कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लुकाएर ल्याइन्छ भारतीय प्याज

नुमा थाम्सुहाङ

काठमाडौँ — चालु आर्थिक वर्षमा प्याज आयातको परिमाण निरन्तर घट्दो छ । गत साउनको तुलनामा मंसिरमा पाँच गुणाले आयात घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

लुकाएर ल्याइन्छ भारतीय प्याज

साउनमा ४५ करोड ९८ लाख ३० हजार रुपैयाँको १ करोड ४९ लाख २ हजार किलो प्याज भित्रिएकामा मंसिरमा ३२ लाख १७ हजार किलो मात्र आयात भएको छ । साउनभन्दा यो ७२ लाख ७५ हजार किलो कम हो ।


भारतले प्याज निर्यात बन्द गरेपछि प्याजको आयात परिमाण घटेको हो । भदौमा ५४ करोड ७५ लाख ३२ हजार रुपैयाँको १ करोड ४९ लाख १६ हजार किलो प्याज आयात भएकामा ७६ लाख ३ हजार किलो घटेर असोजमा ३८ करोड ९४ लाख ६१ हजार रुपैयाँको ७३ लाख १३ हजार किलो मात्र प्याज भित्रिएको विभागको तथ्यांक छ । कात्तिकमा भने १९ करोड ९ लाख ७० हजार रुपैयाँको ४८ लाख २२ हजार किलो प्याज नेपाल भित्रिएको थियो ।


भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि आयात घट्नु स्वाभाविक भएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए । ‘प्रतिबन्ध लागेपछि आयात स्वाभाविक घट्छ नै,’ उनले भने, ‘तर केही परिमाणमा भए पनि भारतबाट प्याज आइरहेको छ । नेपाली स्थानीय बजारमा अहिले पनि भारतीय प्याज नै उपलब्ध छ ।’


चालु आवमा १ अर्ब ७८ करोड ८३ लाख ७ हजार रुपैयाँको ४ करोड ५१ लाख ७१ हजार किलो प्याज भित्रिएको छ । यसमध्ये भारतबाट १ अर्ब ५८ करोड १९ लाख २९ हजार रुपैयाँको ४ करोड २० लाख २० हजार किलो प्याज आएको छ । चीनबाट २ करोड ५९ लाख ९ हजार रुपैयाँको ३१ लाख ३९ हजार र नामिबियाबाट साउनमा मात्र ३ लाख ८७ हजार रुपैयाँको १२ हजार किलो प्याज आयात भएको थियो ।


अहिले भारत र चीनबाट दैनिक ४० देखि ५० टन प्याज आइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । ‘भारत सरकारले प्रतिबन्ध खुलाएको छैन,’ उनले भने, ‘अवैध बाटो भएर नै भारतीय प्याज नेपाल भित्रिरहेको छ । त्यसैले यहाँको बजारमा छिटफुट प्याज पाइरहेकै छ ।’


नेपाली भान्सामा भारतीय प्याजको विकल्पमा चिनियाँ प्याज प्रयोगमा आइरहेको उनले बताए । कालीमाटी बजारमा बुधबारसम्म चिनियाँ प्याज प्रतिकिलो ५०/६० रुपैयाँ र भारतीय प्याज १२० रुपैयाँका दरले बिक्री भइरहेको उनले जानकारी दिए । दुई महिनाअघि भारतीय प्याज २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको थियो । त्यति बेला चिनियाँ प्याज भने १४५ रुपैयाँसम्म पुगेको थियो । चिनियाँ प्याजको तुलनामा भारतीय प्याजलाई नेपालीले बढी रुचाउने गरेका छन् ।

प्रकाशित : माघ १२, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?