कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलामको पर्यटन विकासमा चर्चा बढी, काम कम

इलामको पर्यटन विकासमा चर्चा बढी, काम कम
विप्लव भट्टराई

(इलाम) — भ्रमण वर्ष सुरु भइसकेको छ । आन्तरिकसहित बाह्य पर्यटकका लागि उत्तम गन्तव्य मानिएको इलामका विभिन्न क्षेत्रको प्रचार र विकासका लागि काम पनि भइरहेका छन् । तर व्यावसायिक पर्यटन विकासमा लागेको डेढ दशकभन्दा बढी भइसक्दा पनि सकारात्मक परिणाम देखिएको छैन । 

इलामको पर्यटन विकासमा चर्चा बढी, काम कम

विशेषगरी आन्तरिक पर्यटकले यहाँको पर्यटन टिकाएका छन् । विदेशी पर्यटक कमै मात्र इलाम भित्रिएको तथ्यांक छ । भारत पश्चिम बंगाल यहाँबाट नजिकै पर्छ । उनीहरूको रोजाइमा इलाम त्यति परेको छैन । कोलकातासहित पश्चिम बंगालका विभिन्न पर्यटनकर्मी र ट्राभल एजेन्सीले इलामका भूभागमा धेरै बंगाली पर्यटक ल्याउन सकिने बताइरहेका छन् । उनीहरूले फरक किसिमले इलामको पर्यटन क्षेत्रलाई विकास गर्नुपर्ने बताइरहेका छन् । तर परिणाममुखी काम हुन सकेको छैन ।


बंगाली पर्यटकले खोजे जस्तो हिमाल दार्जिलिङ र सिक्कम क्षेत्रबाट मज्जाले देखिन्छ । परम्परागत पहाडी नेपाली संस्कृति, परम्परा र जीवनशैली पनि उतै पाइन्छ । ‘बंगाली पर्यटकलाई नेपाल तान्न यीसहित उता नपाइने फरक स्वाद इलाममा पस्कन सक्नुपर्छ,’ कोलकाताका पर्यटनविद् राज वशु भन्छन्, ‘एडभेन्चर, धार्मिक विशेषता, संस्कृतिक विविधता, अतिथि सत्कारलगायत विषयले पर्यटक आकर्षित गर्न सकिन्छ ।’


सूर्योदय र हिमाल दृश्यावलोकनसँगै ऐतिहासिक चिया बगान, जातजातिका संस्कृति, धार्मिक स्थल, नगदे बालीको लोभलाग्दो खेती, हराभरा पहाड, पुरातात्त्विक र ऐतिहासिक वस्तु, जैविक विविधता, दुर्लभ जन्तु र पन्छीलाई देखाएर पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ ।


लोपोन्मुख लेप्चा जातिको संस्कृतिबारे चर्चा हुने गरे पनि त्यसको संरक्षण प्रयास कमै देखिएको छ । रेडपान्डा पाइने उत्तरी जंगलको संरक्षण र व्यवस्थापन, जैविक विविधतालाई असर पर्ने गरी हुने विकास निर्माण जस्ता काममा पनि ठोस योजना एवं सोच आवश्यक भएको सारोकारवालाको भनाइ छ । पर्यटकीय स्थलको गुरुयोजना बनेको वर्षौं बित्यो । तर त्यसअनुसार काम भएको छैन ।


‘पर्यटकीय विकास नहुनुको मूख्य कारण यही हो,’ पर्यटन विकासका लागि क्रियाशील धर्म गौतमले भने । सडक, आवास गृह, खानेपानी, शौचालयजस्ता अत्यावश्यक पूर्वाधार बन्न नसक्नु र हरेक पर्यटन क्षेत्रको टुर प्याकेज नहुँदा अथाह सम्भावनाबीच पनि पर्यटनले गति लिन सकेको छैन । ०६० सालमा इलाम महोत्सव सञ्चालन भएयता यहाँको पर्यटनमा जागरण आएको हो । उति बेला सदरमुकामसँगै प्रमुख पर्यटकीय केन्द्रहरू माईपोखरी, श्रीअन्तु, कन्याम, करफोक, पशुपतिनगर, फिक्कललगायतमा विविध कार्यक्रम आयोजना गरियो ।


