७४२ मेगावाटको तमोर आयोजना निर्माणका लागि समझदारी

काठमाडौँ — ७४२ मेगावाटको जलाशययुक्त तमोर आयोजना निर्माणका लागि लगानी बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँग जेभी (संयुक्त उपक्रम) रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ  ।

७४२ मेगावाटको तमोर आयोजना निर्माणका लागि समझदारी

आइतबार बोर्ड कार्यालयमा पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडका प्रतिनिधि र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले समझदारीमा हस्ताक्षर गरे ।


समझदारी भएको २४ महिनाभित्र प्रवर्द्धक कम्पनीले आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सकिसक्नुपर्ने बोर्ड कार्यालयले जनाएको छ । प्रदेश १ को ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लामा बन्ने आयोजना ऊर्जा उत्पादनका हिसाबले महत्त्वपूर्ण मानिन्छ । गत चैत १५ र १६ गते काठमाडौंमा आयोजित लगानी सम्मेलनका क्रममा बोर्डले यो आयोजनालाई ‘सो–केस परियोजना’ का रूपमा राखेको थियो । सम्मेलनका क्रममा र सम्मेलन सकिएपछि पनि सो–केस आयोजनामा लगानी गर्न इच्छुकबाट आवेदन मागिएको थियो । यी आयोजनामा पाँच वटा विभिन्न कम्पनीले इच्छा देखाएका थिए ।


तीमध्ये जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँग जेभी रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेब्रास पावर कतार होल्डिङसँग जेभी रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग सिलबन्दी प्रस्ताव माग गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वको प्राविधिक समितिले दुवै कम्पनीबाट प्राप्त प्रस्तावको मूल्यांकन गरी बोर्ड कार्यालयलाई सिफारिस गरेको हो ।


बोर्ड कार्यालय मातहत आउनुअघि नेपाल विद्युत् प्राधिकरणले यो आयोजनाबारे अध्ययन गरिरहेको थियो । विद्युत् विकास विभागले तमोर जलाशययुक्त आयोजना अध्ययनका लागि ०७० साउन १६ मा प्राधिकरणलाई सर्वेक्षण अनुमतिपत्र दिएको थियो । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा प्राधिकरणले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाए पनि सर्वेक्षण अनुमतिपत्रको म्याद सकिएपछि आयोजना बोर्ड मातहत लगिएको हो ।


आयोजना सन् १९८५ मा जाइकाले पहिचान गरेको हो । कोसी नदी जलस्रोत विकास गुरुयोजना तयार पार्ने क्रममा आयोजना पहिचान गरिएको हो । पूर्वी नेपालको तेह्रथुम, पाँचथर र ताप्लेजुङको सिमानामा बन्ने आयोजना ७६२ मेगावाट जडित क्षमतामा बनाउने सकिने भन्दै प्राधिकरणले विद्युत् विकास विभागमा अनुमतिपत्र संशोधनका लागि निवेदन दिएको थियो । तर कुनै निर्णय भने भइसकेको छैन ।प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनअनुसार यो आयोजना सुक्खायाममा दैनिक आठ घण्टा सञ्चालन गर्न सकिन्छ । वर्षायाममा भने १६ घण्टा लगातार सञ्चालन गर्न सकिनेछ ।


ऊर्जा उत्पादनका हिसाबले यो आयोजना महत्त्वपूर्ण हुने प्राधिकरणले गरेको अध्ययनले देखाएको छ । आयोजनाले सुक्खायाममा १ हजार १ सय ११ गिगावाट आवर र वर्षायाममा १ हजार ८ सय ७२ गिगावाट विद्युत् उत्पादन गर्न सक्छ । आयोजनालाई ७६२ मेगावाट जडित क्षमतामा निर्माण गर्दा यसले ३७ मेगावाटको काबेली ‘ए’ र २१ मेगावाटको तल्लो हेवा आयोजनालाई असर गर्ने देखाएको छ । यी दुवै आयोजना अहिले निर्माणको चरणमा छन् । तमोर आयोजना पूर्ण क्षमतामा निर्माण गर्दा असर पर्ने दुवै आयोजनालाई तमोरले क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।


यो आयोजना निर्माण सम्पन्न हुँदासम्म काबेली ‘ए’ र तल्लो हेवा सञ्चालन भई सरकारलाई हस्तान्तरणको चरणमा आइसक्ने र केही वर्षको ऊर्जा बराबरको मात्रै क्षतिपूर्ति तिर्नुपर्नेछ । प्राधिकरणले आफैंले यो आयोजना अघि बढाउन इच्छा देखाएको थियो । लगानी सम्मेलनको पूर्वसन्ध्यामा तयार पारिएको सार्वजनिक निजी साझेदारी तथा लगानी बोर्ड ऐनले २ सय मेगावाटमाथिका आयोजना लगानी बोर्डबाट परिचालन हुने व्यवस्था गरेको छ ।

प्रकाशित : माघ ६, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?