उखु बुझाएको दुई सातामै भुक्तानी

(विराटनगर) — दशकदेखि उखु खेती गर्दै आएका सुनसरी बर्जुका किसान दखाराम चौधरी मिललाई उखु बिक्री गरेको १५ दिन नबित्दै शुक्रबार भुक्तानी पाउँदा गद्गद् भए । उनले घर नजिकको इस्टर्न सुगर मिललाई पुस १४ देखि २३ गतेसम्म २७१ क्विन्टल उखु बेचेका थिए । त्यसको भुक्तानी चौधरीले मिलबाट एकमुष्ट पाएका हुन् ।

‘विगतका वर्षमा मिलले उखु बेचेको वर्ष दिन बित्दा पनि भुक्तानी नदिएर दु:ख दिन्थ्यो,’ उनले भने, ‘गत वर्ष उखु बेचेको तीन महिनामा मिलले भुक्तानी दिएको थियो । यसपालि १५ दिनमै भुक्तानी पाइयो ।’ उनले ९६ हजार १ सय १३ रुपैयाँ पाएका हुन् । बर्जुकै प्रमोद गुरुङले पनि मिलबाट ३२ हजार ७ सय ७३ रुपैयाँ भुक्तानी लिए । उनले पनि मिललाई उखु दिएको १५ दिन पुगेको छैन । यहीँका पुष्पराज गुरुङले पनि शुक्रबार ६८ हजार ५ सय १ रुपैयाँ उखुको भुक्तानी पाए । उनले इस्टर्न सुगर मिललाई पुस १४ देखि २३ गतेसम्ममा २२० क्विन्टल उखु दिएका थिए ।


‘यति छिटो पैसा पाइन्छ भन्ने सोचेकै थिइनँ,’ गुरुङले भने । विगतमा भुक्तानी ढिलो पाउँदा खेती गर्ने रुचि हटेको उनको भनाइ छ । यसपालि मिलले समयमै भुक्तानी दिँदा खेती गर्न थप उत्साह थपिएको उनले बताए । सरकारबाट पाउनुपर्ने गत वर्षको २९१ क्विन्टलको अनुदान भने अझै नपाएको उनको गुनासो छ ।


दखाराम, प्रमोद, पुष्पराज मात्र होइन इस्टर्न सुगर मिललाई उखु बेचेका बर्जुका २० जना किसानले शुक्रबार मिलबाट ९ लाख ६८ हजार रुपैयाँ भुक्तानी पाए । मिलले डेढ सातामा पहिलो चरणमा अढाई सय क्विन्टल उखु क्रसिङ गरिसकेको मिलका नायब महाप्रबन्धक कृष्ण गौतमले जानकारी दिए ।

प्रकाशित : माघ ४, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?