चीनसम्म पुग्छ, लेकाली अर्गानिक आलु

परम्परागत प्रविधिबाट उत्पादन हुने भएकाले बुङ आलुको माग स्थानीय बजारदेखि विदेशमा समेत छ 
कुम्भराज राई

(ओखलढुंगा) — सोलुखुम्बु गोलीका कामी शेर्पा पर्यटन व्यवसायी हुन् । उनी काठमाडौं बस्छन् । कहिलेकाहीँ जिल्ला आउँदा ठाडे, पत्तालेबाट आलु किनेर काठमाडौं लैजान्छन् । आलु लानुको एउटै कारण हो– मिठो र अर्गानिक हुनु । बुङको आलुमा पाइने स्वाद अरूमा नपाइने उनको भनाइ छ । 

चीनसम्म पुग्छ, लेकाली अर्गानिक आलु

मोलुङ गाउँपालिका–२ का चक्र कार्की लेकाली क्षेत्र पुग्नेबित्तिकै काठमाडौं बस्ने आफन्तलाई दुई–चार पाथी आलु कोसेली लगिदिन्छन् । जिल्लाको लेकाली भेगमा फल्ने बुङको आलुमा उपभोक्ताको आकर्षण बढेको छ । उत्पादन भएकै ठाउँबाट बिक्री हुन थालेपछि किसान उत्साहित छन् ।


परम्परागत प्रविधिबाट उत्पादन हुने आलु भएकाले बुङ आलु स्थानीय बजारदेखि भारत र चीनको बजारसम्म पुग्न थालेको छ । यकिन तथ्यांक नभए पनि धेरै पहिलेदेखि बुङको आलु भारतीय बजारमा निर्यात हुन थालेको स्थानीयको भनाइ छ । ‘भारतीय बजारमा आलु लैजाने ठेकेदारहरू घरघरमै पुगिरहेका छन्,’ कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हेमबहादुर आलेले भने, ‘टनका टन लान थालेको देखिएको छ । तर कति परिमाण बाहिरिन्छ भन्ने यकिन तथ्यांक भने कुनै निकायले राखेको छैन ।’ रामेछापको जिरी, दोलखा हुँदै काठमाडौं उपत्यका र चीनसम्म निर्यात हुने किसान बताउँछन् । हाल ढुवानीका लागि सडकको पहुँच सहज भएकाले भारतीय ठेकेदारहरू आलु लिन ठाडे, पत्तालेसम्म पुग्ने गर्छन् ।


कुनै पनि विषादी र रासायनिक मल प्रयोग नगरी उत्पादन गरिने खेती भएकाले बुङको आलुमा उपभोक्ताको आकर्षण बढेको हो । जिल्लाको सिद्धिचरण नगरपालिका, खिजीदेम्बा गाउँपालिका र चिसंखुगढी गाउँपालिकाको लेकाली भेग बुङमा आलु उत्पादन हुन्छ । जन्तरखानी, टोड्के, राँगादीप, पात्ले, गैरीलगायत तीन सय हाराहारीका किसानले बुङ आलु खेती गर्छन् । एक जना किसानले औसतमा एक वर्षमा ४० मुरी (२ हजार ४ सय किलो) आलु फलाउने आलु जोन सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । त्यति आलु फलाउन १० रोपनी पाखोबारी चाहिन्छ ।


बिचौलियाको बिगबिगी

प्राय: किसानले बुङ आलु आफैं बेच्दैनन् । घरघरै पुग्ने बिचौलियाले किन्छन् । उनीहरूले प्रतिपाथी १ सयदेखि १२० रुपैयाँले खरिद गर्छन् । स्थानीय बजारमा भने पाथीको १८० देखि २ सय रुपैयाँमा बिक्री गर्छन् । उत्पादक किसानसँग पाथीमा ५० देखि ८० रुपैयाँसम्म नाफा राखेर बिचौलियाले फाइदा लिने गरेका छन् ।


एक पाथी आलुमा तीन किलो तौल हुन्छ । एक जना किसानले स्थानीय बजारमा चलेको मूल्य पाउने हो भने एक वर्षमा २ हजार ४ सय किलोको ४ देखि ५ लाख रुपैयाँ प्राप्त गर्न सक्छन् । तर बिचौलियामार्फत बेच्दा २ देखि ३ लाख रुपैयाँ आम्दानी गर्छन् । गत वर्षदेखि जिल्लामा आलु जोन कार्यक्रम सुरु भएको छ । कार्यक्रममा ८१ कृषक समूहका १ हजार ५ सयभन्दा बढी किसान आबद्ध छन् ।


आलु जोनले किसान बिचौलियाको मारमा नपरुन् भन्ने उद्देश्यले भण्डारण स्थलबाटै बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि गत वर्ष टोड्केमा पोस्ट हार्भेस्ट स्थल निर्माण भएको छ । यस वर्ष श्रीचौरमा निर्माण गर्ने तयारी छ ।

त्यसैगरी सदरमुकाममा कोसेली घर स्थापना गर्न लागेको आलु जोन सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले बताए । आलु जोन कार्यक्रमले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत आलु बीउ उपलब्ध गराउने, भकारो सुधार गर्नेजस्ता सहयोग गरेको छ । बुङमा परम्परागत रूपमा उत्पादन हुँदै आएको आलु खुमल रातो (रातो आलु) हो ।


के हो बुङ ?

सामान्यतया भिरालो पाखामा बुङको आलु रोपिन्छ । एक पटक रोपिएको ठाउँमा ४ देखि ५ वर्षदेखि ८–९ वर्ष सम्म खेती गरिन्न । बारीमा जम्मा भएका झाडी, झ्याउ र बुट्यानहरू काटेर सुक्न दिइन्छ । काटेका झाडीहरू सुकेपछि माटोले छोपेर यसलाई थुप्रो (बुङ) बनाएर डढाइन्छ । डढेको खरानीलाई दुई–तीन दिन सेलाउन दिइन्छ । केही दिनपछि त्यही बुङमा ८ देखि १५ वटासम्म आलुको दाना रोपिन्छ । बुङको आकार गोलो हुने गर्छ ।


प्राय: आलु रोप्दा सिँगै बीउ रोप्ने र बीउ ठूलो भएमा काटेर रोप्ने गरिन्छ । बीउको बीचमा कम्तीमा १० देखि १५ सेन्टिमिटर दूरी खाली राखेर रोपिन्छ । झारपात डढाएर बनेको खरानीमा आलु रोपिसकेपछि त्यसलाई वरिपरिको माटोले छोपिन्छ । पुर्ने माटो २ देखि ३ इन्च राखिन्छ ।

प्रकाशित : माघ ५, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?