पर्यटन विकासका लागि अब्बल माध्यम महोत्सवलाई मानेर सिद्धिथुम्का, माबु, गजुरमुखी, माङमालुङ, माईमझुवा सलकपुरलगायत स्थानमा पनि महोत्सव गरिए । महोत्सवले प्रचार बढे पनि भौतिक पूर्वाधार विकासमा खासै नसघाएको सरोकारवाला बताउँछन् । महोत्सवले फाइदाभन्दा नोक्सानी धेरै भएपछि विकल्पको खोजी गर्नुपर्ने विज्ञहरू सुझाउँछन् । सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात अन्तुमा पर्यटक आउनुमा महोत्सवले अर्थ राख्दैन । चियाबारीको सौन्दर्यसँग रमाउनेलाई पनि कन्याममा कुनै बारबेलाले छेकेको छैन । त्यहाँको आकर्षणको चर्चा फैलिएसँगै त्यस क्षेत्रमा भने व्यावसायिक पर्यटनको विकास भएको छ ।


पूर्वाधारमा मात्र केन्द्रित

पर्यटकीय केन्द्रका लागि अत्यावश्यक पूर्वाधार विकासको काम भए पनि सँगसँगै जोडिने प्रवर्द्धनात्मक काममा भने उति चासो दिएको पाइँदैन । भ्रमण वर्षको समयमा पनि दीर्घकालसम्म पर्यटक आवागमनको वातावरण बनाउन व्यवस्थित एवं सर्वसुलभ टुर प्याकेज, होटल र होमस्टेमा पर्यटकमैत्री व्यवहार, सवारी सधानको राम्रो व्यवस्था, दक्ष पथ प्रदर्शक, शान्ति सुरक्षाजस्ता विषयमा ध्यान नपुगेको पाइएको हो । तामझामभन्दा पर्यटकलाई लोभ्याउने र रैथाने वस्तु र उत्पादन प्रवर्द्धन गर्ने खालका कार्यक्रममा स्थानीय सरकारले सघाउनुपर्ने जौवारीका पर्यटन व्यवसायी पेम्बा शेर्पाले बताए ।


निष्प्रभावी अध्यागमन केन्द्र

लामो पहल र प्रतीक्षापछि सीमावर्ती पशुपतिनगर फाटकमा अध्यागमन केन्द्र खुलेको छ । दार्जिलिङलगायतका क्षेत्र घुमघामका लागि आएका भारतबाहेकका पर्यटक नेपाल आउन सहज हुने ठानिए पनि भारततर्फ नखुल्दा सेवा सञ्चालन हुन सकेको छैन । भारतले पहल गर्ने आश्वासन दिएपछि दबाब बढाउने उद्देश्यले नेपालले एकतर्फी रूपमा केन्द्र सञ्चालनमा ल्याएको हो ।


भारततर्फ केन्द्र नखुलेसम्म कार्यालयले यो रुटबाट पर्यटक बढाउने उपाय गर्न सकेको छैन । यताबाट प्रक्रिया पूरा गरेर पठाए पनि भारततर्फ अध्यागमन केन्द्र नहुँदा कुनै पनि पर्यटक प्रवेश गर्न सक्दैनन् । ०५७ सालमा पनि सरकारले पशुपतिनगर फाटकमा अध्यागमन कार्यालय स्थापना गरेको थियो । पूर्वी सीमावर्ती पशुपतिनगर नाकामा अध्यागमन केन्द्र स्थापनापछि बजार पुरानै अवस्थामा पुग्ने आशमा स्थानीय छन् । सूर्योदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटीय नगरसमेत घोषणा गरेकाले अध्यागमन केन्द्रले सेवा थाल्दा प्रत्यक्ष रूपमा सिंगो इलाम र पूर्वी पहाडका पर्यटकीय क्षेत्रमा प्रभाव पर्ने यहाँका बासिन्दाको अपेक्षा छ ।

प्रकाशित : माघ ९, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?