२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पप्पुले छाडेपछि पुलको काम धमाधम

भरत जर्घामगर

(सिरहा) — तराई–मधेसको लाइफ लाइन मानिने हुलाकी सडकअन्तर्गत सिरहा–सप्तरी जोड्ने बलान नदी पुल र सिरहा–धनुषा जोड्ने कमला नदी पुल निर्माण सुरु भएको छ । पुरानो निर्माण कम्पनीसँगको ठेक्का हटाएर साझेदार कम्पनीकै ‘लिड’ पार्टनरलाई जिम्मा दिएपछि ती दुवै नदीको पुल निर्माण अघि बढेको हो । 

यसअघि दुवै पुलको ठेक्का पप्पु–लुम्बिनी र पप्पु–शर्मा जेभी कन्स्ट्रक्सनले लिएका थिए । ०६८ सालमै शिलान्यास भई ती कम्पनीले काम सुरु गरे पनि आठ वर्ष बित्दासमेत पुल अधुरै छाडेपछि निर्माणको जिम्मा साझेदार कम्पनीकै लिड पार्टनरलाई दिइएको हो । कमला नदीको पुल निर्माण गर्न ०६८ जेठ ३१ मा सरकार र पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लख रुपैयाँ लागतमा र बलान नदी पुल बनाउन २४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा सम्झौता भएको थियो । पटकपटक म्याद थपेर ८ वर्ष बितिसक्दासमेत पुल निर्माण हुन नसकेपछि पप्पु कन्स्ट्रक्सनलाई हटाइएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरले जनाएको छ ।


कार्यालयका अनुसार पप्पुलाई हटाएपछि साझेदार लिड पार्टनर लुम्बिनी बिल्डर्स एक्लैले कमला नदीमा गत असोज १ देखि पुल निर्माण थालेको छ । यता बलान नदीमा ०७५ चैतदेखि शर्मा एन्ड कम्पनीले काम गरिरहेको छ । कमला नदी पुलमा ०७६ असोज १ देखि लुम्बनी बिल्डर्स र बलान नदी पुलमा ०७५ चैतदेखि शर्मा एन्ड कम्पनीले निर्माण थालेको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेन्द्र दासले जानकारी दिए । असार मसान्तभित्रै निर्माण सक्ने गरी काम अघि बढाइएको ठेकेदार कम्पनीले जनाएको छ । बलान नदी पुल ४ सय ७० मिटर लम्बाइ र ८ दशमलव ९ मिटर चौडाइको हुनेछ । ठेकेदार कम्पनीले यो पुलमा ३ वटा स्ल्याबको काम सकिसकेको छ । अन्य स्ल्याबमा गडर र पायरको काम भइरहेको छ । थपिएको समयमै सक्ने गरी काम भइरहेको प्रोजेक्ट म्यानेजर धनपति भुसालले जानकारी दिए ।


४ सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको कमला नदीको पुल १२ एस्पानको छ । जसमा तीन वटा ढलान भइसकेको र अरू एस्पानका पिलरको काम भइरहेको ठेकेदार कम्पनीको भनाइ छ । पप्पुले आधा मात्र बनाएर अलपत्र छाडेपछि सिरहा र सप्तरीका तीन दर्जन गाउँका बासिन्दाले बलान खोला तर्न सास्ती बेहोर्दै आएका थिए ।


हिउँदमा जसोतसो खोला वारपार गरे पनि वर्षामा पानीको बहाव बढी हुँदा ती गाउँबीच आवतजावत बन्द हुन्थ्यो । नयाँ ठेकेदार कम्पनीले अधुरो पुल निर्माण अघि बढाएपछि सिरहा र सप्तरी दुवै गाउँका स्थानीय खुसी छन् । ‘नयाँ कम्पनीले काम धमाधम गरेकाले हामीलाई पुल बन्छ भन्ने आशा जागेको छ,’ सिरहा कल्याणपुरका ६१ वर्षीय रामविलास ठाकुरले भने ।

प्रकाशित : पुस २६, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?