुल्न आएको रहेछ ।’


नागरिकता सिफारिस र प्रतिलिपि लिन सिफारिसका लागि बारबर्दियाले ३२५ र बढैयाताल गाउँपालिकाले ३१० रुपैयाँ शुल्क लिँदै आएका छन् । अरू पालिकाले १५० देखि १७० लिने गरेको पाइएको छ । सरजमिनलगायत सेवाका लागि सबैभन्दा बढी शुल्क लिने भनिएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर चौधरीले पालिकाले लिने शुल्क तथा कर उनीहरूकै लागि खर्च हुने बताए । तर पहिले नै बढाइएको कर भने घटाउने सोचमा रहेको उनको भनाइ छ ।


‘स्थानीय सरकार आउनुभन्दा पहिले लिने कर हामीले पनि लिएका हौं । सिफारिसलगायत कामका लागि लिने बढी कर घटाउँछौं,’ उनले भने, ‘उठेको कर पालिकाको विकासमा खर्च भइरहेको छ ।’ अन्य कामका लागि आवश्यक पर्ने सिफारिसका लागि बारबर्दिया नगरपालिले ५ सय रुपैयाँ लिने गरेको छ ।


अन्य कामका लागि सिफारिस चाहिए ठाकुरबाबा नगरपालिकाले ४ सय, बढैयाताल गाउँपालिकाले ३१०, गुलरिया नगरपालिकाले २२५, मधुवन नगरपालिकाले २ सय, राजापुरले १७०, बाँसगढीले १५० र गेरुवा गाउँपालिको १३० रुपैयाँ शुल्क लिने गरेका छन् । नाता प्रमाणितका लागि बढैयाताल गाउँपालिकाले ५१०, बारबर्दियाले ५ सय, ठाकुरबाबाले ४ सय, बाँसगढीले ३५०, गुलरिया नगरपालिकाले २६५, गेरुवाले २५०, राजापुरले २२५ र मधुवनले २ सय रुपैयाँ लिने गरेका छन् ।


सर्वसाधारणबाट उठ्ने कर विकासका काममा प्रयोग हुने भए पनि उनीहरूलाई मार हुने गरी अत्यधिक कर लिन उचित नरहेको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर खत्रीले बताए । ‘पहिले लाख उठ्थ्यो, हाल करोड उठ्छ । त्यसैले विकास गर्न सहज छ,’ उनले भने ।


१ सय रुपैयाँ मालपोत कर तिर्दै आएका नागरिक अहिले १ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् । ‘पहिलेभन्दा कर धेरै छ तर विकासले गति लिन सकेको छैन । जुनसुकै शीर्षकमा कर र सेवा शुल्क लिँदा हामी मारमा परेका छौं,’ बारबर्दियाका सर्वसाधारण शिवप्रसाद चौधरीले भने ।

प्रकाशित : माघ १२, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्

कहाँ हराए यी गीत ?

साँझमा करनउटी, जन्माउटी र फूलवार, मध्यरातबाट बिहानसम्म बिहेगरा, दिउसो गाइने दिननचवा र कहरा संरक्षणमा नयाँ पुस्ताको चासो छैन ।
ठाकुरसिंह थारू

प्रकृतिलाई रिझाउन थारूहरू गीत गाउँछन् । जेठ असारमा पानी परेन भने ‘सिंँगरो र राजाचबिरल’ गुन्जाउँछन् । विरहको यो गीतले प्रकृति पनि निरीह बन्छ र वर्षा हुन्छ जनविश्वास अझै छ । राजा चरिबल उहिलेका राजाको जीवनीमा अधारित छ । यसमा महिलाहरू पुरुष बन्छन् ।

गीत गाउँदै नजिकैको गाउँमा गएर धावा बोल्छन् । गाईगोरु खोसेर ल्याउँछन् । गीतमार्फत चुनौती दिन्छन् । अर्को दिन गाईगोरु खोसिएका गाउँका महिला पुरुषको भेषमा छुटाउन पुग्छन् । गीतमार्फत युद्ध हुन्छ । गीतैबाट जितहार । गईया बेह्रना गीत पाण्डवको कथासँग जोडिन्छ । राजाले अरूको गाईगोरु खोसेको भन्दै पाण्डवले युद्ध गर्छन् । पानी पर्छ, अनि युद्ध रोकिन्छ । यसैलाई आधार बनाएर गीतमार्फत युद्ध गर्ने र वर्षा भएपछि रोकिने चलन गईया बेह्रना गीत हो ।

