२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ठेकेदारले बेच्छन् खाद्यको चामल

चामल सम्बन्धित ठाउँमा पुग्यो, पुगेन, बिक्यो, बिकेन भनेर खाद्य कम्पनीले वास्ता गर्दैन
हरि गौतम

(रुकुम पूर्व) — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रत्येक वर्ष जिल्लाका रुकुमकोट र तकसेरामा चामल आपूर्ति गर्छ । आसपासका सर्वसाधारणलाई लक्ष्य गरेर ठेक्कामार्फत यहाँ ल्याइएको चामल ठेकेदारले नै बेच्दै आएका छन् । 

ठेकेदारले बेच्छन् खाद्यको चामल

खाद्य कम्पनीको बेवास्ताले चामल ढुवानी र बिक्रीवितरणमा समस्या देखिएको हो । जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट र पुथाउत्तरगंगा गाउँपालिका–१० को तकसेरामा प्रत्येक वर्ष चामल पठाइन्छ । चामल सम्बन्धित ठाउँमा पुग्यो/पुगेन, बिक्री भयो/भएन भनेर खाद्य कम्पनीले वास्ता गर्दैन । अहिलेसम्म सम्बन्धित ठेकेदार कम्पनीले उपलब्ध गराएको प्रतिवेदनका आधारमा चामलको कोटा निर्धारण गरेर आपूर्ति गर्ने परिपाटी छ ।


रुकुमकोटको शोभा गाउँमा कम्पनीको डिपो कार्यालय छ । डिपोमा कर्मचारी नहुँदा लामो समयदेखि ठेकेदारले चामल बेच्नुपरेको छ । डिपोका लागि एक सुब्बा स्तरका कार्यालय प्रमुख, एक जना सहायक र एक जना कार्यालय सहयोगीको दरबन्दी छ । १९ वर्षदेखि यहाँ कर्मचारी छैनन् । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा खाद्य संस्थानको डिपो कार्यालय त्यहाँबाट हटाइएको थियो । त्यसपछि डिपोमा कर्मचारी फर्केका छैनन् । तकसेरामा पनि कर्मचारी छैनन् । ढुवानी ठेक्का लिएकाले नै चामल बिक्री गर्दै आएका छन् ।


चालु वर्ष रुकुमकोटका लागि सात सय क्विन्टल चामलको ठेक्का स्वीकृत भइसकेको छ । राप्ती बहुसेवा प्रालिले उक्त चामल ढुवानीको जिम्मा पाएको छ । तकसेराका लागि एमबी बिल्डर्सले ठेक्का पाएको छ । यी दुवै ठेकेदार कम्पनीले चामल ढुवानी सकेपछि त्यसको बिक्रीवितरण पनि आफैं गर्दै आएका छन् । अहिले ठेकेदार कम्पनी चामल ढुवानी गर्ने तयारीमा छन् । तकसेरामा भैरहवाबाट चामल ढुवानी गरिन्छ । रुकुमकोटमा दाङको तुलसीपुरबाट चामल ल्याउने गरिएको छ । कर्मचारी तथा कार्यालय नभएकै कारण गत वर्ष कोटा निर्धारण गरेअनुसारको चामल बिक्री भएन । रुकुमकोटमा १ हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण भएकामा दुई सय क्विन्टल चामल बिक्री भएको थियो । एक हजार क्विन्टल चामलको कोटा निर्धारण भएको तकसेरामा पाँच सय क्विन्टल चामल मात्रै बिक्री भएको थियो ।


ठेकेदारले चामल बिक्री गर्ने भएकाले भनेको समयमा उपलब्ध नहुने सिस्ने गाउँपालिका–४ का दरिभान बुढाले बताए । ‘चामल बिक्री गर्न केही दिन मात्रै ठेकेदारका मान्छे बस्छन्,’ उनले भने, ‘टाढाबाट पुग्दापुग्दै उनीहरू उठिहाल्छन् । हामीले चामल पाउन मुस्किल हुन्छ ।’ बजारका मान्छेले खासै खाद्यको चामल नकिन्ने भए पनि गाउँका मान्छेका लागि खाद्य संस्थानकै कार्यालय र कर्मचारी हुँदा सजिलो हुने उनको भनाइ छ । रुकुमकोट तथा तकसेराको चामल ढुवानी तथा अरू व्यवस्थापन रुकुम पश्चिमको शाखाले हेर्दै आएको छ ।


शोभा गाउँ डिपोका लागि कार्यालय तथा कर्मचारी नहुँदा समस्या भइरहेको शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए । ठेकेदार आफैंले चामल बिक्रीवितरण गरे पनि मूल्यमा बद्मासी गर्न नपाउने उनको भनाइ छ । रुकुमकोटमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, वडा कार्यालय तथा गाउँपालिका प्रतिनिधिसमेतको रोहरबरमा चामल ढुवानी गर्ने र बिक्री गर्ने गरिएको खड्काले जानकारी दिए । तकसेराका सन्दर्भमा पनि सम्बन्धित वडाका जनप्रतिनिधि तथा प्रहरीको रोहबरमा सम्बन्धित ठेकेदार कम्पनीले चामल ढुवानी र बिक्रीवितरण गर्ने हुनाले उपभोक्ता नठगिने उनले बताए ।

प्रकाशित : पुस २९, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?