१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आधा घट्यो टेलिकमको नाफा

काठमाडौँ — एक वर्षमा नेपाल टेलिकमको नाफा आधा घटेको छ । आव ०७५/७६ मा टेलिकमले ९ अर्ब ७६ अर्ब नाफा गरेको छ । यो अघिल्लो आवमा गरेको १७ अर्ब ४८ करोड रुपैयाँभन्दा करिब आधा कम हो ।

आधा घट्यो टेलिकमको नाफा

गत आवमा कम्पनीले ४३ अर्ब ८४ करोड र त्यसअघिको आवमा ४५ अर्ब २७ करोड आम्दानी गरेको छ । टेलिकमको मंगलबार सम्पन्न १२औं वार्षिक साधारणसभामा प्रस्तुत विवरणअनुसार कम्पनीको बजार हिस्सा केही बढे पनि आम्दानी र नाफामा कमी आएको हो । गत आर्थिक वर्षमा भ्वाइसतर्फ करिब ४ प्रतिशत र डेटातर्फ करिब ५ प्रतिशत बजार हिस्सा बढेको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आफ्नो भ्वाइसतर्फको बजार हिस्सा करिब ५५ प्रतिशत र डेटातर्फको बजार हिस्सा ४८ प्रतिशत रहेको कम्पनीले बताएको छ ।


वार्षिक साधारणसभाका अवसरमा सञ्चालक समिति अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले विश्वव्यापी रूपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई यसको व्यापार क्रमिक रूपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रम जारी रहेको जनाए । तीव्र प्रतिस्पर्धाका कारण भ्वाइस तथा डेटा सेवाको महसुलमा व्यापक कटौती गरिएकाले आम्दानी र नाफा कम भएको अध्यक्ष सुवेदीले बताए ।


फोरजीको विस्तार, एउटै लाइनबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन चलाउन सकिने एफटीटीएच प्रविधिको विस्तार र सेवाको गुणस्तर सुधारमा कम्पनीले तीव्रता दिएपछि चालु आवदेखि कम्पनीको राजस्व वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ ।


टेलिकमको बजार हिस्सा बढे पनि आम्दानी र नाफामा भने कमी आएको हो । गत आवको मुनाफा रकममध्ये प्रतिसेयर ४५ रुपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको छ । गत वर्ष कम्पनीले प्रतिसेयर ५५ रुपैयाँ लाभांश वितरण गरेको थियो । टेलिकमले एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार गर्ने लक्ष्यका साथ गत वर्ष सम्झौता गरे पनि एक वर्ष पुग्दासम्म निकै कम मात्रै सेवा विस्तार गर्न सकेको छ । पुसको मध्यसम्म फोरजी विस्तारको एक तिहाइ काम मात्रै भएको छ ।


देशैभर फोरजी विस्तारका लागि करिब ४ हजार २ सय बीटीएस टावरमा फोरजी प्रविधि राख्नुपर्छ । यीमध्ये करिब १५ सय टावरमा फोरजी सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ । टेलिकमका करिब ४ हजार २ सय वटा टावरमा फोरजी विस्तार गर्ने र थप ६४० वटा बीटीएस टावर स्थापना गर्ने लक्ष्य छ । नयाँ बनाउनुपर्नेमध्ये करिब दुई सय वटा टावरको काम भइरहेको छ ।


१९ अर्ब खर्चेर टेलिकमले फोरजी विस्तार सुरु गरेको हो । यसका लागि हङकङस्थित सीसीएसआई कम्पनीले रेडियो एक्सेस नेटवर्कको काम पाएको छ । कोर नेटवर्कको काम भने चिनियाँ कम्पनी जेडटीईले पाएको छ । कोर नेटवर्कको काम लगभग सकिएको टेलिकमले जनाएको छ ।


टेलिकमले विस्तार गर्न लागेको फोरजीको औसत स्पिड १३० एमबीपीएस छ । यससँगै फोरजीसँग जोडिएका अन्य सेवा विस्तार गर्ने कम्पनीको योजना छ । ८ सय र १८ सय मेगाहर्ज ब्यान्डलाई एकीकृत गरिने टेलिकमले जनाएको छ ।


प्रकाशित : माघ १, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?