कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मूल्य वृद्धिदर ६.५५ प्रतिशत

खाद्य तथा पेय पदार्थको करिब १० र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ४.१० प्रतिशत बढेपछि मंसिरमा मूल्य वृद्धिदर अकासिएको हो
यज्ञ बञ्जाडे

काठमाडौँ — गत मंसिरमा बजार भाउ (मूल्य वृद्धिदर) ६.५५ प्रतिशत बढ्यो । गत वर्षको पाँच महिनाको तुलनामा यो करिब २.८४ प्रतिशत विन्दुले बढी हो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर करिब १० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१० प्रतिशत बढेपछि मंसिरमा मूल्य वृद्धिदर अकासिएको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

मूल्य वृद्धिदर ६.५५ प्रतिशत

‘तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।’ पाँच महिनाको अवधिमा बजार मूल्य वृद्धिदरमा निकै उतारचढाव देखियो । गत साउनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ६.९५ प्रतिशत थियो । भदौमा केही घटेर ६.१६ प्रतिशत रहेको मूल्य वृद्धिदर असोजमा ६.२१ प्रतिशत रह्यो । कात्तिकमा फेरि यस्तो वृद्धिदर घटेर ५.७६ प्रतिशतमा झर्‍यो । यो सुधार धेरै दिन टिकेन । कात्तिकमा मूल्य वृद्धिदर ०.७९ प्रतिशत विन्दु बढेर ६.५५ प्रतिशतमा उक्लियो ।


बजारमा मूल्य वृद्धिदर निरन्तर बढ्नु नयाँ होइन । वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको छ । विगतमा पनि यस्तै थियो । तर विगतमा सरकारी तथ्यांकले मूल्य वृद्धिदर बढेको पुष्टि गर्न अप्ठ्यारो थियो । किनकि तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहँदै आएको थियो । चालु आर्थिक वर्षको सुरुवातसँगै परिस्थिति बदलिएको छ । यस वर्षका सबै महिनामा मूल्य वृद्धिका तथ्यांक पनि बढेर आएका छन् । तथ्यांकले बजार भाउ अचाक्ली महँगिएको पुष्टि हुने विज्ञहरू बताउँछन् ।


मूल्य वृद्धि हुँदा सरकारद्वारा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा पनि असर पर्ने उनीहरूको भनाइ छ । यो वर्ष सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । सो लक्ष्य प्राप्तिका लागि सरकारी खर्च बढाउनुपर्ने र त्यसले मूल्य वृद्धिमा झनै दबाब पार्ने विज्ञहरूको भनाइ छ । आन्तरिकभन्दा पनि बाह्य कारणले मूल्य वृद्धि दबाबमा रहेको विज्ञहरू बताउँछन् ।


पछिल्ला महिनामा भारतमा मूल्य वृद्धि बढ्दो क्रममा छ । त्यसको असर नेपालमा पनि परेकाले मूल्य वृद्धि अकासिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘नेपालको मूल्य वृद्धि आपूर्ति पक्ष वा आयातित हो,’ उनले भने, ‘मागका कारणले मूल्य बढको भए मौद्रिक उपरकरणमार्फत नियन्त्रणका उपाय निकाल्न सकिन्थ्यो ।’ नेपालको अधिकांश व्यापार भारत केन्द्रित भएकाले त्यहाँको मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो । ‘पछिल्ला महिनामा आयात बढ्दो छ, धेरै आयात भारतबाटै हुन्छ,’ उनले थपे, ‘भारतमा मूल्य वृद्धि तत्काल घट्ने सम्भावना छैन । यसकारण आउँदा दिनमा नेपालको मूल्य वृद्धि पनि दबाबमा रहन सक्छ ।’


राष्ट्र बैंकका अनुसार गत मंसिरमा तरकारीको मूल्य वृद्धिदर सबैभन्दा बढी ४२.२१ प्रतिशत छ । यस्तै मसलाको मूल्य वृद्धिदर करिब १५ प्रतिशत, रक्सीजन्य पेयपदार्थको १०.०४ प्रतिशत, सुर्तीजन्यको ९.७१ प्रतिशत र फलफूलको ८.६० प्रतिशत बढेको छ । गत वर्षको तुलनामा गत मंसिरमा रक्सीजन्य पेयपदार्थ र सुर्तीजन्य वस्तुको बाहेक उल्लिखित सबै वस्तुको मूल्य वृद्धिदर बढेको हो । यी वस्तुलाई खाद्य तथा पेय समूहमा राखिएको छ ।


खाद्यको तुलनामा गैरखाद्य वस्तुको मूल्य वृद्धिदर भने कम मात्र बढेको छ । मंसिरसम्म लुगा तथा जुत्ताको मूल्य ५.४४ प्रतिशत, घरायसी सामग्रीको ४.६० प्रतिशत र शिक्षाको ५.९४ प्रतिशतले बढेको छ ।


भुक्तानी सन्तुलनामा सुधार

गत आर्थिक वर्षका सबै महिना ऋणात्मक रहेको भुक्तानी सन्तुलन (शोधनान्तर) यो वर्षको पाँचौं महिनामा पनि बचतमा छ । मुलुक भित्रिने र बाहिरिने मुद्राको अवस्था मापन गर्ने सूचक शोधनान्तर हो । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएमा शोधनान्तर ऋणात्मक हुन्छ । बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएपछि शोधनान्तर स्थिति बचतमा हुन्छ ।


राष्ट्र बैंकका अनुसार गत मंसिरमा शोधनान्तर २३ अर्ब ३० करोड रुपैयाँले बचतमा छ । कात्तिकको तुलनामा शोधानान्तर बचत थोरै घटेको हो । अघिल्लो वर्षको पाँच महिनामा यो ८५ अर्ब ३२ करोड घाटामा थियो । ‘अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पाँच महिनामा ७५ करोड १ लाखले घाटामा रहेकामा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा छ,’ राष्ट्र बैंकले भनेको छ ।

गत वर्षको तुलनामा यो वर्ष वैदेशिक ऋण सहायता परिचालन दोब्बरभन्दा बढी पुगेको छ । चालु आवको पाँच महिनामा ३४ अर्ब ५ करोड रुपैयाँ वैदेशिक ऋण सहायता परिचालन भएको छ । गत वर्षको सोही अवधिमा यस्तो ऋण परिचालन १५ अर्ब ७६ करोड रुपैयाँ थियो । यही कारण यो वर्ष शोधनान्तर स्थितिमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ ।


शोधनान्तर स्थितिमा सुधार भए पनि चालु खाता घाटामा भने सुधार आउन सकेको छैन । राष्ट्र बैंकका अनुसार गत मंसिरमा चालु खाता ७० अर्ब ३२ करोड घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब १९ अर्ब ३३ करोड थियो ।


३ खर्ब ७७ अर्ब रेमिट्यान्स

गत मंसिरमा रेमिट्यान्समार्फत ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्षको तुलनामा यो ०.१ प्रतिशत बढेको हो । अघिल्लो वर्षको मंसिरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशत बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स ०.७ प्रतिशत वृद्धि भएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशत बढेको थियो ।’

निक्षेपभन्दा कर्जा बढी


गत मंसिरमा पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन दरभन्दा कर्जा वृद्धिदर उच्च छ । पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.० प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशत बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०७६ मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.६ प्रतिशत बढेको छ ।


मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा ६.२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.२ प्रतिशत बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०७६ मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ प्रतिशत बढेको छ ।

प्रकाशित : माघ ५, २०७६ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?