३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सम्झौता सकिन दुई दिन बाँकी : किसानले अझै पाएनन् एक अर्ब

राजु चौधरी

काठमाडौँ — सरकार र उखु किसानबीच भएको सम्झौता सकिन दुई दिन मात्र बाँकी रहँदा उद्योगीले १५ करोड ७४ करोड रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । यो रकम पनि महालक्ष्मी, अन्नपूर्ण र इन्दिरा सुगर मिलले बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । १० सुगर मिलले अझै ९९ करोड ५१ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । 

सम्झौता सकिन दुई दिन बाँकी : किसानले अझै पाएनन् एक अर्ब

‘सम्झौतापछि केही उद्योगले दिए जस्तो गरे, सबैले भुक्तानी गरेनन्,’ मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने, ‘दुई दिनभित्र सम्पूर्ण भुक्तानी नगरे कडा रूपमा प्रस्तुत हुन्छौं ।’


करिब दुई साता लामो आन्दोलनपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उखु किसानबीच पुस १८ गते पाँचबुँदे सहमति भएको थियो । माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमतिमा उल्लेख थियो । अहिलेसम्म केही उद्योगी मन्त्रालयको सम्पर्कमै छैनन् । मिलले किसानलाई वितरण गरेको भनिएको रकम किसानले पाए/नपाएको पनि अभिलेख छैन ।


‘सम्झौताअनुसार किसानले ४ लाख रुपैयाँ पाउनुपर्नेमा १ लाख मात्र पाएका छन् । कुनकुन किसानलाई भुक्तानी दिइयो भन्नेबारे अभिलेख पनि छैन,’ किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले भने, ‘उद्योगीका सामु सरकार कमजोर देखियो । किसानले भुक्तानी पाउनेमा हामी विश्वस्त छैनौं ।’ महालक्ष्मी सुगर मिलले १० करोड ५० लाख रुपैयाँ दिए पनि १० करोड ९० लाख भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । अन्नपूर्णले ३ करोड ९० लाख भुक्तानी गरेको र १० करोड ४८ लाख अझै बाँकी रहेको मन्त्रालयले बताएको छ ।


अन्नपूर्णले भुक्तानी नदिएपछि सर्लाही र रौतहटका करिब डेढ सय किसान राजधानीमा आई आन्दोलन गरेका थिए । अन्नपूर्णका सञ्चालक राकेश अग्रवालले चिनी बिक्री गरेर मात्रै भुक्तानी दिने बताएका थिए । ‘त्यसमा हाम्रो सरोकार छैन, पैसा चाहियो भनेर आन्दोलन गरेका थियौं,’ संघर्ष समितिका सचिव हरिश्याम रायले भने, ‘मिल बन्द छ, चिनी बिक्री गरेर भुक्तानी सम्भव थिएन ।’


इन्दिराले पनि ७४ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको मन्त्रालयको तथ्यांक छ । इन्दिराले अझै १० करोड ४८ लाख रुपैयाँ तिर्न बाँकी छ । इन्दिराका सञ्चालक पनि राकेश अग्रवाल नै हुन् । भुक्तानी गर्न आलटाल गरेपछि मन्त्रालयले इन्दिरा र अन्नपूर्णलाई तत्काल भुक्तानी गर्न पत्राचार गरेको छ । ‘माघ ३ गते यी दुई उद्योगलाई चिठी पठाएका छौं,’ प्रवक्ता भट्टराईले भने, ‘उद्योगीले समयमै भुक्तानी नगरे कडा कारबाही हुन्छ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार श्रीराम सुगर मिलले पनि २६ करोड ७७ लाख ७८ हजार भुक्तानी गर्न बाँकी छ ।


एभरेस्ट सुगर मिलले पनि ७ करोड ३९ लाख रुपैयाँ भुक्तानी नगरेको मन्त्रालयको तथ्यांक छ । एभरेस्ट चिनी उद्योग संघका अध्यक्ष शशि अग्रवालको हो । उनले किसानलाई छिट्टै भुक्तानी गर्ने भनेर सम्झौता गरेको मन्त्रालयको दाबी छ । अध्यक्ष शशिकान्त अग्रवालले भने सबै भुक्तानी गरेको दाबी गर्दै आएका छन् । ‘किसानलाई सबै भुक्तानी भएको छ । किसानबाट पनि हामीप्रति कुनै गुनासो छैन,’ उनले भने । कृषि मन्त्रालयले गृह मन्त्रालय र मानव अधिकार आयोगमा बुझाएको विवरणअनुसार वागमती खाडसारीले पनि किसानलाई ६ करोड ७५ लाख रुपैयाँ दिन बाँकी छ । ‘वागमती खाडसारीका सञ्चालक सम्पर्कमै आएनन्,’ प्रवक्ता भट्टराईले भने ।


यीबाहेक रिलाइन्स सुगर मिलले ११ लाख ५३ हजार भुक्तानी गर्न बाँकी छ । रिलाइन्स चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालको हो । उपाध्यक्ष अग्रवालले एक–दुई दिनमै किसानको रकम भुक्तानी गरिने दाबी गरे । आयातित चिनीका कारण स्वदेशी चिनी बिक्री नहुँदा भुक्तानीमा समस्या भएको उनको भनाइ छ । महाकाली सुगर मिलले पनि किसानलाई ६२ हजार भुक्तानी गरेको छैन । उक्त मिलका सञ्चालक पनि सम्पर्कविहीन छन् ।


बाबा बैजुनाथ मिलले २५ लाख ५६ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहे पनि सञ्चालक पनि सम्पर्कमा छैनन् । लुम्बिनी चिनी मिलले १० करोड ७४ लाख रुपैयाँ तिरको छैन ।


यता संघर्ष समितिले भने माघ ७ भित्र सम्पूर्ण भुक्तानी नभए पुनः आन्दोलनको चेतावनी दिएको छ । संघर्षका कार्यक्रम तय गर्न सर्लाहीमा किसान भेला गरिने संरक्षक मिश्रले जानकारी दिए । ‘त्यसपछि काठमाडौं केन्द्रित आन्दोलन घोषणा गर्छौं,’ उनले भने ।

प्रकाशित : माघ ६, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?