३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तिलाबेबाट गण्डकमा पानी

शंकर आचार्य

(पर्सा) — भारतले रबी बालीका लागि गण्डक नहरमा पानी नदिएपछि यस वर्ष तिलाबे खोला ब्यारेजबाट ल्याइएको छ । आफ्नै ब्यारेजबाट नहरमा पानी झार्दा चारवटा ब्लकका किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । 

कार्यालयका इन्जिनियर एवम् सूचना अधिकृत सुरेशप्रसाद साहका अनुसार, नहरको ब्लक नम्बर ५ देखि ८ सम्मका किसानले सिँचाइ सुविधा पाएका छन् । ‘ब्यारेजबाट निस्किएका २ नहर प्रत्येकमा ३ सय ५० क्युसेक पानी छोडिएको छ,’ उनले भने, ‘पश्चिमतर्फ गएको एउटा नहरबाट गण्डक नहर दक्षिण तर्फका किसानको खेत सिञ्चित भएको छ, पूर्वतर्फको अर्को नहरबाट दक्षिणतर्फका किसानको खेत सिञ्चित भएको छ ।’ तिलाबे ब्यारेजसहित गण्डकसमेत हाल कुल ३ नहरबाट करिब १३ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको साहले दाबी गरे ।


हिउँदमा तिलाबेबाट गण्डकमा पानी झार्दा नहरको ९ नम्बर ब्लकसम्मका किसानले गहुँबालीमा सिँचाइ सुविधा पाउने गरेका छन् । पर्साको मध्यदेखि बाराको बरियापुर क्षेत्रसम्मका किसान लाभान्वित हुन्छन् । वर्षामा भने धानबालीका लागि पर्याप्त पानी चाहिने भएकाले ८ नम्बर ब्लक मटिअर्वा/वसन्तपुर क्षेत्रसम्मका किसानले सुविधा पाउने साहले जानकारी दिए । ‘यस वर्ष पनि ९ नम्बर ब्लकसम्मै पानी पुर्‍याउने हाम्रो लक्ष्य छ, तिलाबे ब्यारेजबाट जति बेला चाहियो, पानी लिन सक्छौं,’ उनले भने, ‘हाल पनि पर्साका किसानबाट माग आएकाले निरन्तर पानी दिइरहेका छौं ।’


तिलाबेमा सन् १९७० तिर भारतले नै ब्यारेज निर्माण गरिदिएको थियो । गण्डक नहरअघि नै उक्त खोलामा ब्यारेज बनाई दुईवटा नहर निकालिएको हो । गण्डक निर्माणपछि तिलाबेबाट निस्किएका दुईमध्ये एउटा नहरको पानी गण्डकमा झार्ने गरी संरचना बनाइएको छ । सन् १९८० को बाढीमा ब्यारेजको केही संरचनामा ठूलो क्षति पुगेपछि चीन सरकारले पुनर्निर्माण गरिदिएको साह बताउँछन् ।


यस वर्ष रबी बाली सिजनका लागि भारतले पानी नदिने पूर्वसूचना दिइसकेकाले तिलाबेको पानीले ठूलो भरथेग गरेको साह बताउँछन् । बाराको जमुनी खोलामा पनि ब्यारेज निर्माणको काम अन्तिम चरणमा छ । उक्त ब्यारेजबाट पनि गण्डकमा पानी झार्ने योजना छ । त्यसपछि बाराको पूर्वी र रौतहटको पश्चिमी भेगसम्म गण्डक नरहमा पर्याप्त पानी उपलब्ध हुनेछ । पर्साको पश्चिमी भेगस्थित सिक्टा खोलामा पनि यस्तै ब्यारेज बनाउने प्रस्ताव कार्यालयले विभागमा गरेको साह बताउँछन् । ‘प्रस्ताव स्वीकृतिको प्रक्रियामा छ,’ उनले भने, ‘उक्त ब्यारेज पनि निर्माण भए गण्डक नहरमा पानीका लागि भारतमाथिको निर्भरता अन्त्य हुनेछ ।’


भारतीय पक्षले यस वर्ष भारतीय भूभागमा नहर मर्मत गरिने पत्र पठाउँदै पानी दिन असमर्थता जनाएको थियो । भारतीय भूमिमा गण्डक नहरको १०६ दशमलव ४५ आरडीमा ‘क्रस ड्रेनेज’ निर्माण गर्न लागिएको पत्रमा उल्लेख छ । दुई देशबीचको सम्झौता अनुसार भारतले गहुँ बालीका लागि बर्सेनि डिसेम्बर २५ देखि मार्च २५ सम्म नहरमा पानी छोड्ने गरेको थियो । यो नहर नेपालमा पर्साको जानकीटोलाबाट प्रवेश गरेर रौतहटको बागमतीमा झर्दा ८१ किमि यात्रा तय गर्छ ।

प्रकाशित : पुस २३, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?