१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मोदी प्रसारण लाइन अन्तिम चरणमा

पर्वत — जिल्लाको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने न्यु मोदी र लाहाचोक सबस्टेसन निर्माण सकिन लागेको छ । मोदी गाउँपालिका–२ देउपुरस्थित न्यु मोदी सबस्टेसन र कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेसन निर्माण हुँदै छन् । 

मोदीतर्फको सबस्टेसन ८० र लाहाचोक सबस्टेसन निर्माण ८५ प्रतिशत पूरा भएको छ । देउपुरमा ६३ रोपनी क्षेत्रफलमा सबस्टेसन बनेको आयोजना निर्माण पक्षले जानकारी दिएको छ । मोदीको देउपुरमा निर्माणाधीन १३२ केभी क्षमताको न्यू मोदी सबस्टेसनमा सिभिलतर्फको निर्माण कार्य भने ९५ प्रतिशत सकिएको छ । कन्ट्रोल भवन, आवास गृह, पर्खाल र पहुँच मार्गको काम अन्तिम चरणमा रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए । ‘धेरैजसो काम अन्तिम चरणमा पुर्‍याएका छौं,’ उनले भने, ‘इलेक्ट्रिकतर्फको अलि कम हो, त्यो पनि ७५ प्रतिशतभन्दा बढी छ । सिभिलतर्फको फिनिसिङ मात्रै बाँकी छ ।’


आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनतर्फ समुदाय साझेदारी सहयोग कार्यक्रम पनि आयोजनासँगै अघि बढाएको छ । यसअन्तर्गत समुदायको मागअनुसार आयोजनाले पातीखोला नियन्त्रणको काम सकेको छ । पातीखोला कटान नियन्त्रणमा मात्रै करिब ४ करोड लगानी भएको आयोजनाले जनाएको छ । साढे ८ हजार घनमिटर ग्याभिन जाली लगाउन ३ करोड ७५ लाख रुपैयाँ खर्च भएको अग्रवालले बताए । यसले पातीचौर हुँदै देउपुर जाने सडक र पातीचौर बजारलाई सुरक्षित बनाएको मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाको भनाइ छ ।


कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बन्दै गरेको लाहाचोक सबस्टेसनमा आवास गृह प्रयोगमा आइसकेको छ । यसमा कन्ट्रोल भवन र स्विच्यार्ड निर्माण सकिएको आयोजनाले जनाएको छ । ट्रान्सफर्मर जडान र केही सामान्य काम मात्रै बाँकी छ । कास्कीको बिजयपुर खोलामा पुलको समस्याका कारण ट्रान्सफर्मर लेखनाथमै रोकिएको आयोजना प्रमुख अग्रवालले बताए । पर्वत कास्कीको सीमा भएर बग्ने मोदीखोला र कास्कीको सेती तथा मर्दीखोलामा उत्पादित विद्युत् पोखरास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

प्रकाशित : माघ ४, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?