२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

स्थानीय तहको कर : व्यक्तिगत घटनामा पनि शुल्क

ठाकुरसिंह थारू

बर्दिया — बर्दियाका आठ वटै स्थानीय तहले सरोकारवालासँग छलफल नगरी सामान्य सरकारी सेवामा पनि मनपरी शुल्क असुल्न थालेका छन् । गाउँ/नगर कार्यपालिकाले आर्थिक कार्यविधि पास भएलगत्तै सामान्य सिफारिस दिन पनि पहिलेभन्दा कयौं गुणा बढी शुल्क उठाइरहेका छन् ।

स्थानीय तहको कर : व्यक्तिगत घटनामा पनि शुल्क

केही पालिकाले व्यक्तिगत घटना दर्ताका लागि तोकिएभन्दा बढी कर लिएको पाइएको छ । जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्धविच्छेदलगायत घटना दर्ताका लागि राजापुर नगरपालिकाले १५०, ठाकुरबाबा र बाँसगढी नगरपालिकाले १ सय रुपैयाँ लिइरहेका छन् । ३५ दिनभित्रै व्यक्तिगत घटना दर्ता गरिए पञ्जीकरणबापत ५० रुपैयाँ शुल्क लिने कानुनी व्यवस्था छ ।

सरजमिन, नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासनका लागि दिइने सिफारिस, नाता प्रमाणित, सामान्य सिफारिस र प्रमाणित प्रतिलिपि कागज लिने शुल्क अचाक्ली छ । पहिलेको तुलनामा पाँच सय गुणासम्म कर लिन थालिएको छ । सरकारी सेवा शुल्क र जग्गा, घरबहाललगायत करले सर्वसाधारण मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले संकलन गरेको अभिलेखअनुसार सरजमिन र नाता प्रमाणितसहित नागरिकता सिफारिस शुल्क सबैभन्दा बढी तोकिएको हो ।


सरजमिनका लागि बारबर्दियाले १ हजार ८ सय ५०, बढैयाताल गाउँपालिकाले १ हजार ६ सय ८०, ठाकुरबाबा नगरपालिकाले १ हजार ४ सय, बाँसगढी नगरपालिकाले १ हजार १ सय ५०, राजापुर नगरपालिकाले ९६५, गुलरिया नगरपालिकाले ९५५, गेरुवा गाउँपालिकाले ८३०, मधुवन नगरपालिकाले ७५० रुपैयाँसम्म शुल्क तोकेका छन् । ‘यो हदभन्दा बढी शुल्क भो । घरबहाल, मालपोत कर पनि पहिलेभन्दा धेरै तिर्नुपरेको छ,’ बाँसगढी नगरपालिकाका स्थानीय विश्वास शर्माले भने, ‘घरघरमा सरकार आउँछ भनेको त कर पो असुल्न आएको रहेछ ।’

नागरिकता सिफारिस र प्रतिलिपि लिन सिफारिसका लागि बारबर्दियाले ३२५ र बढैयाताल गाउँपालिकाले ३१० रुपैयाँ शुल्क लिँदै आएका छन् । अरू पालिकाले १५० देखि १७० लिने गरेको पाइएको छ । सरजमिनलगायत सेवाका लागि सबैभन्दा बढी शुल्क लिने भनिएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर चौधरीले पालिकाले लिने शुल्क तथा कर उनीहरूकै लागि खर्च हुने बताए । तर पहिले नै बढाइएको कर भने घटाउने सोचमा रहेको उनको भनाइ छ ।

‘स्थानीय सरकार आउनुभन्दा पहिले लिने कर हामीले पनि लिएका हौं । सिफारिसलगायत कामका लागि लिने बढी कर घटाउँछौं,’ उनले भने, ‘उठेको कर पालिकाको विकासमा खर्च भइरहेको छ ।’ अन्य कामका लागि आवश्यक पर्ने सिफारिसका लागि बारबर्दिया नगरपालिले ५ सय रुपैयाँ लिने गरेको छ ।


अन्य कामका लागि सिफारिस चाहिए ठाकुरबाबा नगरपालिकाले ४ सय, बढैयाताल गाउँपालिकाले ३१०, गुलरिया नगरपालिकाले २२५, मधुवन नगरपालिकाले २ सय, राजापुरले १७०, बाँसगढीले १५० र गेरुवा गाउँपालिको १३० रुपैयाँ शुल्क लिने गरेका छन् । नाता प्रमाणितका लागि बढैयाताल गाउँपालिकाले ५१०, बारबर्दियाले ५ सय, ठाकुरबाबाले ४ सय, बाँसगढीले ३५०, गुलरिया नगरपालिकाले २६५, गेरुवाले २५०, राजापुरले २२५ र मधुवनले २ सय रुपैयाँ लिने गरेका छन् ।

सर्वसाधारणबाट उठ्ने कर विकासका काममा प्रयोग हुने भए पनि उनीहरूलाई मार हुने गरी अत्यधिक कर लिन उचित नरहेको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर खत्रीले बताए । ‘पहिले लाख उठ्थ्यो, हाल करोड उठ्छ । त्यसैले विकास गर्न सहज छ,’ उनले भने ।

१ सय रुपैयाँ मालपोत कर तिर्दै आएका नागरिक अहिले १ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् । ‘पहिलेभन्दा कर धेरै छ तर विकासले गति लिन सकेको छैन । जुनसुकै शीर्षकमा कर र सेवा शुल्क लिँदा हामी मारमा परेका छौं,’ बारबर्दियाका सर्वसाधारण शिवप्रसाद चौधरीले भने ।

प्रकाशित : माघ १२, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?