नारायणगढ-बुटवल सडक विस्तारले लिएन गति

नवीन पौडेल

परासी — सम्झौता भएको एक वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाको काम सुस्त छ । उक्त खण्ड विस्तारका लागि गत चैत ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेका थिए ।

नारायणगढ-बुटवल सडक विस्तारले लिएन गति

त्यसपछि कामले तीव्रता पाउने विश्वास थियो । नौ महिना बितिसक्दासमेत कामले गति पाएको छैन । सडक दायाँबायाँ सफा गर्नेबाहेक काम भएको छैन ।

सडकखण्डका विभिन्न स्थानमा डोजर चलाइएको छ । कामदारले खाडल पुरेका छन् । कटान गर्नुपर्ने रुखको गणनाबाहेक काम भएको छैन । रुख कटान र बिजुलीका पोल सार्नु नपर्ने स्थानमा मात्र अहिले काम भइरहेको सडकको पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनियर शिव खनालले बताए । ‘काम रोकिएको होइन, जारी छ,’ उनले भने, ‘वन्यजन्तु वारपार गराउन र पानी निकासका लागि कल्भर्ट निर्माणको काम भइरहेको छ ।’


जंगलमा रुख कटान नहुनु र सहरी क्षेत्रमा खानेपानीको पाइप सार्नुपर्ने भएकाले कामलाई तीव्र पार्न नसकिएको उनको भनाइ छ । यस खण्डमा करिब पाँच हजार बिजुलीका पोल छन्, जुन तत्काल सार्न आवश्यक छ । पूर्वी खण्डमा २ हजार ४ सय ८५ पोल र पश्चिम खण्डमा २ हजार ३ सय ५४ पोल सार्नुपर्ने खनालले जानकारी दिए । यसका लागि ७० करोड रुपैयाँ खर्च हुने आयोजनाको अनुमान छ ।


सडक विस्तारका लागि सबैभन्दा पहिले रुख कटान गर्न जरुरी छ । अहिले पूर्वी नवलपरासीको कावासोती र बेल्डियामा वन्यजन्तु वारपारका लागि कल्भर्ट निर्माण भइरहेको सडकको पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले जानकारी दिए । ‘काम भइरहेको छ । रुख र बिजुलीका पोल बाधक भएपछि कामले तीव्रता पाउन नसकेको हो,’ उनले भने, ‘केन्द्रमार्फत बारम्बार सम्बन्धित विभागलाई रुख कटान गर्न र पोल सार्न भनेका छौं ।’


१ सय १३ किमि लामो सडकखण्ड विस्तार गर्न लागिएको हो । यो सडक सहरी क्षेत्रमा ६, जंगलमा ४ र दाउन्ने खण्डमा तीन लेनमा विस्तार हुनेछ । सडक निर्माण ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीले पाएको छ । सुरुवाती चरणमा वातावरणीय प्रभाव मूल्यांकनमा ९ हजार रुख काट्नुपर्ने देखिएको थियो । काम सुरु गर्ने बेला ५० हजार रुख कटान गर्नुपर्ने देखिएपछि काममा ढिलाइ भएको हो । थप रुख कटानका लागि वन तथा वातावरण मन्त्रालयले गत कात्तिक १९ मा स्वीकृति दिएको थियो । अहिलेसम्म रुख कटान थालिएको छैन ।


चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोटबाट कावासोती र बर्दघाटबाट बुटवल खण्डका विभिन्न स्थानमा सफाइ गर्ने काम मात्र गरिरहेको छ । एक वर्षअघि पुसमै निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाका लागि यसअघि क्रसर र प्याचिङ प्लान्ट स्थापना गरेर काम अगाडि बढाउने तयारी थियो । विभिन्न अवरोधले तीव्रता पाउन नसकेको हो । सडकको केन्द्रविन्दुबाट दायाँ ३१ र बायाँ ३१ मिटर जग्गा सडकमा उपयोग हुनेछ । यो सडक विभागअन्तर्गतको जग्गा हो । सडकखण्डमा मुआब्जाको समस्या छैन । तैपनि काम सुस्त भएपछि समयमै आयोजना पूरा हुनेमा स्थानीय ढुक्क छैनन् ।


‘सर्भे भएका स्थानमा परेका निजी संरचना हामी आफैंले भत्काएर सघाएका छौं,’ सुनवलका प्रदीप थापाले भने, ‘रुखमा टाँचा मारेको पनि महिनौं भइसक्यो । न त रुख काटिएको छ, न बिजुलीको पोल सारिएको छ । समयमै सडक बन्नेमा शंका छ ।’ सडक निर्माणका लागि सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सहुलियतपूर्ण ऋण लिएको छ । १६ अर्ब ९९ करोड रुपैयाँ लागतको सडकका लागि सरकारले एडीबीबाट ८५ प्रतिशत रकम ऋण लिएको हो । सडकको मापदण्ड चार लेनको भए पनि स्थान हेरेर ६ लेन र तीन लेनको हुनेछ ।


सडकखण्डमा खानेपानीका पाइप पनि समस्याका रूपमा देखिएका छन् । ठेकेदार कम्पनी र आयोजना पक्षले नै पाइप सार्ने र आवश्यक खर्च बेहोर्नुपर्ने अडानमा प्रभावित क्षेत्रका खानेपानी उपभोक्ता समिति छन् । सडकबाट वारपार हुने मुख्य पाइपमा क्षति पुग्ने हुँदा कम्तीमा पनि १५ दिनदेखि एक महिनासम्म खानेपानी वितरणमा समस्या आउनेछ । आयोजनाका तर्फबाट सडक विस्तारका क्रममा हटाउनुपर्ने खानेपानीका पाइप सर्भेको काम सकिएको छ ।


सडकको दायाँबायाँ केन्द्र बिन्दुबाट पाइप लाइन कति मिटर दूरीमा छन् भन्नेबारे सर्भे भएको हो । सबैभन्दा नजिक गैंडाकोट क्षेत्रमा केन्द्रबिन्दुबाट सात मिटरको दूरीमा पाइपलाइन रहेको पाइएको छ । सडक विस्तार गर्दा १९ वटा खानेपानी आयोजना प्रभावित हुने कावासोती साना सहरी तथा सरसफाइ समितिका अध्यक्ष भीमलाल कँडेलले बताए ।

प्रकाशित : पुस २१, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?