कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राजीनामा लगत्तै अस्ट्रेलिया उडे निगमका अध्यक्ष खरेल

सुरज कुँवर

काठमाडौँ — ‍नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष पदमा प्रधानमन्त्रीले नियुक्त गरेका मदन खरेलले कार्यकाल पुरा नहुँदै आइतबार पदबाट राजीनामा दिएका छन् । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खरेलले आइतबार आफूलाई राजीनामा पत्र बुझाएको बताए ।

राजीनामा लगत्तै अस्ट्रेलिया उडे निगमका अध्यक्ष खरेल

निगमको संचालक समितिमा पर्यटन सचिव अध्यक्ष रहने व्यवस्था संशोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जिल्लावासी रहेका खरेललाई ०७५ भदौ अन्तिम साता ४ वर्षका लागि नियुक्त गरेका थिए । दुईटा वाइडबडी विमान खरिद गरेका तत्कालीन महाप्रबन्धक सुगतरत्न कशांकारको ८ महिना कार्यकाल बाँकी छँदै प्रधानमन्त्रीले महाप्रबन्धकका सबै भूमिका कटौती गरेर खरेललाई पहिले संचालक समितिको सदस्यमा र त्यसको तीनदिनपछि तत्कालीन पर्यटन सचिव कृष्ण देवकोटालाई अध्यक्ष पदबाट राजीनामा बुझाउन लगाउँदै खरेललाई कार्यकारी अध्यक्षको भूमिका दिएका थिए ।


सिंहदरबारमै पुगेर १६ महिनाको कार्यकालको बिट मार्दै निगमबाट बाहिरिएपछि खरेल दिनभर फोन अफ गरेर सर्म्पक बाहिर रहे । खरेलको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनी आइतबार राति नै अष्ट्रेलियातर्फ उडेका छन् । खरेल निगमका प्रमुखको भूमिकामा दोस्रोपटक आएका थिए । यसअघि उनी खुला प्रतिस्पर्धाबाट ०६९ मंसिरमा चार वर्षका लागि चुनिएका थिए । त्यसबेला निगमले दुईटा एयरबसको न्यारोबडी जहाज खरिद गरेको थियो ।


न्यरोबडी जहाजको पहिलो दिल्ली उडान गर्न नसकेपछि तत्कालीन मुख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा सरकारले छानबिन कमिटी गठन गरेको थियो । त्यसै निर्णय प्रति असन्तुष्टी जनाउदै खरेलले २९ महिनामै राजीनामा दिएका थिए । त्यसपछि उनको स्थानमा सरकारले ०७२ जेठमा महाप्रबन्धकमा सुगतरत्न कशांकारलाई चार वर्षको नियुक्ती दिएको थियो ।


कशांकारले वाइडबडी विमान खरिद गरेपछि खरेल पुनः प्रधानमन्त्रीमार्फत् निगममा आउन चाहे । उनी आउँदा पर्यटनमन्त्री रविन्द्र अधिकारी थिए । खरेललाई सरकारले कार्यकारी अध्यक्षमा नियुक्त गर्ने बैठकमा स्वर्गीय मन्त्री अधिकारी उपस्थित भएका थिएनन् ।

अधिकारीको निधनपछि पर्यटन मन्त्रालय सम्हाल्न आइपुगेका योगेश भट्टराई खरेलको कामप्रति सन्तुष्ट थिएनन् । मन्त्रीनिकट स्रोतका अनुसार, उनले खरेललाई थुप्रैपटक राजीनामा दिई सहजीकरण गर्न बताउँदै आएका थिए । ‘प्रधानमन्त्रीमार्फत् नियुक्त भएका खरेल र मन्त्रीबीच सुरुदेखि नै राम्रो सम्बन्ध थिएन,’ मन्त्रालयको उच्च स्रोतले भन्यो, ‘मन्त्रीज्यूले आउने बित्तिकै वाउ, नेपाल वायुसेवा निगम बनाउँछु भन्नुभएको थियो तर खरेलको साथ दिएन ।’


निगमको सञ्चालक समितिका सदस्य अच्युत पहाडीले कार्यकारी अध्यक्ष खरेल पछिल्ला दिन संस्थाको हित भन्दा व्यक्तिगत स्वार्थमा बढि लागि परेको दाबी गरे । ‘खरेल खरिदमा कमिसन लगायत आर्थिक लाभ उठाउन चाहान्थे तर बोर्डका अन्य सदस्यहरुले नीति बनाएर रोक्यौं । उनी लामो बिदामा जान चाहिरेका थिए । बिदा पनि स्वीकृत गरेनौँ,’ निगमबाटै अवकाशप्राप्त संचालक समिति सदस्य पहाडीले दाबी गरे,‘पछिल्लोपटक दुई जना निर्देशकलाई मात्रै च्याप्न थालेपछि हामीले स्पष्टीकरण पनि सोध्यौं । यी विविध कारणले उनले निगम छाड्नुपरेको हो ।’ पहाडीले खरेल भगौडा भएको बताए । ‘पहिले पनि भागेर गएका थिए, प्रधानमन्त्रीले व्यापारीहरुको स्वार्थ पुरा गर्न नियम मिचेर ल्याए यसपटक पनि कसैलाई जानकारी नगराई सुटुक्क राजीनामा दिएर भागे,’ उनले भने ।


यस विषयमा खरेलसँग कुराकानी गर्न खोज्दा उनी सर्म्पकमा आएनन् ।

प्रकाशित : माघ ५, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?