१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मकर संक्रान्ति : सखरखण्डमा भारतकै भर

मकर संक्रान्तिका लागि धादिङबाट १५६, नवलपरासीबाट १०२, सुनसरीबाट १२१, चितवनबाट ८२, झापाबाट ४५ र मकवानपुरबाट २६ टन तरूल ल्याइएको छ

काठमाडौँ — मकर संक्रान्तिमा विशेषगरी तरुल, सखरखण्ड, तिलको लड्डु खाने प्रचलन छ । तर नेपालमा उत्पादन हुने तरुल र सखरखण्डले यहाँको माग धान्दैन, भारतबाट पनि ल्याउनुपर्छ । मकर संक्रान्तिकै लागि पुसमा मात्र १ हजार २ सय ९५ टन तरुल ल्याइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । जसमध्ये भारतबाट ४२ टन आएको छ । 

मकर संक्रान्ति : सखरखण्डमा भारतकै भर

सखरखण्ड २४२ टन भित्रिएको छ । यी वस्तु एक साताको अवधिमा भित्रिएको समितिले जानकारी दिएको छ । ‘मकर संक्रान्तिमा तरुल नै धेरै बिक्री हुन्छ । यसमा हामी आत्मनिर्भर उन्मुख छौं,’ समितिका उपसचिव विनय श्रेष्ठले भने, ‘सखरखण्ड भने धेरैजसो भारतबाटै आयात हुन्छ ।’ तरुल मकर संक्रान्तिलाई लक्ष्य गरी ल्याइन्छ । सखरखण्ड भने त्यसपछि पनि बिक्री हुने उनले बताए । गत वर्ष पुसमा ९८२ टन तरुल भित्रिएको समितिले जानकारी दिएको छ । त्यसमा भारतबाट मात्रै ७१ टन आयात भएको थियो । सखरखण्ड १६३ टन आयात भएको थियो ।


मुलुकका विभिन्न जिल्ला र भारतबाट ल्याइएको तरुल र सखरखण्ड विशेषगरी कालीमाटी तरकारी बजारमा भित्रिन्छ । बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । बाँकी ३० प्रतिशत बल्खु तरकारी बजारले पूर्ति गर्दै आएको छ । दुई दिनमा ५० टन तरुल आयात भएको बल्खु तरकारी बजारका म्यानेजर श्याम लामिछानेले जानकारी दिए । उक्त तरुल धादिङ, पाल्पा, चितवन, मकवानपुर, सर्लाहीलगायत ठाउँबाट भित्रिएको उनले बताए । तरुलबाहेक सखरखण्ड पनि आयात भएको छ । ‘गत वर्षको तुलनामा तरुलको माग बढेको छ,’ लामिछानेले भने ।


नेपालमा सखरखण्डको उत्पादन पर्याप्त मात्रामा नहुँदा आयातकै भर पर्नुपरेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले बताए । भैरहवा र काँकडभिट्टा नाकाबाट यस्ता वस्तु ल्याउने गरिएको उनको भनाइ छ । ‘आयातित सखरखण्डले माग धान्नुपरेको छ,’ उनले भने । ०७४ पुसमा कालीमाटीमा ६८८ टन तरुल भित्रिएकामा भारतको हिस्सा ४९ टन थियो । ०७३ पुसमा भने ७४३ टनमध्ये भारतबाट मात्रै ११७ टन तरुल आयात भएको समितिको तथ्यांक छ ।


पछिल्ला वर्ष उत्पादनमा भने सुधार हुँदै आएको व्यवसायीको दाबी छ । सर्लाही, चितवन, धादिङ, मकवानपुरलगायत जिल्ला उत्पादन हुने तरुल उपत्यका आउने गरेको छ । ‘गत वर्षको तुलनामा तरुलको माग बढ्दो छ । मूल्य पनि सोहीअनुसार बढेको छ,’ व्यवसायी यानबहादुर तिमिल्सिनाले भने, ‘गत वर्ष प्रतिकिलो ४०/५० रुपैयाँमा पाइने तरुल अहिले ७० रुपैयाँ पुगेको छ ।’