रोपाइँ गर्ने बेला छुट्टै गीत गाइन्छ । बढी वर्षा भएका बेला हलोलाई उल्टो गाडेर पानी रोक्न चुनौती दिने परम्परा पनि छ । बाह्रै महिना फरकफरक गीत छन् । पुसमा गुन्जिले दफका गीत फागुनसम्म चल्छ । माघी नजिकिँदै गर्दा सखिया नाच्न सुरु भइसक्यो । यतिबेला गाउँमा मघौता गीत गाउँमा सुन्न थालिएको छ ।
माघ लहाइली रे सुरिक सिकार खाइली रे हँ ।
सखियै हो माघीको गुरीगुरी जाँर ।

‘थारू समुदायमा मौसम र समयअनुसारका गीत छन् । हरेक महिना फरकफरक गीत गाउन सकिन्छ,’ थारू गीतका मोरहिया गोविन्द चौधरी भन्छन्, ‘थारू समुदायका गीत मायाप्रेममा मात्रै सीमित छैन, इतिहास, महाभारत रामायणसँग पनि सम्बन्धित छन् ।’ थारू समुदायका परम्परागत गीत गाउन माहिर उनका अनुसार वैशाखमा सजना र सजनी गाइन्छ । दिउसो र राति गाइने सजना फरक हुन्छ । दिउसो काम गर्ने क्रममा पुरुषले सजना गाउँछन् । राति गर्मी छल्न आँगनमा खटिया राखेर महिलाले पनि सजना गाउँछन् । चौधरी भन्छन्, ‘वैशाख–जेठ महिनामा पहिले जंगल जाने चलन थियो । त्यो बेला हामीले कठमदरिया गीत गाएको सम्झन्छु ।’
केही वर्षअघि गर्मी मौसममा महिला पिङ (बलहा) खेल्न जान्थे । तर पिङ खेल्दै मायाप्रेमका गीत गाउने चलन हराइसकेको छ । ‘यो गीत इतिहासमै सीमित भइसक्यो । पुराना पुस्ताले पनि बिर्सिसके,’ थारू गीतमा रुचि राख्ने गुरुराम थारू भन्छन् ।

कृष्णाष्टमीमा विभिन्न चराचुरुंगीको चित्र कोरेर पूजा गरिन्छ । रातभरि कृष्णको लीलामा आधारित गीत गाइन्छ । भदौको दोस्रो सातासम्म हरेरी पूजा गरेपछि दसैंलाई स्वागत गरिन्छ । वर्षापछि बालीमा हरियाली छाएपछि थारू गाउँमा हरेरी पूजा हुन्छ । त्यस दिनदेखि गाउँमा मादल बज्न थाल्छ । बालीनालीमा कीरा नलगोस् भनेर गरिने हरेरी पूजाले दसैं आगमनको संकेत गर्छ । हरेरीको दिन पहिलो वर्षको पहिलोपल्ट नाच गरिन्छ । त्यही दिनदेखि थारू समुदायले नाचगान गरी दसैंको आगमनलाई स्वागत गर्ने चलन छ । ‘हरेरी पूजापछि दसैं सुरु भइसक्छ । पहिले दिनभरि घाँस काट्ने र साँझ रमाइलोका लागि नाच्ने गरिन्थ्यो । अहिले नाचगानमा केही कमी आएको छ,’ थारू नाचगान गर्दै आएका पतिराम चौधरी भन्छन् ।

असोज–कात्तिकमा समयअनुसार गीत गाउँछन् थारूहरू । साँझका बेला हुर्डुंगा नाच चल्छ । १२ बजेपछि बिहेग्रा गीत गाइन्छ । हुर्डुँगा गीत थारू इतिहास, पहिलेका थारू राजाका कथामा आधारित छ । ‘एकै दिन र रातमा थरीथरीका गीत गाउनुपर्छ । समय (पाख) अनुसारका गीत गाउँदा फरकफरक शैलीको छ,’ थारू समुदायका अगुवा चन्द्रबहादुर चौधरी भन्छन् ,‘थारू समुदायको पहिचान नै गीतलगायतका संस्कृति हो ।’

