१५८ देशबाट भित्रिन्छ रेमिट्यान्स

वैदेशिक रोजगारीका लागि अनुमति नदिइएका ४८ राष्ट्रबाट पनि रेमिट्यान्स आउने गरेको छ
यज्ञ बञ्जाडे

काठमाडौँ — नेपालमा विश्वका १५८ राष्ट्रबाट रेमिट्यान्स भित्रने गरेको एक तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारका लागि नेपाल सरकारले संस्थागत रूपमा ११० वटा राष्ट्रसँग सम्झौता गरे पनि डेढ सयभन्दा बढी राष्ट्रबाट रेमिट्यान्स भित्रिँदै आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो । 

१५८ देशबाट भित्रिन्छ रेमिट्यान्स

वैदेशिक रोजगारीका लागि सरकारले खुला गरेका राष्ट्रमध्ये हाल अफगानिस्तान, इराक, लिबियालगायत राष्ट्रमा नेपालीलाई काम गर्न जान रोक लगाइएको छ । गैरकानुनी बाटोबाट ती राष्ट्रमा पनि नेपालीले काम गरिरहेका छन् ।

यसको अर्थ सरकारले वैदेशिक रोजगारीका लागि अनुमति नदिएका थप ४८ राष्ट्रमा पनि नेपाली रोजगारी वा अन्य प्रकृतिको कामका लागि बिदेसिएका छन् भन्ने हो । संयुक्त राष्ट्रसंघमा आबद्ध राष्ट्रअनुसार विश्वभर कुल १९५ राष्ट्र छन् । तीमध्ये १९२ सदस्य र दुई वटा एसोसिएट सदस्य हुन् ।

यसमध्ये ८१ प्रतिशत मुलुकमा नेपालीहरूले काम गर्ने र आफ्नो मुलुकमा रेमिट्यान्स पठाउने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो । यो वर्ष गत कात्तिकसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २.३ प्रतिशतले घटेको हो । ०७५ कात्तिकसम्म ३ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । यो बैंकिङ प्रणाली (बैंक र रेमिट्यान्स कम्पनी) मार्फत नेपाल भित्रिएको रेमिट्यान्स हो । योबाहेक हुन्डीलगायत गैरकानुनी माध्यमबाट पनि रेमिट्यान्स भित्रिँदै आएको छ । अनौपचारिक माध्यमबाट कति रकम आउँछ भन्ने यकिन तथ्यांक छैन ।

चालु आर्थिक वर्षको चार महिनामा नेपाल भित्रिएको रेमिट्यान्समध्ये सबैभन्दा धेरै कतारबाट आएको छ । सो अवधिमा कतारबाट मात्र करिब ७ करोड ८३ लाख ९४ हजार अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) रेमिट्यान्स नेपाल आएको छ । दुई महिनाअघिसम्म अमेरिकाबाट धेरै रेमिट्यान्स नेपाल आएको देखिन्थ्यो । त्यतिबेला वेस्टर्न युनियनलगायत अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीले खाडी मुलुकबाट आउने रेमिट्यान्स पनि अमेरिका हुँदै नेपाल ल्याउने गर्थे । यसकारण धेरै रेमिट्यान्स अमेरिकाबाट आएको देखिएको थियो । तीन महिनाअघि राष्ट्र बैंकले जुन देशमा उत्पादन भएको रेमिट्यान्स हो, सोही देशबाट प्राप्त भएको भनी नयाँ ढाँचामा रिपोर्टिङ गर्न रेमिट्यान्स कम्पनी र बैंकलाई निर्देशन दिएको थियो । नयाँ तरिकाबाट तथ्यांक संकलन गर्दा सबैभन्दा योगदान पुर्‍याउने राष्ट्र कतार देखिएको राष्ट्र बैंक विदेशी विनिमय विभागले जनाएको छ ।

कतारपछि धेरै रेमिट्यान्स आउने राष्ट्र साउदी अरब हो । चार महिनामा यो राष्ट्रबाट ७ करोड डलर (करिब ७ अर्ब रुपैयाँ) रेमिट्यान्स मुलुक भित्रिएको छ । यसैगरी धेरै रेमिट्यान्स आउने राष्ट्रमध्ये तेस्रोमा दुबई, चौथोमा मलेसिया, पाँचौंमा अमेरिका र छैठौंमा जापान छन् । सातौं, आठौं, नवौं र दसौंमा क्रमशः दक्षिण कोरिया, कुवेत, बहराइन र बेलायत (यूके) रहेको राष्ट्र बैंकको तथ्यांक छ ।


चालु आवको दोस्रो महिनादेखि हरेक महिना रेमिट्यान्स घटेको छ । अघिल्ला महिनामा रेमिट्यान्सको वृद्धिदरमा मात्र कमी आउने गर्थ्यो । यसपालि रकमै घटेको हो । खाडी राष्ट्रमा समस्या आएपछि ती राष्ट्रमा नेपाली कामदार घटेको र त्यसको असर नेपालको कुल रेमिट्यान्समा परेको जानकारहरू बताउँछन् । गत साउनयताका तीन महिना (भदौ, असोज र कात्तिक) रेमिट्यान्स क्रमशः ०.३, ४.६ र २.३ प्रतिशतले घट्यो । असोजको तुलनामा कात्तिकमा रेमिट्यान्स घट्ने दरमा भने कमी आएको छ । यसअघि आर्थिक वर्ष ०७४/७५ कात्तिकमा रेमिट्यान्स वृद्धिदर १.४ प्रतिशतले ऋणात्मक भएको थियो ।

गत वर्ष भने रेमिट्यान्स आप्रवाहमा बेग्लै परिस्थिति देखियो । सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर ३७ प्रतिशतसम्म पुग्यो । चौथो–पाँचौं महिनादेखि रेमिट्यान्स वृद्धिदर ओरालो लाग्न थाल्यो । आर्थिक वर्षको अन्त्य (असार) सम्म आइपुग्दा रेमिट्यान्स वृद्धिदर साढे १६ प्रतिशत थियो । चालु आर्थिको वर्षको पहिलो महिनामा रेमिट्यान्स वृद्धिदर एक्कासि घटेर २ प्रतिशतमा सीमित भयो । त्यसपछि ऋणात्मक हुन थालेको थियो ।

मलेसियामा करिब १५ महिना नयाँ रोजगारी रोकियो । साउदी अरबको सरकारले स्थानीय कामदारलाई बढी प्राथमिकता दिन थालेको छ । नाकाबन्दीको कारण कतारमा नयाँ रोजगारी सिर्जना हुन सकेको छैन । यही कारण विगत वर्षमा भन्दा यो वर्ष रेमिट्यान्स आप्रवाह घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसो त गत वर्ष रोजगारीका लागि बिदेसिने नेपालीका संख्या घटेको थियो । यो वर्ष रोजगारीका लागि बाहिरिने नेपालीको संख्या बढ्दो छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत कात्तिकमा ५.६ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो ।

यस्तै पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो । गत वर्ष रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च हुनु (बेस इफेक्ट), रोजगारीमा मलेसिया जाने नेपालीको संख्यामा कमी आउनुलगायत कारण यो वर्ष रेमिट्यान्स घटेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । यद्यपि पछिल्ला महिनामा रेमिट्यान्समा सुधारका संकेत देखिएको उनले दाबी गरे ।

प्रकाशित : पुस २८, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?