कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भैरहवामा घट्यो भारुको माग

माधव ढुंगाना

(भैरहवा) — एक–डेढ महिनायता भैरहवा क्षेत्रमा भारतीय मुद्रा (भारु) को माग घटेको छ । यही कारण यहाँस्थित नेपाल राष्ट्र बैंक र मुद्रा सटही काउन्टरमा भारु साट्नेको भीड लाग्न छाडेको छ । यसअघि माग उच्च भएकाले भारु अभाव थियो । बैंक र सटही काउन्टरले मागअनुरूप भारु उपलब्ध गराउन सकेका थिएनन् । सर्वसाधारणलाई निर्धारित विनिमय दरभन्दा धेरै मूल्यमा भारु किन्नुपर्ने बाध्यता थियो । 

अहिले अवस्था उल्टिएको छ । भारतीय रुपैयाँ फालाफाल छ । बैंक र सटही काउन्टरबाहेक बजारमा भारुसँग कायम गरिएको नेपाली विनिमय दर पाइँदैन । सकभर भारु कसैले लिन चाहँदैनन् । भारतीय मुद्राको कारोबार गर्ने यहाँका तीन दर्जनभन्दा धेरै सटही काउन्टर सुनसान छन् ।


‘भारतीय रुपैयाँ खरिद गर्न जोखिम हुन थालेको छ,’ लुम्बिनी मनी चेन्जरका सञ्चालक चन्द्रकान्त अधिकारीले भने, ‘भारतीय रुपैयाँ माग्ने ग्राहक आउन छाडे ।’ तीन दशकदेखि भारु विनिमय कारोबार गर्दै आएका उनले यही अवस्था कायम रहे सटही काउन्टर व्यवसाय बन्द गर्नुको विकल्प नरहेको बताए । भारतीय रुपैयाँको माग उच्च हुँदा दैनिक झन्डै १ करोड रुपैयाँ हाराहारीमा भारुको बिक्री हुन्थ्यो । दैनिक दुई सय जनाभन्दा धेरै भारु खरिद गर्न आउँथे । अहिले मुस्किलले डेढ लाख भारु खरिद हुने गरेको छ । दिनमा १०/१५ जना मात्र भारु खरिद गर्न आउँछन् । भारु खरिद गर्नेभन्दा बिक्री गर्ने धेरै छन् ।


राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार १ सय भारु बराबर १६० रुपैयाँ नेपाली पाइन्छ । पहिला भारुको उच्च माग हुँदा बैंक र सटही काउन्टरबाहेक बजारमा १ सय भारुको कारोबार नेपाली १६५ रुपैयाँसम्ममा खरिदबिक्री हुन्थ्यो । सीमावर्ती भारतको सुनौली बजारमा किनमेल गर्न जाने हजारौं नेपाली उपभोक्ताले १ सय भारु बराबरको सामान किन्दा नेपाली १६७ रुपैयाँसम्म तिर्नुपर्थ्यो । व्यापारीले भारुको सट्टा नेपाली रुपैयाँ दिँदा ७ रुपैयाँसम्म बट्टा भनेर अतिरिक्त पैसा लिन्थे ।


अहिले १ सय भारु नेपाली रुपैयासँग साट्दा बैंक र सटही काउन्टरबाहेक बजारमा १६० रुपैयाँ पाउन मुस्किल पर्छ । अहिले १५७ रुपैयाँ मात्र नेपाली पाइन्छ । कतिपय सटही काउन्टरले भारु साट्न बन्द गरिसकेका छन् । राष्ट्र बैंक सिद्धार्थनगर शाखामा पनि पहिलाको तुलनामा भारतीय मुद्राको माग घटेको छ । तथ्यांकअनुसार अहिले प्रतिदिन सरदर २ देखि ३ लाखसम्म भारु सटही हुने गरेको छ । पहिला प्रतिदिन भारुको बिक्री २० लाख रुपैयाँभन्दा धेरै हुन्थ्यो । राष्ट्र बैंकले १ सय रुपैयाँभन्दा माथिको दरका भारतीय नोटको कारोबार गर्दैन । बैंकले भारु माग गर्नेलाई कडाइ गर्दै प्रयोजन खुलेको निवेदन र परिचयपत्रका आधारमा प्रतिदिन प्रतिव्यक्ति ५ हजार रुपैयाँ मात्र भारु उपलब्ध गराउँथ्यो ।


यहाँ १ सय भारुको कारोबारमा अतिरिक्त ७ रुपैयाँ नेपाली पाइने भएपछि धेरै जना फरक व्यक्तिलाई परिचयपत्र उपलब्ध गराएर राष्ट्र बैंकमा भारु सटही गर्न थालेका छन् । कतिपय दोहोरो नागरिकता भएकाहरू नेपाली बैंकमा पैसा जम्मा गरेर भारतको बैंकबाट निकाल्दै कारोबार गरिरहेका छन् । ‘अहिले भारुको माग एकदमै घटेको छ,’ राष्ट्र बैंक सिद्धार्थनगर शाखा प्रमुख कृष्ण भट्टराईले भने, ‘बरु भारतीय रुपैयाँ संकलन हुने क्रम बढेको छ ।’ नेपाल राष्ट्र बैंकले डलर खर्चेर भारतीय रुपैयाँ खरिद गर्नुपर्छ । भैरहवा क्षेत्रमा भारुको उपलब्धता धेरै हुनुको कारण भने खुलेको छैन ।

प्रकाशित : पुस २७, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?