२०१९ मा १७० देशका नागरिक नेपाल आए  

काठमाडौँ — संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार संसारभर १ सय ९५ वटा देश छन् । ती मध्ये स्न २०१९ मा नेपालमा कम्तीमा १ सय ७० वटा देशका नागरिकले भम्रण गरेका छन् ।

२०१९ मा १७० देशका नागरिक नेपाल आए  

अध्यागमन विभागले यसै साता तयार पारेको सन् २०१९ को स्वदेशी तथा विदेशी आगमन प्रतिवेदन अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य सडक नाकाबाट कम्तीमा १ सय ७० वटा मुलुकका नागरिक नेपाल आएको देखिन्छ । अध्यागमन विभागका अनुसार, नेपाल छिर्ने एउटा हवाई नाकाबाहेक १२ वटा सिमानामा सडक नाका छन् ।


विभागका महानिर्देशक इश्वर राज पौडेलका अनुसार, सन् २०१९ मा यी मुलुकबाट ११ लाख ५२ हजार विदेशी नेपाल प्रवेश गरेको देखिन्छ । अध्यागनको तथ्यांक प्रतिवेदन अनुसार, सन् २०१९ मा विभिन्न नाकाबाट ११ लाख ५२ हजार ५ सय १ विदेशीको नेपाल आगमन भएको थियो भने १३ लाख २० हजार नेपाली विदेशतर्फ लागेका थिए । त्यस वर्ष नेपाली र विदेशी दुवै गरी २३ लाख ९० हजारको आगमन भएको थियो भने २४ लाख ७६ हजार बाहिरीएका थिए ।


सन् २०१९ मा सर्वाधिक नेपाल आउने विदेशीहरुमा सबैभन्दा धेरैमा विगत वर्षहरुमा झैं भारतीय र चिनियाँ छन् । भारतबाट मात्रै २ लाख ९ हजार ६ सय ११ र चीनबाट १ लाख ६९ हजार ५ सय ४६ पर्यटक नेपाल आएका थिए ।

यी मुलुकपछी नेपाल आउने अन्य प्रमुख मुलुकका नागरिकहरुमा संयुक्त राज्य अमेरिकाबाट ९३ हजार ९ सय ४१, बेलायतबाट ६१ हजार ९ सय ७८, श्रीलंकाबाट ५४ हजार ६ सय ३, थाइल्याण्डबाट ४१ हजार ६ सय ६५, जर्मनीबाट ३७ हजार १ सय ७९, म्यानमारबाट ३५ हजार ७ सय ९३, फ्रान्सबाट ३१ हजार १ सय १५ र जापानबाट ३० हजार ५ सय ३० विदेशी नेपाल आएका थिए । सन् २०१८ मा नेपाल घुम्न आउने प्रमुख ५ मुलुकमा भारत र चीनपछि संयुक्त राज्य अमेरिका, श्रीलंका र बेलायत थिए ।


सन् २०१९ मा राष्ट्रियता पहिचान नभएका १ सय ७१ जना विदेशी पनि नेपाल आएका थिए । यी मध्ये ६८ महिला थिए भने १ सय ३ जना पुरुष थिए । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार, मुलुक नै पहिचान नहुने गरी नेपाल आउने मध्ये केही तेस्रो मुलुक प्रवास भएका शरणार्थीहरु थिए । जो तेस्रो मुलुकको ट्राभल डकुमेन्ट लगायतका कागजातका आधारमा नेपाल भित्रिएका थिए ।


सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा २० हजार कम हो । सरकारले चालु अंग्रेजी वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० घोषणा गरेको छ ।

प्रकाशित : पुस २८, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?