सुनको मूल्यमा उतारचढाव कायमै,  तोलामा ७०० ले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — निकै उतारचढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ ।

ZenTravel

महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ४०० तोकेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७४ हजार र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

Meroghar

उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला ८८५ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।

प्रकाशित : माघ १, २०७६ १३:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा : परराष्ट्रमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका छन् । राष्ट्रिय योग दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताए । 

मन्त्री ज्ञवालीले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएको बताए।

‘आधुनिक विज्ञान, प्रविधि नभएको बेला, आधुनिक मेडिकल विज्ञानको विकास भएको थिएन । जतिबेला डाइन्गोष्टिक र ट्रिटमेण्डका लागि अहिलेजस्तो सहज सुलभ प्रविधिहरु थिएनन्। हाम्रा अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र अरु धेरै महत्वपूर्ण सम्पदा र ज्ञानहरु हस्तान्तरण गरेर गए’, ज्ञवालीले भने, ‘विभिन्न किसिमका तनावलाई कम गर्न ध्यान प्रभावकारी हुन्छ। यो गौरवपूर्ण धरोहरलाई विद्यालय शिक्षासँगै जोडेर जीवनको अभिन्न अंग बनाउनुपर्छ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावना विकास हुने बताए। विश्वमा एकदिनमा दुर्घटनाबाट ८ जना र आत्महत्या गरेर १६ जनाको निधन हुने गरेको तथ्याङ्कले देखाएको बताउँदै उनले योग शिक्षाको माध्यमबाट यसलाई रोक्न सकिने बताए। ‘मान्छेमा योगको माध्यमबाट सकारात्मक भावना विकास गर्न सकियो भने आत्महत्या जस्ता घटनाहरु न्यूनिकरण गर्न सकिन्छ’, मन्त्री ढकालले भने।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने बताए। योगलाई एक दिन कार्यक्रम गरी मनाएर मात्रै नपुग्ने भन्दै मन्त्री पोखरेलले यसलाई जनजनमा पुर्‍याउन अभियान नै चलाउनुपर्ने बताए। योग र प्राकृतिक चिकित्सालाई पाठ्यक्रममा समावेश गर्ने योजना सरकारको रहेको उनले बताए। एक हप्ताभित्र योग अभ्यासको पुस्तिका सार्वजनिक गर्ने तयारी रहेको पनि उनले बताए ।

कार्यक्रममा स्वामी आनन्द अरुणले विश्वमा राजनीतिक र धर्मका कारण झगडाहरु हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वलाई एकताबद्ध गर्न सकिने बताए। उनले योगसम्बन्धी अध्ययन हुने राष्ट्रियस्तरको शिक्षालयको आवश्यकता औंल्याए। भ्रमण वर्ष घोषणाले मात्रै पर्यटक नआउने भएकोले योग, साधनाबाट लाखौं पर्यटक भित्र्याएर महिनौंसम्म नेपालमै राख्न सकिने उनको भनाइ थियो।

‘राष्ट्रिय एकताः योगको सान्दर्भिकता’ नारासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा योग दिवस मनाइएको हो।

प्रकाशित : माघ १, २०७६ १३:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×