कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पाम तेलको निर्यात खुलाउन अनौपचारिक वार्ता 

राजु चौधरी

काठमाडौँ — पछिल्लो महिना नेपालबाट निर्यातको १ नम्बरमा रहेको पाम तेललाई भारतले आयातमा रोक लगाएपछि सरकारले अनौपचारिक वार्ता सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार अनौपचारिक छलफलमा भारतले समाधान गर्ने संकेत दिएको छ । 

पाम तेलको निर्यात खुलाउन अनौपचारिक वार्ता 

‘अनौपचारिकबाट हल नभए औपचारिक वार्ता गर्छौं,’ उनले भने । चालु आर्थिक वर्षको बजेटबाट सरकारले निर्यात प्रवर्द्धनमा थप सुविधा दिएपछि पाम तेलको निर्यात पहिलो नम्बरमा छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब ७५ करोड रुपैयाँको पाम तेल निर्यात भएको थियो । निर्यात क्रमशः बढेर ५ महिनामा ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब ४५ करोड, २०७३/७४ मा ६ अर्ब ७ करोड, २०७२/७३ मा ९ करोड रुपैयाँको कच्चा पदार्थ आयात भएको थियो । निर्यात भने हुन सकेन । भारतले रोक लगाएपछि पाम तेलको निर्यात व्यापार पुनः घट्ने आकलन गरिएको छ । प्रवक्ता भट्टराईले भारतले आन्तरिक कारणले सूचित आदेशबाट आयात रोकेको बताए । उनले आयात प्रतिबन्ध नेपाललाई मात्रै लक्षित नभएको बताए ।

जानकारका अनुसार भारतको राजनीतिक कूटनीतिक द्वन्द्वका कारण निकासीमा रोक लागेको हो । अर्थविद् केशव आचार्यका अनुसार जम्मु-कश्मीरलाई भारतले नियन्त्रणमा लिएपछि मलेसियाका प्रधानमन्त्रीले भारतले अवैधानिक कदम चालेको बताएका थिए । उक्त वक्तव्यबाट भारत रिसाएर मलेसियालाई अप्ठ्यारो पार्न आयातमा बन्देज लगाएको उनले बताए ।

‘भारतले मुख्यतः मलेसिया र इन्डोनेसियाबाटै पाम तेल आयात गर्छ । पाम तेलले मलेसियाको जीडीपीमा करिब ३ प्रतिशत योगदान गरेको छ । कुल निर्यातमध्ये पामको मात्रै करिब ४ प्रतिशत हुन्छ,’ उनले भने, ‘मुख्य आयाकर्ता भारत भएकाले मलेसियालाई अप्ठ्यारो पार्न प्रतिबन्ध लगाइएको हो । कूटनीतिक द्वन्द्वका कारण नेपालमा पनि रोकियो ।’ नेपालमा मलेसियाबाटै पाम तेल आयात भएर भारत निर्यात भएकाले नेपालमा पनि रोकेको उनको तर्फ छ ।

यसअघि वनस्पती घिउको हकमा पनि यस्तै अवस्था आएको थियो । वनस्पती घिउको व्यापार ह्वातै बढेपछि भारतले कोटा लगाएको थियो । ‘पाम तेलमा पनि दुई मुलुकबीचको भन्सार फरकको फाइदा व्यवसायीले उठाए,’ आचार्यले भने, ‘निर्यात गर्दा बैंकिङ प्रणालीबाट गर्दा थप करिब ५ प्रतिशत अनुदान छ । व्यवसायीलाई दोहोरो फाइदा हुँदा निर्यात बढेको हो ।’

उनले झट्ट हेर्दा निर्यात रोकिएको, राजस्वमा असर परेको देखिए पनि स्वदेशी उत्पादन नभएकाले दिगो रूपमा उचित नभएको बताए । दिगो निर्यात वृद्धिका लागि गुणस्तरीय स्वदेशी उत्पादनको वृद्धि र उद्योग उत्पादन क्षमतामा विस्तार हुनु जरुरी रहेकाले सरकार यस्ता विषयका पछि लाग्न नहुने उनको तर्क छ ।

अर्थ राजस्व सचिव शिशिर ढुंगानाले पनि पाम तेलको विषयमा वाणिज्य मन्त्रालयसँग छलफल भइरहेको बताए । उनले आयात–निर्यात सन्दर्भमा सहजकीरण र नेतृत्व गर्ने काम वाणिज्यकै भएको बताए ।

‘अर्थबाट गर्नुपर्ने सहयोग हुन्छ । हामी गर्छौं,’ उनले भने, ‘सहजीकरणका लागि भने वाणिज्यबाटै पहल हुनुपर्छ ।’ वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले पाम तेलको सन्दर्भमा काम भइरहेको बताए । ‘भारतले रोक लगाएपछि तथ्यांक संकलनको काम भइरहेको छ । काम गर्दै छौं,’ उनले भने ।

प्रकाशित : पुस २८, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?