मंसिरदृखि फागुनसम्म बिहेको महिना । थरीथरीका माँगर गाइन्छ । सम्धीसम्धी जोड्ने छुट्टाछुट्टै गीत गाउनुपर्छ । दुलहा पक्ष र दुलही पक्षले गाइने माँगर पनि फरक छन् । बरातीको स्वागतमा गाउँका किसानले फाग पढ्छन् । महिलाले माँगर । दुलहाका आमाले पनि माँगर गाउने गर्छन् ।
नौ महिना पुटा कोखियमा रहलो रे सराशरीर दूध पिलो रे ।
एकादिन गैलो पुटा ससुरा दुवारिया, ससुराका कैलो बयाना ।

(छोरा तिमी मेरो कोखमा नौ महिना रह्यौ । रातदिन दूध खायौ । तर एक दिन मात्रै के ससुराली गयौ, ससुराको बयान गर्न थाल्यौ ।)
आमाले यसरी छोरासंग गुनासो गर्दा जो कोही भावुक बन्छन् । दुलही पक्षले माँगर गाएर बिदाइ गर्दा सबैको आँखा रसाउँछ । ‘बिहेका बेला गाइने माँगर गीत रमाइलो छ । तर कतिपय गीतले मान्छेलाई रुवाइदिन्छ,’ लामो समयदेखि माँगर गाउँदै आएकी सीतारानी चौधरी भन्छिन्, ‘माँगर गीतले दुलहा पक्षलाई छेडछाड पनि गरिन्छ ।’

सयौं वर्ष पुराना थारू गीत समयपिच्छे फरक रहे पनि संरक्षण हुन सकेको छैन । साँझ करनउटी, जन्माउटी, फूलवार गीत मध्यरातबाट बिहानसम्म बिहेगरा, दिउसो दिननचवा र कहरा गीत गाउने परम्परा छ । जुनैसुकै बेला जुनसुकै गीत गाउन पाइँदैन । थारू समुदायको महान् पर्व माघीमा फाग पढेर रमाइलो गरिन्छ । थारू गाउँमा एक महिनाअघि नै माघ सुरु भइसकेको हुन्छ ।

हराएका गीत
थारू समुदायको निकै चर्चा पाउने परम्परागत झर्रा नाच हराइसक्यो । तीन दशकअघिसम्म थारू गाउँमा निकै नाचिन्थ्यो । किशोरकिशोरी सँगै नाच्थे । मायाप्रेममा आधारित गीत गाइन्थे । झर्रा मादलको तालमा एकसाथ समूह बनाएर नाचिन्छ । बर्दिया बाँसगढी नगरपालिका ४ लक्षणपुरका युवाहरू भने झर्रा नाच संरक्षणमा जुटेका छन् । उनीहरू पर्व, महोत्सव र मेलाहरूमा झर्रा नृत्य देखाएर नयाँ पुस्ताको संस्कृतिक चेत खोल्ने प्रयासमा छन् । लक्षणपुरबाहके थारू बहुल पश्चिम तराईका जिल्लामा झर्रा नृत्य देखिँदैन । ‘यो नाच लोप भइसक्यो भन्दा हुन्छ । त्यसैले हामी संरक्षणमा जुटेका हौँ,’ थारू गीतसंगितको संरक्षणमा लागिपरेका फागु चौधरी भन्छन् ।

थारू गीत संरक्षण गर्न हजारौं वर्ष पुराना गीतहरूको संकलन र रेकर्ड गर्नुपर्ने अगुवाहरू बताउँछन् । हुर्डुगा, बिहेग्रा, महिरावनलगायतका गीत पोठीमा लेखिएका छन् । सजना, माँग, धमार, दिननचवा, कहरा गीतहरू मौखिक रूपमै गाउने गरिन्छ ।
हिजोआज भोजपुरी र हिन्दीसँग मिल्ने डिजी गीत दैनिकजसो सार्वजनिक हुन थालेका छन् । थारू भाषाको चलचित्र भुरभुरा रहर, तुहारविना का जिना, अभागिन बनल सुहागन, बौछार, जाली संसार, लुटल जिन्दगी, करम, बहारलगायतका दर्जनभन्दा बढी फिल्म बने । तर तिनले लगानीसमेत उठाउन सकेनन् । अहिले फिल्मभन्दा पनि म्युजिक भिडियो बन्ने होड छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×