४३ र ५३ ग्रेडका सिमेन्टलाई नयाँ मापदण्ड

काठमाडौँ — सरकारले ४३ र ५३ ग्रेडका ओपीसी सिमेन्टका लागि छुट्टै नेपाल गुणस्तर मापदण्ड बनाएको छ । ओपीसी सिमेन्टको गुणस्तर पहिचान गर्न गुणस्तर तथा नापतौल विभागले ग्रेड निर्धारण गरेको हो । मापदण्ड शुक्रबार नेपाल गुणस्तर परिषद्को १०२औं बैठकले स्वीकृत गरेको छ । पहिला ३३ ओपीसी सिमेन्टको मात्र नेपाल गुणस्तर मापदण्ड थियो । ओपीसी सिमेन्टको गुणस्तर सुधार गर्न ४३ र ५३ ग्रेड निर्धारण गरिएको विभागले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा सम्पन्न परिषद् बैठकले ब्लक र प्यानलको मापदण्ड पनि स्वीकृत गरेको छ । सबै ओपीसी सिमेन्टको गुणस्तर एउटै भएकाले यसलाई छुट्याउन फरकफरक मापदण्ड तयार पारिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘स्वदेशी सिमेन्ट उद्योगले उत्पादन गरेका ३३ ग्रेडभन्दा माथिका सिमेन्ट बजारमा पाइन्छन् । ती सबै एउटै ग्रेडमा चलिरहेका छन्,’ उनले भने, ‘अब ३३, ४३ र ५३ गरेर तीन वटा सिमेन्टको ग्रेड निर्धारण गरेका छौं । यसले सिमेन्टको गुणस्तर छुट्याउन सघाउँछ ।’ सिमेन्ट उद्योगीले सरकारसामु सिमेन्टको ग्रेड लेख्न पाउनुपर्ने माग अब पूरा भएको उनले बताए ।

प्रकाशित : माघ ३, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?