सुनमा दिनहुँ नयाँ रेकर्ड, किन बढ्यो मूल्य ?

राजु चौधरी

काठमाडौँ — नेपाली बजारमा सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । महासंघका अनुसार एक सातामा तोलामा ३ हजार रुपैयाँ बढेको छ । 

सुनमा दिनहुँ नयाँ रेकर्ड, किन बढ्यो मूल्य ?

‘गत बिहीबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँ पुगेर रेकर्ड राखेको थियो,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘त्यसपछि दिनहुँ नयाँनयाँ रेकर्ड कायम भएको छ ।’ पुस १७ मा सुनको भाउ प्रतितोला ७३ हजार ५ सय रुपैयाँ थियो । १८ गते प्रतितोला १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय रुपैयाँ पुग्यो । २० गते पुन: १ हजार बढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघको तथ्यांक छ ।


२१ गते प्रतितोला थप ५ सय रुपैयाँ बढेर ७६ हजार रुपैयाँ पुगेको थियो । २२ गते बुधबार भने प्रतितोला ५ सय रुपैयाँ घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । पुस २३ गते पुन: १ हजार रुपैयाँ बढेर ७६ हजार ५ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा एकैदिन प्रतिऔंस ३० अमेरिकी डलर वृद्धि हुँदा स्थानीय बजारमा त्यसको असर परेको हो । ‘अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको भाउ प्रतिऔंस १५ सय ५९.८० डलर थियो । बुधबार एकैदिन ३० डलर बढेर १५ सय ९०.९० पुगेको छ,’ महासंघका अध्यक्ष मोहन सुनारले भने, ‘यसले स्थानीय बजार पनि बढाएको हो ।’


किन बढ्यो मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुरक्षित लगानी खोजिरहेका छन् । सुन सुरक्षित लगानी भएकै कारण लगानीकर्ता यसतर्फ आकर्षित छन् । माग बढेपछि सुनको मूल्य निरन्तर उकालो लागेको छ । सेयरका लगानीकर्ताले पनि सुन खरिद गरी सञ्चय गर्न थालेका छन् । अमेरिका र इरानबीच बढेको द्वन्द्वका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको जानकारहरू बताउँछन् ।


‘अमेरिका र इरानबीच युद्ध हुने त्रासले लगानीकर्ता सुनमा सञ्चयतर्फ लागेको देखिन्छ,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘त्यही कारण दिनहुँ रेकर्ड बन्यो ।’ यीबाहेक अमेरिका र चीनबीचको व्यापार युद्ध पनि सुनको मूल्य बढ्नुको कारण हो । यी दुई मुलुकले डिसेम्बर १५ सम्म व्यापार युद्ध समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसका लागि व्यापार सम्झौता भएको थियो । दुई मुलुकले आयात–निर्यात गर्दा डिसेम्बर १५ देखि भन्सार शुल्क घटाउने सम्झौता भएको शाक्य बताउँछन् । तर सम्झौता कार्यान्वयन भएन ।


‘दुई मुलुकबीच भएको सम्झौता कार्यान्वयन नहुँदा आर्थिक क्षेत्र विश्वस्त हुन सकेन,’ उनले भने, ‘त्यसले डिसेम्बर १५ मा प्रतिऔंस १४ सय ९० डलर रहेको सुनको मूल्य बढेर १५ सय २३ पुग्यो । त्यसपछि बिस्तारै भाउ बढ्न थालेको हो । बुधबारसम्म प्रतिऔंस १५ सय ९० डलर पुगेको छ ।’ आन्तरिक कारणले पनि मूल्य बढेको उनको भनाइ छ । डलरको तुलनामा भारु कामजोर छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ ।


‘साताअघि एक अमेरिकी डलर बराबर नेपाली ११३ रुपैयाँ थियो । बुधबार डलरको तुलनामा कमजोर भएर १ डलर बराबर १ सय १५ रुपैयाँ ५० पैसा पुगेको छ,’ शाक्यले भने, ‘त्यसले पनि सुनको मूल्य बढ्न सघाएको छ ।’ अमेरिका र इरानबीच युद्ध जारी रहे अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन १६ सय डलर पुग्ने आकलन गरिएको छ । त्यसो भए नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८० हजार रुपैयाँसम्म पुग्ने महासंघको दाबी छ ।


सुन सबैभन्दा बढी भारत र चीनमा खपत हुन्छ । भारतमा वार्षिक १२ सय टन हाराहारीमा खपत हुने गरेको छ । अहिले उत्पादन र खपत बर्सेनि बढिरहेको छ । सुन विशेषगरी साउथ अफ्रिका, अस्ट्रेलिया र क्यानडामा उत्पादन हुन्छ । यीबाहेक अन्य मुलुकमा पनि छिटफुट रूपमा उत्पादन हुने गरेको महासंघले जनाएको छ ।


सुनसान नेपाली बजार

सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनेपछि स्वदेशी बजार सुनसान देखिएको छ । बजारमा सुनको माग नरहेको महासंघले बताएको छ । किन्नेभन्दा पनि बेच्ने उद्देश्यले मानिस आउने गरेको व्यवसायीको भनाइ छ । ‘अहिले मुलुकभर मुस्किलले पाँच किलो माग छ,’ शाक्यले भने, ‘सुन किन्न आउने ग्राहक भाउ सोधेर फर्किने गरेका छन् ।’ कात्तिक/मंसिरमा सुनको भाउ प्रतितोला ७३ हजार थियो । त्यस बेला कारोबार सन्तोषजनक थियो । अहिले भने कारोबार निराशजनक रहेको महासंघको दाबी छ ।

प्रकाशित : पुस २४, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?