१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिनुहाेस् : अर्थमन्त्री खतिवडा

काठमाडौँ — अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर उद्योगी व्यवसायीहरुलाई नआत्तिन आग्रह गरेका छन् । १५ अर्ब पुँजी भएका बैंकले २/३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएका उनले बताए । 

बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिनुहाेस् : अर्थमन्त्री खतिवडा

कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नाफा अर्बमा देखिए पनि प्रतिशेयर आम्दानी कम हुने बताए । '१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाँड्‍नुपर्‍यो भने पनि २ अर्ब भन्दा बढी नाफा त गर्नै पर्‍यो, बैंकको नाफा २ अर्ब भएपछि व्यावसायिक साथीहरुलाई आँखा लाग्छ । २/२ अर्ब नाफा, ३/३ अर्ब नाफा ४/४ अर्ब नाफा अनि पुँजी कति छ हिसाब नगरिदिने,' उनले भने ।

देशको अर्थतन्त्र सकारात्मक बनाउन बैंकहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए । व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर परेकाे बताउँदै उनले भने, वैदेशिक रोजगारीमा जाने संख्या पनि घटाउ, रेमिट्यान्स पनि एकदमै धेरै ल्याउ, व्यापार घाटा एकदमै कम गर, राजश्व पनि एकदमै धेरै बढाइहाल, निक्षेपको ब्याज धेरै देउ, कर्जाको ब्याज त्योभन्दा कम राख जस्ता कुराले हामी कहिल्यै पनि लजिकल टुंगोमा पुग्दैनौं ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गरे। १० लाखभन्दा कमको कर्जा कुल कर्जाको ८० प्रतिशत हुनुले साना तथा मझौला कर्जामा कृषि विकास बैंकको ध्यान गएको बताउँदै निजी क्षेत्रका बैंकहरुले पनि यस्तो कर्जा बढाउनुपर्ने खतिवडाले बताए । नेपालको अर्थतन्त्रको आधार नै साना तथा मझौला उद्योग व्यवसाय भएकाले त्यसमा ऋण लगानी खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरे ।

नेपालको वित्तीय क्षेत्र दक्षिण एसियामै उत्कृष्ट भएको अर्थमन्त्री खतिवडाले बताए । उनले निष्क्रिय कर्जाको अवस्था पत्याउनै नसक्ने गरी तल रहेको उल्लेख गर्दै कर्जा प्रवाह गर्दा ज्ञान सीप भएका युवाहरुलाई अवसर दिन आग्रह गरे । वित्तीय क्षेत्रमा आएको प्रतिस्पर्धात्मक सुधारको अवस्था ले नै यस वर्ष सरकारले पनि तीनवटै सरकारी बैंकबाट उच्च लाभांश लिन पाएको समेत खतिवडाले बताए ।

प्रकाशित : माघ ७, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?