कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

लुम्बिनीमा ‘आधा विश्व’

गत वर्ष ११५ मुलुकका पर्यटक 
इरान, इराक, सिरिया, उरुग्वे, ताजकिस्तान, क्युबा, दक्षिण अफ्रिका र बुर्किनाफासोका पर्यटक पनि आए
मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै आकर्षणमा छ । विभिन्न मुलुकबाट यहाँ बर्सेनि घुम्न आउने पर्यटकको संख्या बढ्दो छ । सन् २०१९ मा लुम्बिनी अवलोकनका लागि ‘आधा विश्व’ बाट पर्यटक र श्रद्धालु आएको तथ्यांकले देखाएको छ ।

लुम्बिनीमा ‘आधा विश्व’

सन् २०१९ मा यहाँ ११५ मुलुकबाट पर्यटक आएको लुम्बिनी विकास कोषको तथ्यांक छ । त्यसका अतिरिक्त आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । मुलुकको सहज अवस्था र लुम्बिनीमा राष्ट्रिय/अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना बढेकाले पर्यटक, तीर्थयात्री, उपासक–उपासिका आउने क्रम बढेको कोषले जनायो । संघीय र प्रदेश सरकारले पर्यटन प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सन् २०१९ मा यहाँ १ लाख ७४ हजार १५ जना विदेशी पर्यटक आएको कोषको भनाइ छ । त्यसमा चिलीका १०१ पर्यटक छन् । उक्त अवधिमा चीनबाट २१ हजार २ सय ६९ पर्यटक आएका थिए । लुम्बिनीमा धेरै पर्यटक आउने मुलुकमध्ये चीन चौथो स्थानमा छ । सन् २०१८ मा १०८ मुलुकबाट यहाँ पर्यटक आएका थिए ।

यस अवधिमा मुलुकमा बन्द हडतालमा कमी आयो । राजनीतिक स्थिरता छ । ‘मुलुकमा शान्ति भयो । अन्य बौद्ध मुलुकमा पनि राम्रो अवस्था रह्यो,’ कोषका सूचना अधिकृत हरिध्वज राईले भने, ‘त्यसैले पर्यटक बढे ।’ यहाँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्राथमिकता दिएकाले त्यसको प्रभाव देखिएको उनले बताए । ‘लुम्बिनीका कार्यक्रममा सरकार र राष्ट्र प्रमुख सहभागी हुनुभयो,’ राईले भने, ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय सभासम्मेलन आयोजना भए, त्यसको प्रभाव पनि पर्‍यो ।’

मायादेवी मन्दिरमा पूजा गरेर फर्कदै श्रीलंकाली पर्यटक

लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय त्रिपिटक पाठ र भद्राचर्या उत्सवले बौद्धमार्गी र अध्येताको ध्यान तानेको उनको भनाइ छ । त्यस बेला २३ मुलुकका बौद्ध धर्मावलम्बीले तीन दिन त्रिपिटक पाठ गरेका थिए । त्यस्तै १० मुलुकका लामा, गुरु र रिम्पोछे भद्रचर्या उत्सवमा सहभागी थिए । यसले धार्मिक र शान्ति पर्यटनका लागि लुम्बिनीलाई चिनाउने काम गरेको भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए ।

लुम्बिनीलाई अहिले मनोरम र हरियाली बनाइँदै छ । प्रचार पनि बढेको छ । ‘लुम्बिनीका सबै क्षेत्र घुम्यौं,’ चीनबाट आएका ली फङले भने, ‘छुट्टै ऊर्जा प्राप्त भयो ।’ यहाँको वातावरण धार्मिक बन्दै गएकाले लुम्बिनी आउने चिनियाँ बढिरहेको उनको भनाइ छ । यहाँ धेरै पर्यटक आए पनि नटिक्ने समस्या छ । पर्यटकमा कमी नभएपछि उनीहरूको बसाइ कसरी लम्ब्याउने भन्ने चिन्ता रहेको पयर्टन व्यवसायी विष्णु बस्नेतले बताए ।


‘नेपालीले पनि घुम्न रुचि राख्न थालेकाले राम्रो सन्देश गएको छ,’ उनले भने, ‘अक्टोबरदेखि मार्चसम्म पर्यटक आउने मौसम हो ।’ उक्त अवधिमा बसाइ लम्ब्याउने योजना बनाउन जरुरी रहेको लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले बताए ।


सन् २०१९ मा सबैभन्दा बढी श्रीलंकाबाट ४७ हजार ५ सय ७ पर्यटक आएका थिए । त्यसपछि म्यानमारका ३० हजार ७ सय ८१ जनाले लुम्बिनी भ्रमण गरे । थाइल्यान्डबाट २८ हजार ३ सय ६४ र भियतनामबाट ८ हजार ३ सय ४५ पर्यटक आएका छन् ।


यहाँ इरान, इराक र सिरिया, उरुग्वे, ताजकिस्तान, क्युवा र दक्षिण अफ्रिका, पपुवा न्युगिनी, लेबनान, क्यारुन र बुर्किनाफासोका पर्यटक पनि आएका थिए । सन् २०१८ मा १ लाख ६९ हजार १ सय ८० विदेशीले लुम्बिनी अवलोकन गरेका थिए । सन् २०१७ मा १ लाख ४५ हजार ८ सय १४ विदेशी आएका थिए ।

प्रकाशित : पुस २१, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?