यो एक सातामा सर्लाहीबाट सबैभन्दा बढी ५५५ टन तरुल भित्रिएको समितिले बताएको छ । ‘उत्पादनमा केही सुधार भए पनि विहारको तरुल सर्लाही भएर पनि उपत्यका भित्र्याउने गरिएको एक व्यवसायीले बताए । मकर संक्रान्तिका लागि धादिङबाट १५६, नवलपरासीबाट १०२ र सुनसरीबाट १२१ टन तरुल भित्रिएको छ । यी जिल्लाबाहेक चितवनबाट ८२, झापाबाट ४५ र मकवानपुरबाट २६ टन तरुल भित्रिएको समितिले जानकारी दिएको छ ।


चारदिने व्यापार

मकर संक्रान्तिलाई भनेर दुई–तीन दिनदेखि बजारमा तरुल, चाकु, तिलको लड्डु किन्नेको भीड छ । विभिन्न समुदायले आफ्नै किसिमले मनाउने यो पर्वमा यी खाद्यान्न प्रयोग बढी हुने गरेको व्यवसायी बताउँछन् । मकर संक्रान्ति वरपरका तीन दिन काठमाडौंका असन, नयाँबानेश्वर, कालीमाटी, ललितपुरको मंगलबजारलगायत स्थानमा तरुल, तिलको लड्डु र चाकु किन्नेको चहलपहल बढी हुने गरेको छ ।


सबै चिज सजिलै पाइने भएकाले टाढाबाट भए पनि असनमा सामान किन्न आएको मकर संक्रान्तिका लागि नारायणस्थानकी गीता तामाङले बताइन् । ‘वर्षमा एक चोटि आउने यो पर्व हाम्रा लागि महत्त्वपूर्ण छ,’ उनले भनिन् । असनमा २२ वर्षदेखि व्यापार गरिरहेकी शर्मिला शाहीलाई पनि नेपाली पर्वहरू उत्तिकै महत्त्वपूर्ण लाग्छन् । दसैं, तिहार र माघे संक्रान्तिजस्ता चाडपर्वमा आफ्नो व्यापार बढ्ने भएकाले उत्साह थप्ने गरेको उनको भनाइ छ । अहिले दिनको २० हजार रुपैयाँसम्मको व्यापार गरिरहेको उनले जानकारी दिइन् । ‘तिलको लड्डु, तरुल र चाकुको माग मकर संक्रान्तिमा बढी हुन्छ,’ उनले भनिन् । तरुल, चिलको लड्डु र चाकुको प्याकेटलाई आकारअनुसार उनले ८० देखि १ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको जानकारी दिइन् ।


सिजनको समयमा सबैको माग र व्यापारअनुसारको नाफा राम्रो हुने अर्का व्यापारी राजकुमार श्रेष्ठ बताउँछन् । ‘मैले पहिलो पटक यी वस्तु बेचेको हुँ,’ उनले भने, ‘दिनमा १२ हजार रुपैयाँसम्मको व्यापार भइरहेको छ ।’


कपनकी बिजु श्रेष्ठ पनि मंगलबार तरुल किन्न असन पुगेकी थिइन् । ‘माघे संक्रान्तिमा तरुल खानुको मज्जा नै बेग्लै छ,’ उनले भनिन् । जाडोयाममा चाकुले शरीरलाई न्यायो राख्ने र तरुलले स्वास्थ्यमा फाइदा पुग्ने भएकाले यी कुरा खानु उचित रहेको उनको भनाइ छ ।


अरू बेला तरुललगायतको व्यापार नहुने व्यापारी सरोज परियार बताउँछन् । मकर संक्रान्तिलाई लक्ष्य गरी उनले चार सय किलो तरुल, सखरखण्ड, वन तरुल र पिँडालु कालीमाटीबाट ल्याएका थिए । उनले पनि दैनिक १५ हजार रुपैयाँबराबरको व्यापार भइरहेको जानकारी दिए ।

प्रकाशित : माघ १, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?