कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छैनन् ‘कोसेली’ माछा

कुनै बेला राजदरबारमा कोसेलीका रुपमा पठाइने सरुखोलाको असला माछा पाइन छाडेको छ
भीमबहादुर सिंह

(जाजरकोट) — कुशे गाउँपालिकास्थित सरुगारका असला माछा कुनै बेला नारायणहिटी राजदरबारसम्म पुग्थे । ‘कोसेली’ का रूपमा पठाइने असला माछा सरुखोलामा मात्र पाइन्थ्यो । एउटा असला माछाको तौल ३/४ सय ग्रामभन्दा बढी हुन्थ्यो । तत्कालीन नायक, घाटबुढा र मुखियाले खोलाका माछा संकलन गरेर दरबार पुर्‍याउँथे । 

छैनन् ‘कोसेली’ माछा

सरुगारका माछा निकै स्वादिला हुने भएकाले कोसेलीका रूपमा दरबारमा पठाइने गरिएको कुशे–९ पैंकका ९१ वर्षीय वीरबहादुर रोकायले बताए । ‘भुरेटाकुरे राजादेखि नारायणहिटीका राजाले सरुगारका माछा भन्नेबित्तिकै मन पराउँथे,’ रोकायले भने, ‘सरुगारका माछा ल्याउन जाजरकोट दरबारबाट उर्दी नै जारी हुन्थ्यो ।’ उनका अनुसार त्यतिबेला सरुगारका माछा र बारेकोटको गाभा राजाका लागि महत्त्वपूर्ण कोसेली मानिन्थ्यो ।


स्थानीय भोजभतेर र चाडपर्वमा पनि सरुगारका माछा महत्त्वपूर्ण मानिन्छन् । मीठो स्वादको हुने र ६/७ महिनासम्म भण्डारण गर्न सकिने भएकाले सरुगारका माछा सबैले मन पराएको रोकायाले जनाए । उनका अनुसार पञ्चायती व्यवस्थामा उक्त खोलाका माछा जथाभावी मार्न नपाउने व्यवस्था थियो । तत्कालीन जिल्ला पञ्चायतले सरुखोलामा ठेक्का लगाएर मात्र माछा मार्न दिन्थ्यो । ‘ठेकेदारलाई वार्षिक रूपमा ३५ रुपैयाँ कर तिरेर मात्र खोलामा हामीले माछा मार्न पाउँथ्यौं,’ उनले भने ।


सरुखोलाका असला माछाको माग बढी भए पनि उत्पादन घट्दै गएको कुशे–५ साँधी बिसाउनाका व्यापारी हरि शाहीले बताए । माछा मार्नेको संख्या बढ्नु, खोलामा विष हाल्नु, करेन्ट लगाउनुलगायत कारणले माछाको संख्या न्यून भएको उनको बुझाइ छ । विगतमा प्रशस्त हुने माछा अहिले फाट्टफुट्ट मात्र पाइने गरेको उनले जनाए ।


स्थानीय कालीबहादुर शाहीका अनुसार विगतका तुलनामा असला माछाको भाउ महँगिएको छ । ‘१० वर्ष अघिसम्म ५ सय रुपैयाँ प्रतिकिलो पर्ने सुकुटी माछा अहिले ३ हजार ५ सयमा बिक्री हुन्छ,’ उनले भने, ‘ताजा माछा ६ सय रुपैयाँमा पाउन पनि मुस्किल छ ।’ उक्त खोलाको माछा अहिले छेडा, मोर्क, थलह, बाटुले र साँधी बिसाउनालगायत बजारमा मात्र पाइन्छ ।


नेपालगन्ज, काठमाडौं र सुर्खेतलगायत ठाउँमा असला माछाको माग बढी भए पनि स्थानीय बजारकै माग धान्न नसकेको व्यापारी शाहीले सुनाए । उनले गत असोजदेखि पुस मसान्तसम्म तीन क्विन्टल माछा बिक्री गरेका छन् ।


सरुगारमा बादी समुदायले माछा मार्दै आएका छन् । ‘पछिल्लो समय खोलामा माछा फेला नपर्दा गुजारा चलाउनै कठिन भएको छ,’ कुशे–५ खुर्पाखोलाका जितबहादुरले भने । कुनै बेला दैनिक २० किलोसम्म माछा मार्ने बादीले अहिले २/३ किलो माछा मार्न मुस्किल हुन थालेको गुनासो गरे । बादी समुदायले पासो र जालको माध्यमबाट माछा मार्दै आएका छन् ।


स्थानीयले ब्याट्री, तार, जेनेरेटरलगायत साधनको प्रयोग गरी अवैध रूपमा माछा मार्दै आए पनि स्थानीय प्रशासन मौन छ । खोलामा करेन्ट लगाउँदा माछाको प्रजनन क्षमता हराउनुका साथै वृद्धि विकासमा अवरोध आएको स्थानीय अगुवा जगत मल्लले बताए ।


कुशे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले करेन्ट लगाएर माछा मार्ने कार्यमा प्रतिबन्ध लगाइएको जानकारी दिए । ‘तर अवैध तरिकाबाट माछा मार्ने प्रवृत्ति बढ्दो छ,’ उनले भने, ‘जसका कारण जलचरको संख्या घटिरहेको छ ।’ कतिपय खोलामा विषादीको प्रयोग गरेर पनि माछा मारेको खुल्न आएको उनले जनाए । यस्ता कार्यलाई निरुत्साहन गर्न अनुगमन गर्न तयारी भइरहेको उनको भनाइ छ ।

प्रकाशित : माघ २, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?