१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लिखुमा सात जलविद्युत् 

(रामेछाप) — रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु नदीको पानी प्रयोग गरी एकैसाथ सात वटा जलविद्युत् आयोजना निर्माण हुँदै छन् । सबै आयोजनाबाट ३२९ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुनेछ । गुम्देलको लाहाछेवरदेखि बिजुलीकोटको रातामाटासम्म विद्युत् आयोजनाका विभिन्न संरचना निर्माण धमाधम भइरहेको छ । 

उत्तरी रामेछापको नुम्चे खोला र लिखुको पानी मिसाएर भिजन जलविद्युत् आयोजनाले ५८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै छ । आयोजनाले प्रवेशमार्ग र अन्य संरचना निर्माण थालेको छ । रामेछापको उत्तरी बस्ती लाहाछेवरमा आयोजनाको सिभिल संरचनाको काम धमाधम भइरहेको उक्त आयोजनाले उमातीर्थ नजिकै विद्युत्गृह निर्माण गर्नेछ ।


उमातीर्थ नजिकैको पानीबाट लिखु–१ आयोजनाले ७७ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न तीव्र गतिमा काम गरिरहेको छ । उक्त आयोजना हिमालय प्रालिले प्रवर्द्धन गरेको हो । आयोजनामा मुख्य लगानी प्राइम बैंक र अन्य छ वटा बैंकको छ । आयोजनामा ३० प्रतिशत लगानी मोतीलाल दुगड समूहको छ । प्रतिमेगावाट १८ करोड खर्च अनुमान गरिएको आयोजना ०७७ साउनमा सम्पन्न गर्ने लक्ष्य रहेको सञ्चालक सदस्य राजन खत्रीले जानकारी दिए । दुगड समूहकै लगानीमा लिखु–१ को ७७ मेगावाट विद्युत् उत्पादन भई बाहिरिएको पानी प्रयोग गरी लिखु–२ आयोजनामा लैजाने कामसमेत भइरहेको खत्रीले बताए । आयोजनाको विद्युत् क्षमता ५५ मेगावाट हुनेछ । आयोजनामा माछापुच्छ्रे बैंकको मुख्य लगानी छ । उमाकुण्ड–१ को वाल्दिङ दोभानमा बाँध निर्माण गरी उमाकुण्डकै ठाडोखोलामा विद्युत्गृहमा पानी खसालिनेछ । आयोजनाको कामसमेत ०७७ साउनमै सक्ने लक्ष्य छ ।


यसैगरी सोही समूहले तेस्रो आयोजनाको काम पनि सँगसँगै अघि बढाएको छ । लिखुको राङदहमा बाँध निर्माण गरी बुकुदोभानमा विद्युत्गृह निर्माण हुने आयोजनाको संरचना निर्माणमा तीव्रता दिइएको छ । २९ दशमलव ४ मेगावाट क्षमताको आयोजना निर्माण पूरा गरी ०७७ असारमा विद्युत् उप्पादन हुने लक्ष्य छ । आयोजनाको निर्माणमा समेत प्रतिमेगावाट १८ करोड खर्च हुने अनुमान छ ।


दुगड समूहले निर्माण गरेका तीन वटै आयोजनामा हाल सुरुङ निर्माण, पावर हाउसको सिभिलतर्फको काम, प्रसारण लाइनको सर्भे, जग्गा अधिग्रहणलगायत काम भइरहेका छन् । उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत रामेछापको चुचुरेस्थित गर्जाङ सबस्टेसनमा लगेर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको खत्रीले बताए । उक्त तीन वटा आयोजनाबाट उत्पादन हुने १६१ दशमलव ४० मेगावाट बिजुलीमध्ये विद्युत् प्राधिकरणले ११४ मेगावाट खरिद गर्ने सम्झौता भएको छ । बाँकी विद्युत् अन्य खरिदकर्तालाई बेचिने उनको भनाइ छ ।


आयोजनाका लागि सानाठूला गरी पाँच वटा पक्की पुल र करिब १२५ किमि सडक निर्माण सकिएको छ । लिखु खोलाको पानी प्रयोग गरी ५२ दशमलव २ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना निर्माणसमेत तीव्र पारिएको छ । रामेछापको उमाकुण्ड र ओखलढुंगाको खिजी देम्बा गाउँपालिकाको बीचमा पर्ने बिमिरेमा बाँध बाँधी ओखलढुंगाको लिम्तीमा निर्माण हुने विद्युत्गृहमा पानी खसालिने आयोजनाको काम करिब ३० प्रतिशत पूरा भएको छ ।

प्रकाशित : माघ २, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?