कृषि उपजको मूल्य सधैं अस्थिर

अघिल्लो वर्ष प्रतिमन ५ सय रूपैयाँमा बेच्न मुस्किल परेको अदुवाले यो वर्ष माउ सिजनमै प्रतिमन ३ हजार रूपैयाँभन्दा धेरै भाउ पायो । रोगको जोखिम र मूल्य कम भएर खेती घटाएका किसान भाउ अकासिएपछि पछुताए । 
विप्लव भट्टराई

(इलाम) — चुनावअघि सबैजसो राजनीतिक दलको घोषणापत्रमा प्राथमिकतामा परेको विषय थियो– कृषि उपजको दिगो बजार प्रवर्द्धन गर्ने । कच्चा पदार्थका रूपमा यहाँको अलैंची, अदुवा, जडीबुटी र कुचोलगायत सामग्री बाहिर निर्यात हुने गरेकाले ती दलले स्वदेशमै उद्योग खोलेर राष्ट्रिय आम्दानी बढाउँदै किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने वाचा गरेका थिए । 

कृषि उपजको मूल्य सधैं अस्थिर

दुग्ध पदार्थको आम्दानीसमेत जोड्ने हो भने इलामका किसानले वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी भित्र्याउँछन् । तर उनीहरूलाई मुख्य टाउको दुखाइ बनेको छ– मूल्य अस्थिरता । अघिल्लो वर्ष प्रतिमन ५ सय रुपैयाँमा विक्री गर्न मुस्किल परेको अदुवाले यो वर्ष माउ सिजनमै प्रतिमन ३ हजार रुपैयाँभन्दा धेरै भाउ पायो । रोगको जोखिम र मूल्य कम भएकाले प्रायः किसानले खेती घटाए । तर खेती घटाउँदा मूल्य अकासिएपछि किसान पछुताए ।


अदुवाको मूल्य अहिले पनि राम्रो छ । किसानले धेरै उत्पादन विक्री गरेका छन् । बीउको समयमा फेरि मूल्य अकासिन्छ । ‘अर्को वर्ष अहिलेको जस्तो मूल्य नआए लगानी डुब्ने जोखिम उत्तिकै छ,’ इलाम नगरपालिका–५ तोरीबारीका कृषक चेतन पोखरेलले भने, ‘मूल्यकै कारण छोप्वा खेती जस्तो भएको छ ।’ प्रतिमन १ लाख रुपैयाँभन्दा धेरैमा विक्री भएको अलैंचीको मूल्य झरेर प्रतिमन २५ हजार रुपैयाँ पुगेको छ । मूल्य धेरै हुँदा किसानले खेतबारी मासेर अलैंची रोपे । अहिले मूल्य ओरालो लाग्दै जाँदा किसानलाई पुनः समस्या भएको हो । पछिल्लो समय उत्पादनको सबैजसो हिस्सा भारतमा खपत भइरहेको छ । ‘आसाम, सिक्किमलगायत क्षेत्रमा अलैंचीको उत्पादन बढेकाले मूल्य घटेको हो,’ अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले भने, ‘नेपालमा पनि अलैंची खेती व्यापक विस्तार भएको थियो । मूल्य घटे पनि अलैंचीको खपत बढ्न सकेको छैन ।’


अरब तथा युरोपेली देशमा नेपालले सिधै अलैंची विक्री गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन । नेपालबाट करिब साढे ४ अर्ब रुपैयाँ बराबरको अलैंची निकासी भएको थियो ।


बढेन आन्तरिक खपत

यहाँका किसानले खेती बालीलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनेतर्फ त्यति सहुलियत पाएका छैनन् । आफ्नै प्रयासमा जति उत्पादन गर्छन्, त्यसमै पनि वास्तविक मूल्य नपाइने किसानको गुनासो छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले गरेको पछिल्लो अध्ययनले पनि यही निष्कर्ष निकालेर सरकारलाई सुझाएको छ । केन्द्रले सात वटै प्रदेशमा अध्ययन गरेको थियो । अध्ययनले निर्यातमा मात्र भर नपरेर यहाँ आवश्यक हुने उत्पादन यहीँ खपत गर्नुपर्ने देखाएको छ । हरेक प्रदेशमा उत्पादित सामग्री एकअर्काको खपतअनुसार कसरी सहजै वितरण गर्न सकिन्छ भन्ने विषयलाई पनि जोड दिएको छ । वार्षिक ३ सय अर्ब रुपैयाँ बराबरको सब्जी र खाद्यान्न आयात भइरहेको अवस्थामा त्यसलाई कम गरेर पनि कृषकमाझ लाभ पुर्‍याउन सकिने केन्द्रको ठम्याइ छ ।


‘उत्पादक धेरै संख्यामा छन् र त्यसलाई बजारसम्म लैजाने पहुँच भने निश्चित व्यक्तिसँग मात्र छ,’ केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, ‘यसको विकल्प भनेको एक्स्पोर्ट गृह हो ।’ सरकारले नै यस्तो भण्डारणको व्यवस्था गरेर मूल्य उच्च भएको सिजनमा निर्यात गर्न सक्नुपर्ने उनको भनाइ छ ।


नेपालका लागि उपयुक्त बजार हुन सक्ने बंगलादेशसम्म यहाँको उत्पादन पुग्न नसक्नु पनि मूल्य धेरै नपाउनुको कारण भएको सरोकारवाला बताउँछन् । करिब १७ करोड जनसंख्या रहेको बंगलादेशसँग व्यापार बढाउन सरकारले नै ठोस पहल गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको भनाइ छ ।


बिक्न छाड्यो जडीबुटी

अन्य नगदे बालीजस्तै निजी नम्बरी जग्गामा जडीबुटी उत्पादन गरेर मनग्गे आम्दानी गर्दै आएका यहाँका किसान निराश छन् । पाखोरेखो जमिनसहित घरबारीमा पनि जडीबुटी रोपेर कमाइ गर्न थालेका किसानको उत्पादन एकाएक विक्री हुन छाडेपछि समस्या भएको हो । इलाम, पाँचथर र ताप्लेजुङका लेकाली क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत जडीबुटी खेती बजार नपाएपछि खस्किँदो छ । विशेषगरी यस क्षेत्रमा उत्पादन हुने चिराइतो, लोठसल्ला र सतुवाको बजार खस्किँदै गएको छ ।


सतुवा र चिराइतो मात्रै नभएर कुट्की र मजिठोजस्ता जडीबुटीको बजारमूल्य पनि यस्तै छ । अधिकांश जडीबुटी पहिला भारत र पछि चीन निर्यात हुन थालेका छन् । यो विशेषगरी औषधिका लागि प्रयोग हुने गरेको छ ।

प्रकाशित : पुस २७, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?