कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उखु किसानले कति रकम पाए ? 

महतोले पाए झन्डै २ लाख 
महालक्ष्मीले ११, अन्नपूर्णले २ करोड बुझाए 
रीना मोक्तान

काठमाडौँ — उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंमा आन्दोलन गरेका उखु किसान सरकारसँग सहमति गरेर पुस १८ मा घर फर्किए । माघ ७ गते भित्र सबै भुक्तानी दिने समझदारीमा सरकार र उखु किसानबीच सहमति भयो । किसानले काठमाडौंको माइतीघर छोडेको एक साता भयो ।

उखु किसानले कति रकम पाए ? 

५ वर्षको रकम माघ ७ भित्र पूरै पाउने आशमा उनीहरु फर्किए । यो एक हप्तामा कतिजना किसानले कति पैसा पाए त ?

सर्लाहीका किसान मायाशंकर यादवको परिवारले अन्नपूर्ण चिनी मिलबाट २५ लाख पाउनुपर्ने थियो । उनका दाजु र बुबाले अलगै उखु मिललाई बेचेका थिए। 'मिलले खातामा ७ लाख रुपैयाँ हाल्दिएको छ' उनले भने । यो रकम आर्थिक वर्ष ७५/७६ को हो । अहिले मिलले अर्को झमेला झिकेको यादव बताउँछन् । 'मिलको एकाउन्टेनले ७१/७२ को रेकर्ड नै छैन भन्छ,' उनले भने, 'रेकर्ड त उसले राख्नु पर्ने हो नि, यहाँ त मलाई भनिरहेको छ । मसँग भएको रेकर्ड देखाउँछु अब।'

काठमाडौंमा आन्दोलन गरेर सर्लाही पुगेका यादव अहिले उखु बुझाएको रेकर्ड खोज्न व्यस्त छन् । ६० वर्षीय रामविलास महतो आजमात्रै सर्लाहीको सिसौटिया पुगेका छन् । मोतियाबिन्दुको उपचारका लागि उनी काठमाडौं बसे केही दिन । उनको खातामा अन्नपूर्ण चिनी मिलले १ लाख ९८ हजार हालिदिएको छ । उनले अझै १ लाख पाउन पाउन बाँकी छ ।

महालक्ष्मी मिलबाट बबिता मिश्रले ३ लाख पाउनु पर्ने थियो । उनको खातामा २ लाख जम्मा भएको छ । उनी छोराछोरीको पढाईको लागि काठमाडौं छिन् । उनका श्रीमान् सर्लाही हानिएका छन् । श्रीमानले २ लाख रकम बुझेको उनले बताइन् । १/२ दिनभित्रै उनी सर्लाही जाने तयारीमा छन् । छिमेकी हरिश्याम महतोले भने कत्ति पनि पैसा नपाएको उनले बताइन् ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले उखु किसानले सबै रकम नपाएको बताउँछन् । 'महालक्ष्मी सुगर मिलले ११ करोड र अन्नपूर्ण मिलले २ करोड बुझाएको भनेर सरकाले हामीलाई भनेको छ । अब पूरा रकम दिएन भने फेरि आन्दोलन गर्छौं । माघ ७ सम्मलाई आन्दोलन रोकिएको मात्र हो,' उनले भने ।

संरक्षक मिश्रले रेकर्डको झन्झटमा किसान परेको भन्दै नाम पुर्जासहित समितिको अफिसमा किसानलाई डाकिएको र रेकर्डको झमेलामा समितिले सहजकर्ताको काम गरिदिने पनि बताए ।

प्रकाशित : पुस २४, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?