२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रेसम खेती संकटमा

सम्झना रसाइली

(तनहुँ) — सेतो सुनका नामले चिनिने रेसम किराको खेती संकटमा परेको छ । केही वर्षअघिसम्म दुई टन कोकुन (रेसम किराको कोया) बिक्री हुने जिल्लामा हाल खेती नै हुन छाडेको प्रजनन पिढी बीज कोया स्रोत केन्द्र बन्दीपुरका बाली संरक्षण अधिकृत एवं निमित्त प्रमुख ईश्वर धमनियाले बताए । 

रेसम खेती संकटमा

०६०/६१ सम्म केन्द्रबाट किसानमार्फत उत्पादन गरेको दुई टन कोकुन बिक्री हुन्थ्यो । तर अहिले किसानै पाउन मुस्किल रहेको केन्द्रले जनाएको छ । केन्द्र आफैंले चार हेक्टर क्षेत्रफलमा किम्बु खेती गरी वार्षिक ३० बाकस कोकुन उत्पादन गर्दै आएको छ । यो बिक्रीका लागि नभई बीउ उत्पादनका लागि मात्र प्रयोग हुन्छ । मौसम र किम्बु खेती राम्रो भए साउनदेखि कात्तिकसम्म दुई र चैतदेखि असारसम्म दुई पटक गरी एक वर्षमा चार पटकसम्म किरा पाल्न सकिने केन्द्रले जनाएको छ । ‘एक बाकस किरालाई डाँठसहित १२ सय किलो किम्बु दिनुपर्छ । पात मात्रै हो भने पाँच सय किलो आवश्यक पर्छ,’ धमनियाले भने । किराले समयमै खाना पाउने र वातावरण पनि राम्रो भए एक महिनामा धागो निकाल्न सुरु गर्ने उनले बताए । कृषकस्तरमा धेरै कार्यक्रम भए पनि यसप्रति किसानको आकर्षण नभएको उनको भनाइ छ । काम गर्न सक्ने युवा रोजगारीका लागि बिदेसिएपछि गाउँघरमा भएका बूढापाकाले काम गर्न नसक्ने उनले बताए ।


किम्बुको गुणस्तर पहिले जस्तो नभएको र किरा पनि मर्ने गर्दा रेसम किराको खेती छाडेको बन्दीपुर गाउँपालिका–३ सेराटारका ७० वर्षीय बुद्धिबहादुर जीसीको भनाइ छ । ‘वर्षमा तीन पटक किराको खेती गर्थें । ५०/६० किलोसम्म कोकुन उत्पादन हुने गरेकामा किरा पनि मर्न थालेपछि छाडिदिएँ,’ उनले भने । रेसम खेती कृषक समूह समन्वय समितिका अध्यक्षसमेत रहेका जीसीले करिब १५ वर्ष रेसम किराको खेती गरेका थिए । ‘पहिले कोरिया र जापानबाट फूल आउँथ्यो । पछि यहीँ उत्पादन गर्न थलियो,’ उनले भने, ‘पछिपछि किराहरू किम्बुको पात खाएर धागो दिने बेलामा मर्न थाले । केही गर्दा पनि यो समस्याको समाधान भएन ।’


प्रकाशित : पुस २३, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?