कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जहाज आउने आश्वासन मात्रै

मन्त्रीको प्रतिबद्धतापछि जहाजमा पोखरा जाउँला भनी बसेका स्थानीय निराश छन् 
आश गुरुङ

(लमजुङ) — भदौ २७ मा पोखराबाट समिट एयरको जहाज चढेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलमा ओर्लिएपछि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भने, ‘असोज १० देखि मनाङमा नियमित हवाई उडान हुन्छ । उनीसँग लय मिलाउँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङमा जहाज उडाउने र नियमित गर्ने बताए । स्थानीय हवाईजहाज आउने आशमा बसिरहे । 

जहाज आउने आश्वासन मात्रै

बिस्तारै डाँडाकाँडा हिउँले ढाकिँदै ल्यायो । बस्ती क्षेत्रमा हिउँ प्रवेश गर्‍यो । हिमपातले हुम्डे विमानस्थल छोपियो । मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेकी छ्युङदा गुरुङ हिमपातबाट जोगिन काठमाडौं झरिन् । ‘हिउँ आयो, जहाज आएन । जहाज आए त पोखरासम्म जहाजमै जान हुन्थ्यो,’ महिनाअघि काठमाडौं झरेकी उनले भनिन्, ‘जहाज आउँछ भनियो, आएन ।’


उनी मात्रै होइन, मन्त्री, मुख्यमन्त्रीले भनेपछि धेरैले नियमित जहाज आउने र मनाङका स्थानीयले सहज सुविधा पाउने ठानेका थिए । मन्त्री र मुख्यमन्त्रीले आश्वासन दिएको चार महिना बितिसके पनि मनाङमा जहाड उडान हुन सकेको छैन । मन्त्री लम्सालले मनाङमा चारदिने प्याकेज बनाउने समेत घोषणा गरेका थिए ।


मन्त्रीको भाषण, भाषणमै सीमित रहेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । यसअघि पनि जहाज आउने भनी पटकपटक आश्वासन पाए पनि उडान हुन नसकेको उनको भनाइ छ । जहाज उडान नहुँदा मनाङबासी समस्यामा परेको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताए । सरकारी उदासीनताले मनाङीले मात्रै नभएर पर्यटकले जहाज चढ्न नपाएको उनको भनाइ छ ।


मनाङबासी अहिले प्राय: गाउँमा छैनन् । चिसो र हिमपात छल्न काठमाडौं, पोखरा, बेंसीसहरलगायत सहर झरेका छन् । ‘बालबालिका, वृद्धवृद्धा मुस्किलले बेंसी झरे । जहाज चलेको भए बेंसी झर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘फ्लाइट नै नभएपछि गाह्रो भयो ।’ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल भने मनाङमा जहाज लाने पहल जारी रहेको बताए । असोज १० देखि नियमित उडान गर्ने योजना सफल हुन नसकेको उनको भनाइ छ ।


‘हामी लागिरहेका छौं । अब पर्यटकीय सिजन सुरु भएपछि उडान थाल्छौं,’ उनले भने । यसअघि उनले हरेक शुक्रबार जहाज उडानको कार्यतालिकासहित छलफल अघि बढाएको बताएका थिए । यसअघि यात्रुको समस्या भएको उनले बताएका थिए । कसरी गर्ने भनेर पर्यटन संस्था हान, टानलगायतसँग छलफल गरेको भए पनि टुंगोमा पुग्न नसकेको मन्त्रालय स्रोतको भनाइ छ । पाइलट अभावले पनि मनाङमा जडाज उडाउन नसकेको मन्त्रालयले स्रोतले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले आव ०६९/७० मा ९ करोड रुपैयाँ खर्च गरेर यसअघिको छ सय मिटरको धुले धावनमार्गलाई विस्तार गरी नौ सय मिटर कालोपत्रे गरेको थियो । त्यति बेला तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारी चढेर मंसिरमा धावनमार्गको परीक्षण गरिएको थियो । त्यसयता वायुसेवा निगमको जहाज मनाङ आएको छैन । कालोपत्रे भएको दुई वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरे पनि निरन्तरता दिन सकेन । एक वर्षअघि एउटा ट्वीनअटर जहाजले चार्डर उडान गरेको थियो ।


धावनमार्ग विस्तार र कालोपत्रे हुनुअघि साताको दुई पटक उडान हुन्थ्यो । त्यति नै समय मनाङसम्म सडकको ट्र्याक खुलेपछि हवाइजहाजले उडान नगरेको स्थानीयको भनाइ छ । मनाङमा नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजले मात्रै उडान गर्दै आएको थियो । मौसम खुला रहँदा भने उडान गर्न सकिन्छ । पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा करिब २५ मिनेट लाग्ने नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एटीसी (एयर ट्राफिक कन्ट्रोलर) सूर्यबहादुर खत्रीले जानकारी दिए । ३ हजार ३ सय ३० मिटर (११ हजार १ सय ४५ फिट) उचाइको हुम्डे विमानस्थलमा ०३९ साल असोजबाट उडान सुरु गरिएको थियो ।

प्रकाशित : माघ १, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?