कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

८ हजार २ सय किलोलिटरको पेट्रोल भण्डारण बनाइने

राजु चौधरी

काठमाडौँ — सरकारले भारतीय आयल कर्पोरेसन (आईओसी) सँगको सहकार्यमा थप ८ हजार २ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण बनाउने भएको छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणअन्तर्गत अमलेखगन्जमा भण्डारण बनाउन लागिएको हो ।

आईओसीले ४ हजार १ सय र नेपाल आयल निगमले ४ हजार १ सय किलोलिटर क्षतमताको भण्डारण बनाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । भण्डारण निर्माणमा दुवै पक्ष सहमत छन् ।


‘पुस अन्तिम साता नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा पेट्रोलियम ट्यांकका विषयमा अवधारणा र लागत अनुमान गर्ने निर्णय भएको छ,’ नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका आपूर्ति सहसचिव ध्रुव घिमिरेले भने, ‘अब छिट्टै लागत अध्ययन गर्छौं । ४ हजार १ सय किलोलिटर क्षमताको भण्डारणको लागत आईओसीले बेहोर्छ । अर्को निगमले बनाउँछ ।’


निगमको अहिले डिजेल, पेट्रोल, मटितेल र हवाई इन्धन गरी करिब ७१ हजार २० किलोलिटर इन्धन भण्डारण क्षमता छ । त्यसले पेट्रोल करिब ६ दिन र डिजेल ८ देखि ९ दिनलाई मात्रै पुग्छ । अमलेखगन्जका हकमा पेट्रोलको भण्डारण क्षमता १ हजार ९ सय ३० किलोलिटर मात्रै छ । दैनिक माग भने तीन सय किलोलिटर छ । माग बढ्दै गएकाले भण्डारण आवश्यक भएको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए । इन्धन भण्डारण निर्माण छिट्टै सुरु हुने उनले जानकारी दिए ।


‘आईओसीका कर्मचारीले जग्गा नापिसकेका छन् । अबको दुई–तीन महिनामा काम अघि बढ्छ,’ उनले भने । निगमलाई ८ हजार २ सय किलोलिटरको भण्डारण बनाउन करिब दुई बिघा जग्गा चाहिन्छ । अमलेखगन्जमा निगमको १० बिघा जग्गा छ । २ हजार ३ सय किलोलिटरको फायरफाइटिङ ट्यांक निर्माण गरिनेछ । उक्त ट्यांकीमा पानी राखिने यादवले बताए । यीबाहेक २४ वटा ‘लोडिङ वे’ पनि निर्माण गरिने निगमले जनाएको छ । ‘यी सबै निर्माणमा आईओसीले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने ।


मन्त्रालयका अनुसार मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन चितवन लोथरसम्म विस्तार गर्न अध्ययन टोली बनाउने सहमति पनि भएको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा नेपाल–भारत संयुक्त अध्ययन टोली गठन गरी प्राविधिक प्रतिवेदन बनाउनेसमेत निर्णय भएको सहसचिव घिमिरेले बताए । अध्ययन टोलीले तयार पार्ने अध्ययन प्रतिवेदन नेपाल–भारत ज्वाइन्ट वर्किङ ग्रुपमा पेस गरिनेछ ।


झापा र धनुषामा निगमले बनाउने बोटलिङ प्लान्ट निमार्णमा पनि आईओसीले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बोटलिङ प्लान्ट निर्माणका लागि आयल निगमले विस्तृत अवधारणापत्र तयार गरी आईओसीलाई उपलब्ध गराउने सहमति भएको घिमिरेको भनाइ छ । निगमले ६ हजार टन क्षमताको प्लान्टको तयारी गरेको छ । ग्यास प्लान्टको सम्भावयता अध्ययन गर्न निगमले टेन्डर गरिसकेको छ । टेन्डरका क्रममा चीनदेखि इरानसम्मका १३ कम्पनीले प्रस्ताव पेस गरेका छन् । ती कम्पनीको मूल्यांकनमा भने ढिलाइ भएको छ ।


छानिएका कम्पनीले माटो परीक्षण, वातावरणीय मूल्यांकन, पुनर्वास अध्ययन, फ्रन्ट इन्ड इन्जिनियरिङ डिजाइन, सजावट तयारी, अग्नि सुरक्षा प्रणाली, लागत खर्चलगायतको अध्ययन गर्छन् । अध्ययनको प्रतिवेदनपछि विस्तृत अवधारणा आईओसीलाई पेस गरिनेछ । त्यसकै आधारमा आईओसीले पनि प्राविधिक सहयोग गर्ने जनाएको छ । हाल व्यवसायीबाहेक सरकारसँग ग्यास भण्डारण छैन । सरकारले ग्यास प्लन्ट राख्ने तयारी गरेपछि ग्यास उद्योगीहरूले भने आपत्ति जनाएका छन् ।

प्रकाशित : माघ ४, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?