कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रिडी मेलामा घरेलु उत्पादन

माधव अर्याल

(रुरु क्षेत्र) — बाँसका दुई सय नाङ्ला बोकेर रैनादेवी छहरा–६ जुठापौवा पाल्पाका जेनबहादुर खाम्चा रिडी मेला पुगेका छन् । आफूले बुनेकाबाहेक गाउँका अरूले बुनेका पनि खरिद गरेर उनले मेला लगेका हुन् । रिडी बगरमा बेच्न राखिएका तिनै नाङ्ला किन्न अहिले गृहिणीको भीड लागेको छ । 

रिडी मेलामा घरेलु उत्पादन

‘आफैंले मात्र बुनेर कहाँ सकिन्छ छ र ?’ उनले भने, ‘अरूले बुनेका पनि किनेर ल्याएको हुँ ।’ उनी मात्र होइन, जुठापौवाकै देवी सारू पनि आफ्ना र अरूका नाङ्ला किनेर व्यापार गर्न मेलामा पुगेकी छन् । उनले अघिल्लो वर्ष १२५ नाङ्ला बेचेकी थिइन् । यस वर्ष १५० वटा ल्याएकी छन् । ‘अघिल्लो वर्ष एउटा पनि फिर्ता लग्नुपरेको थिएन,’ बिहीबार मेलामा भेटिएकी उनले भनिन्, ‘यस वर्ष व्यापार कस्तो हुने हो ? थाहा छैन ।’


गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाले रुरु महोत्सव आयोजना गरेको छ । पाल्पाको जुठापौवाबाट मात्र सयभन्दा बढीले नाङ्ला लिएर रिडी मेला आएका छन् । यसबाट उनीहरूको घरखर्च चल्छ । ३ सयदेखि ५ सय रुपैयाँसम्ममा नाङ्ला बिक्री हुन्छन् ।


रिडी मेला घरेलु उत्पादनको प्रदर्शन र बिक्री गर्ने प्रमुख थलो बनेको छ । ‘हामी धेरै मेला डुल्छौं तर रिडीमा जस्तो घरेलु उत्पादनको बिक्री अन्यत्र कमै हुन्छ,’ रेवतीरमण ज्ञवालीले भने, ‘रिडी मेलामा घरेलु उत्पादन किन्न भनेरै मानिस यहाँ आउँछन् ।’ बाँसबाट बुनिएका डोको, डाला, काइँयो, भकारी, ढाकर किन्न धेरै गृहणी रिडी आउने उनले जानकारी दिए ।


बाग्लुङबाट बाँसको डाला लिएर आएका मनबहादुर थापा मगर पनि घरेलु सामग्री बेचेर ३० देखि ५० हजार रुपैयाँसम्म कमाउने सोचमा छन् । उनले ल्याएका डाला ५ सयदेखि ८ सय रुपैयाँसम्मका छन् । मेलामा गुल्मीको उखुबाट बनाएको गुड पनि राखिएको छ । उखुभन्दा पनि गुडको बिक्री राम्रो रहेको थोर्गाका तिलकराम ज्ञवालीले बताए । मेलामा १० टनभन्दा बढी खुदो र गुड बिक्री हुने उनको भनाइ छ ।


रिडी मेलामा पूर्वी रुकुम र जुम्लाबाट ल्याइएका काम्लो, राडीपाखी पनि बिक्रीमा राखिएका छन् । जाडो मौसममा व्यापार राम्रो हुने भएकाले रुकुमबाट काम्लोको व्यापार गर्न टोली नै रिडी आउने गर्छन् । आफूहरूको प्रमुख पेसा र

आर्थिक स्रोत नै काम्लो भएकाले बिक्रीका लागि रुकुमबाट रिडी आएको लालकुमारी बुढा मगरले बताइन् । उनीसहित सय जनाभन्दा बढी मानिस काम्लो लिई यहाँ आएका छन् । उनीहरूले ओखरको घाँजी मात्रै ४० डोको ल्याएका छन् । गुल्मीका कृषि तथा घरेलु उत्पादन पनि मेलामा राखिएको छ ।


प्रकाशित : माघ ४, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?