एउटै गाउँबाट दुई करोडको सुन्तला

माधव अर्याल

(पाल्पा) — रैनादेवी छहरा–४ सुन्तलावासका युवा कमल घिमिरेलाई सुन्तला बजार पठाउन हतारो छ । उनको परिवार सुन्तला बगानमा खटिएको छ । टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने काममा उनीहरू लागिपरेका छन् । 

एउटै गाउँबाट दुई करोडको सुन्तला

उनको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेका थिए । सिजन ढिला भइसक्यो । अझै पनि बोटमै सुन्तला रहिरहे अर्को वर्ष फल कम लाग्ला कि भन्ने चिन्ताले उनलाई सताएको छ । ‘अब जति भाउ आउँछ, पठाउने योजना बनाएको छु,’ उनले भने, ‘यस वर्ष राम्रो उत्पादन भएकाले खुसी छौं ।’ दैनिक ८/१० जना खेताला लगाएर सुन्तला टिप्ने काम भइरहेको छ । यस वर्ष झन्डै १० लाख रुपैयाँको सुन्तला बिक्री गरिसकेको उनले जानकारी दिए । भाउ पनि राम्रो आएको छ । बोटबाटै प्रतिकिलो ७० रुपैयाँमा सुन्तला बिक्री भइरहेको उनले बताए । उनको बगानमा बुटवल, भैरहवा, नारायणगढसम्मका व्यवसायी आउँछन् । यस वर्ष थप १५ रोपनी जग्गामा सुन्तला लगाउने उनको तयारी छ ।


गाउँकै चेतनारायण न्यौपानेलाई पनि सुन्तला बजार पठाउने हतारो छ । नजिकका मुझुङ, पालुङमैनादी र भुवनपोखरीलगायत स्थानमा सुन्तला टिपिसकिए पनि उनको बगैंचामा सकिएको छैन । उनीहरूले सिजनमा सस्तोमै सुन्तला बेचिसके । तर अमलावासका किसानले भने अन्तिममा टिप्ने गरेका छन् । भाउ पनि राम्रो पाउने गरेका छन् ।


सुन्तलावासका घिमिरे र न्यौपाने मात्र होइन, अगुवा कृषक ८० वर्षीय यमनाथ कोइराला गाउँभरिका सबैले सुन्तला बिक्री गरेर मनग्गे आम्दानी गरेको देख्दा कम्ता खुसी छैनन् । किनभने गाउँका सबैको बगान देख्ने उनको सपना ४० वर्षपछि पूरा भएको छ । गाउँका सबै ३० घरपरिवारले साथ दिएकाले सपना पूरा भएको उनको भनाइ छ । ‘सबैका घरमा सुन्तलाका बगान देख्दा मलाई जोस बढेर आउँछ,’ उनले भने, ‘सबैका घरमा आम्दानी बढेको छ ।’


वर्षको बढीमा दुई महिना दुःख गरेर किसानले ३ लाखदेखि १५ लाख रुपैयाँसम्म कमाएका छन् । अहिले पनि सुन्तलाका बिरुवा बिक्री गरेर कोइरालाले वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्छन् । सुन्तला बेच्दा त्यसभन्दा बढी कमाइ हुने गरेको उनका छोरा विष्णुप्रसाद कोइरालाले बताए । सुन्तलालगायत फलफूल बिक्री गरेर गाउँमा वार्षिक २ करोडभन्दा बढी नगद भित्रिन्छ । गाउँकै भोजराज घिमिरेले चार सयभन्दा बढी सुन्तलाका बोटबाट यस वर्ष मात्र १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरे ।


‘गाउँभरि लटरम्मै सुन्तला फलेको देख्दा मान्छेहरू अचम्ममा पर्छन्,’ उनले भने, ‘सँगै जुनारका बोट पनि पहेंलपुर भएका छन् । आयआर्जनका लागि कागती, दालचिनी र अम्रिसो पनि लगाइएको छ ।’ प्रत्येक घरमा सुन्तला, जुनार, अमिलो र कागतीका बोट छन् । त्यसैले अहिले गाउँबाट कसैलाई खाडी र भारत धाउनुपरेको छैन ।


एक घरले दुई सयदेखि सात सयसम्म सुन्तलाका बिरुवा लगाएको स्थानीय सुन्तला किसान टीकाराम पोखरेलले जानकारी दिए । जुनार, मुन्तला र अमिलो खेतीबाट पनि आम्दानी हुने गरेको किसान गीता घिमिरेले बताइन् । यहाँबाट वार्षिक ८० हजारभन्दा बढी सुन्तलाका बिरुवा बाहिरी जिल्लामा पठाइन्छ । गत आर्थिक वर्षसम्म जिल्लामा ८५३ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । जिल्लामा ५ हजार ६ सय ६० टन सुन्तला उत्पादन हुने अनुमान छ । यसबाट जिल्लामा १० करोडभन्दा बढी नगद भित्रिने गरेको छ ।

प्रकाशित : पुस २७, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?