१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तल्लो मोदीको उत्पादन मिति अन्योल

अगन्धर तिवारी

(पर्वत) — दुई वर्षअघि नै उत्पादन दिने लक्ष्यसाथ ०६९ असारबाट सुरु भएको तल्लो मोदी जलविद्युत् आयोजनाबाट तत्काल उत्पादन तत्काल नहुने भएको छ । टनेलभित्र देखिएको समस्याका कारण ०७४ असारभित्रै उत्पादन सुरु गर्ने भनिए पनि २० मेगावाटको आयोजना उत्पादन मितिबारे अन्योल उत्पन्न भएको हो ।

तल्लो मोदीको उत्पादन मिति अन्योल

मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति एक वर्ष सर्ने देखिएको छ । भूकम्प, स्थानीयको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा अर्को झन्झटिलो क्षति बेहोरेपछि उत्पादनबारे अन्योल बढेको हो । सबै काम सकेर परीक्षण उत्पादनका लागि पानी पठाउने क्रममा टनेल चुहिएपछि आयोजना पक्ष मर्मतमा जुटेको छ । टनेलको धेरैजसो ठाउँमा पानी चुहिने समस्या समाधान गर्न केही समय लाग्ने आयोजनाले बताएको छ, जसका कारण अब उत्पादन मिति यही समयमा हुन्छ भनेर सार्वजनिक गर्न नसकिने आयोजना प्रमुख पवनकुमार यादवको भनाइ छ । स्थानीयले आयोजनाको टनेल डिजाइनकै क्रममा कमजोरी भएको दाबी गरेका छन् । आयोजना पक्षले भने डिजाइनमा कुनै शंका नरहेको प्रस्ट्याएको छ ।


‘डिजाइन फेलको कुरा होइन । पछि पानी लिक भएकाले समस्या देखिएको हो,’ यादवले भने, ‘काम गर्दै छौं । यसको एस्टिमेट निकालिएको छैन ।’ यसबाट आयोजनालाई हुने नोक्सानीबारे पनि मूल्यांकन भइरहेको छ ।


निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएपछि अहिले मर्मत भइरहेको छ । गत वैशाख अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि सबै रोकेर मर्मत थालिएको हो । मर्मतको काम सकेपछि गत कात्तिक १० गते लक्ष्मीपूजाका दिन परीक्षण गर्ने योजना थियो । दोस्रो योजना पनि असफल भएपछि टनेलको सबै भागको गहन मर्मत थालेको हो । कम्पनीका अनुसार अडिट २ को पाँच सय मिटरभित्रको टनेलमा पानी चुहिने समस्या देखिएको छ । कडा चट्टान क्षेत्रका बीचबीचमा छिद्र रहेका कारण पानी चुहिने समस्या देखिएको प्राविधिकले बताएका छन् ।


अहिले चट्टानमा रहेका छिद्रहरूमा ग्राउन्डिङ गर्ने काम केही समयभित्रै सकेर परीक्षण उत्पादन थाल्ने आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेको भनाइ छ । पानी चुहिने समस्या तत्कालका लागि सामान्य लागे पनि आसपासमा भएको बस्ती र टनेल सँगसँगैको मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्डमा आइपर्न सक्ने जोखिमलाई ध्यानमा राखेर कंक्रिटिङ र ग्राउन्डिङको काम भइरहेको उनले जानकारी दिए ।


कुस्मा नगरपालिका–७ चुवाको परादीस्थित पावर हाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म ४ हजार २ सय मिटर लामो टनेल छ । साउथ एसिएन इन्फ्रास्टक्चर लिमिटेडले सुरुङ निर्माणको काम सकेको थियो । विद्युत् आयोजनाको कम्पनीलाई जिम्मा नलगाउँदै टनेलमा समस्या देखिएका कारण मर्मतको जिम्मा पनि साउथ एसियन कम्पनीले नै लिनुपर्ने आसय निर्माण कम्पनीको छ । तर यस विषयमा कुनै कुरा नभएको प्रमुख यादवले बताए । ‘काम भइरहेको छ । कसले गर्ने भन्ने कुरा अहिले नगरौं,’ उनले भने । यसअघि पावर हाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार काटिँदा पनि केही समय निर्माणमा ढिलाइ भएको थियो ।


परादीस्थित पावरहाउस नजिकैबाट मोदीको पारितर्फको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करिब सात मिटर नपुगेपछि कम्पनीलाई टाउको दुखाइ भएको थियो । आयोजनाले तारको दूरी नाप्ने इन्जिनियरको सानो कमजोरीले करिब चार महिना काम रोकिएको थियो ।

प्रकाशित : माघ ७, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?