कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विद्युत् हब बन्दै त्रिशूली करिडोर

कृष्ण थापा

(नुवाकोट) — विदुर ४ का मनोरथ श्रेष्ठले घरमा बिजुली बाल्न थालेको पाँच दशक भयो । त्रिशूली जलविद्युत् आयोजना बनेपछि सदरमुकाम विदुर र त्रिशूलीका स्थानीयले बिजुली बाल्न थालेका हुन् । उनी जस्तै वडा २ का रामकृष्ण पाण्डेले पनि बत्ती बालेको त्यति नै समय भयो ।

विद्युत् हब बन्दै त्रिशूली करिडोर

‘त्यतिखेर त्रिशूलीमा पहिलो पटक बिजुली बल्यो,’ उनले भने, ‘बिजुली नुवाकोट डाँडामा बालियो ।’ जिल्लाभर बिजुली विस्तार भने ०४२ सालबाट सुरु भएको हो । ०२३ सालबाट उक्त आयोजनाले बिजुली उत्पादन गरी काठमाडौं पठाउन थालेको हो ।


त्रिशूलीको जडित क्षमता २४ मेगावाट रहे पनि यसले २१ मेगावाट दिँदै आएको छ । ०४० सालमा त्रिशूलीकै क्यास्केट परियोजनाअन्तर्गत देवीघाट १४ मेगावाट निर्माण भएपछि त्रिशूली नदीबाट उत्पादन हुने बिजुली ३५ मेगावाट पुग्यो । देवीघाट जलविद्युत् उत्पादन भएको १२ वर्षपछि नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहभागितामा ०५२ सालमा रसुवाको स्याफ्रुबेंसीमा चिलिमे जलविद्युत् आयोजना निर्माण सुरु भयो । चिलिमे रसुवा सदरमुकाम धुन्चेदेखि करिब २२ किमि दूरीमा पश्चिमोत्तर चिलिमे गाउँ नजिक बग्ने चिलिमे खोलाबाट पानी ल्याएर बिजुली उत्पादन गरिएको छ । यसले ०५८ सालमा व्यावसायिक उत्पादन थालेको हो । ०६२/६३ पछि त्रिशूली नदी बग्ने खोलामा जलविद्युत्को निर्माण गर्ने क्रम बढेको हो । यही वर्ष नेपाल विद्युत् प्राधिकरण मातहतमा रहेको ६० मेगावाटको त्रिशूली ३ ‘ए’ ले व्यावसायिक उत्पादन थाल्यो । चिलिमेको नेतृत्वमा १११ मेगावाटको रसुवागढी जलविद्युत् निर्माण अन्तिम चरणमा छ ।


चीनको सिमानामा पर्ने उक्त आयोजनाले छिट्टै व्यावसायिक उत्पादन थाल्ने जनाएको छ । रसुवागढी पूर्वपट्टि घट्टेखोला आयोजनाबाट ४ दशमलव ८ मेगावाट निर्माणको क्रममा छ । उक्त आयोजनाभन्दा अलिकति तल १२० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत् शिलान्यास भएको छ । यो आयोजनाको पीपीएसमेत भइसकेको छ । चिलिमे भोटेकोसी ५२ मेगावाटको आयोजना पनि निर्माणको क्रममा छ । त्यसपछि चिलिमे जलविद्युत् २२ मेगावाट आउँछ । चिलिमेको बाँधभन्दा सिरानमा ७८ मेगावाटको क्षमताको सान्जेनखोला जलविद्युत् आयोजना निर्माणको क्रममा छ । यो जलविद्युत् आयोजनाका लागि सडक लैजाने काम हुँदै छ । त्यसभन्दा तल १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र त्यसकै अर्को क्यास्केट परियोजना ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन निर्माण अन्तिम चरणमा छ । त्यही पानी पुन: चिलिमे जलविद्युत्मा आउँछ । पूर्वबाट बगेर भोटेकोसीमा मिसिने लाङटाङ खोलामा २० मेगावाट र अर्को माथिल्लो लाङटाङबाट २४ मेगावाट निर्माणकै क्रममा छ ।


१० मेगावाटको लाङटाङ जलविद्युत् आयोजना निर्माणकै क्रममा छ । १२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना पनि निर्माणको क्रममा छ । चिलिमे जलविद्युत् उत्पादन केन्द्रभन्दा तल १०२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ आयोजना निर्माण हुँदै छ । रसुवा सदरमुकाम धुन्चे नजिक पर्ने गोसाइँकुण्डबाट झर्ने पानीबाट ४ दशमलव ४ मेगावाट क्षमताको त्रिशूली खोला आयोजना निर्माणाधीन छ । त्यसभन्दा तल २१६ मेगावाटको माथिल्लो त्रिशूली १ छ । यो आयोजनाले निर्माणाधीन विद्युत्गृह जाने मैलुङ खोलामाथि पक्की पुल निर्माण गरेको छ । बाँधस्थल हाकुगाउँको पुच्छरमा पुल निर्माण थालिएको योजना प्रमुख गिरिराज अधिकारीले जानकारी दिए । आयोजनाको पीपीए भइसकेको छ । आयोजनाले ठेक्का लगाएर निर्माणमा जाने तयारी रहेको उनले बताए । त्यसपछि त्रिशूली नदीमा मिसिने मैलुङ खोला आउँछ । मैलुङखोलामा तीन वटा विद्युत् आयोजना छन् ।


हाल ५ मेगावाटको मैलुङ खोला जलविद्युत्ले उत्पादन दिइरहेको छ । यो आयोजना ०५८ सालमा सुरुवात गरिए पनि सडक निर्माणको ढिलाइले आयोजना धकेलिएको थियो । ०७१ सालको अन्तिममा विद्युत् उत्पादन थालिए पनि बाढीपहिरो र भूकम्पले क्षति पुर्‍याएको थियो । त्यसपछि यही खोलामा १४ दशमलव ३ मेगावाटको अपर मैलुङ आयोजना निर्माण थालिएको छ ।

प्रकाशित : माघ ११, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?