जलविद्युत लगानी तथा विकास कम्पनीले ५ वर्षे योजना कार्यान्वयन गर्ने 

काठमाडौँ — सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले ५ वर्षे व्यवसायीक योजनालाई कार्यान्वयनमा जोड दिएको छ । सोमबार बसेको कम्पनीको आठौं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष तथा उर्जा सचिव दिनेशकुमार घिमिरेले ५ वर्षे व्यवसायीक योजना अन्तर्गत निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागिएको बताएका हुन् । 

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ देखि नै पाँच वर्षे व्यवसायीक योजना लागू भइसकेको भएपनि यो वर्षदेखि प्रभावकारी कार्यान्वयनमा जाने जानकारी दिए । उनले विगतमा कम्पनीले अन्य आयोजनाहरुमा ऋण लगानी गर्दै आएको र आगामी दिनमा निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युतमा स्वपूँजी लगानी गर्ने बताए ।

त्यस्तै कम्पनीको वित्तीय, संस्थागत एवं प्राविधिक सुदृढिकरणमा जोड दिइएको र स्वपूँजी लगानीमार्फत शेयरधनीको प्रतिफल बढाउने योजना रहेको घिमिरेले बताए ।


साधारणसभामा शेयरधनीहरुले सञ्चालकहरुको पारिश्रमिक भत्ता उच्च हुँदासमेत व्यवसायीक योजना अनुसार काम गर्न नसकेको र शेयरधनीहरुको प्रतिफल बढाउन नसकेको भन्दै प्रश्न गरेका थिए । कम्पनीले पाँच वर्षे व्यवसायीक योजना अन्तर्गत गत आर्थिक वर्षसम्ममा कुल ५ सय ३३ मेगावाट क्षमताका आयोजनामा ६ अर्ब १ करोड रुपैयाा लगानी गर्ने लक्ष्य लिएपनि अहिलेसम्म कुनैपनि आयोजनामा लगानी गरेको छैन् ।

कम्पनीको साधारणसभाले चुक्ता पूँजीको १२ प्रतिशत अर्थात १ अर्ब ३२ करोड बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित : पुस २८, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?