कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुन अनुगमनका कर्मचारीको बयान सुरु

राजु चौधरी

काठमाडौँ — सुन पसल अनुगमनका क्रममा परीक्षण गर्न ल्याइएको सुन गायब पारेको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन थालेको छ । आयोगले पहिलो चरणअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा दिलीप पौडेल र खरदार रामबहादुर थापासँग बयान लिएको छ ।

सुन अनुगमनका कर्मचारीको बयान सुरु

पौडेल र थापाले अघिल्लो आइतबार बयान दिएको विभागले जनाएको छ । अख्तियारले कर्मचारीहरू अनुगमनमा गए/नगएको, अनुगमनपछि कसरी सुन ल्याएको, सुनका गहना ल्याउँदा मुचुल्का तयार पारेको वा यत्तिकै ल्याएको विषयमा लिखित जवाफ मागेको छ । अनुगमन निरीक्षक र तत्कालीन निर्देशकहरूले परीक्षणपछि सुन स्टोरमा बुझाएको वा आफैं लिई गएको, परीक्षणपछि किन फिर्ता नगरकोलगायत प्रश्न पनि अख्तियारले गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि बयान लिने काम सुरु भएको जानकारी दिए ।


तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले ०६९ देखि विभिन्न क्षेत्रका सुन पसल अनुगमन गरेको थियो । त्यस क्रममा विभागले परीक्षणका लागि लगेको नमुना सुन फिर्ता नगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताउँदै आएको छ । ०६९ देखि विभागको महानिर्देशक भएर क्रमश: नारायणप्रसाद बिडारी, शम्भु कोइराला, गोकुल धिताल, कुमार दाहालले काम गरेका थिए । अनुगमन भएका बेला अनुगमन शाखा निर्देशकमा लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे थिए । श्रेष्ठले तत्कालीन महानिर्देशक कुमार दाहाललाई जानकारी नगराई सुन पसलमा समेत अनुगमन गरेका थिए ।


हाल श्रेष्ठ कृषि विभागमा छन् । कुमार दाहालपछि विभागको महानिर्देशक भएर योगेन्द्र गौचन आए । उनले अवकाश पाउने बेला सुनलगायत अन्यको फाइल खोज्न विभागका कानुन शाखा निर्देशक भगवान् श्रेष्ठको संयोजकत्वको छानबिन समिति गठन गरेका थिए । प्रतिवेदन बनाउने क्रममा लक्ष्मण श्रेष्ठले सुन फिर्ता गर्न आएका थिए । तर अनुसन्धानकै क्रममा रहेकाले अनुसन्धान अधिकृतहरूले सुन फिर्ता नलिन नमानेको कर्मचारीहरू बताउँछन् ।


अहिले नेत्र सुवेदी विभागको महानिर्देशक छन् । अख्तियारले चासो दिएपछि छानबिन समितिले तयार गरेको प्रतिवेदन सुवेदीले तालुक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका छन् । विभाग स्रोतका अनुसार मन्त्रालयले पनि प्रतिवेदन अख्तियारमा बुझाएको छ । प्रतिवेदनका आधारमा अख्तियारले कर्मचारीसँग बयान लिएको हो । ‘अनुसन्धानकै विषय भएकाले कर्मचारीलाई बोलाएको छ । छर्लंग हुने किसिमले प्रतिवेदन बनाएका छौं,’ प्रतिवेदन निर्माणमा संलग्न विभागका शाखा अधिकृत निरोजकुमार खत्रीले भने । २१ व्यवसायीले सुनका गहना फिर्ता नपाएको महासंघको दाबी छ । महासंघले विभागमा पठाएको विवरणअनुसार इन्द्रचोकमा रहेको शाक्य ज्वेलर्सको १.३८ ग्रामको टप, १.३३ ग्रामको लकेट, भेडासिंको न्यु कुमारी ज्वेलर्स एन्ड ह्यान्डिक्राफ्टको ०.९० ग्राम र ०.५६ ग्रामको टप फिर्ता आएको छैन ।


कालीमाटीको शुभश्री ज्वेलर्सले २.२० ग्रामको औंठी, वटुको सूर्यबहादुर शाक्य एन्ड सन्सको ११ ग्रामको चुरा र ८ ग्रामको झुम्का, कास्कीमा रहेको दि युनाइटेड गोल्ड मार्टको १.९२ ग्रामको डाइस फेन्सी औंठी फिर्ता नपाएको महासंघको विवरण छ । कास्कीकै गोरखा एन्ड वराह ज्वेलरी इन्डस्ट्रिज प्रालिको १.३८ ग्रामको लकेट र दलबहादुर एन्ड सन सुनचाँदी पसलको २.९८ ग्रामको क्वाइन औंठी फिर्ता नभएको विवरण महासंघले विभागमा पेस गरेको छ । पोखरास्थित अर्जुन पुग्दीभुम्दी सुनचाँदी पसलको ३.८० ग्रामको फेन्सी औंठी, फेवाताल सन्तोष सुनचाँदी पसलको २ ग्रामका १ जोर टप, स्याङ्जाको कमल सुनचाँदी पसलको ०.५५० ग्रामको नाकेफुली १ थान र सुवास सुनचाँदी पसलको ०.६४० ग्रामको घोप्टे टप १ थान फिर्ता नपाएको महासंघको विवरण छ । यीबाहेक विभिन्न जिल्लामा अनुगमनबाट संकलित नमुना पनि फिर्ता नभएको महासंघको भनाइ छ ।


प्रकाशित : माघ ७, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?