२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

साढे ८ अर्बको खजुर र भटमास तेल निर्यात

शंकर आचार्य

पर्सा — वीरगन्ज आईसीपीबाट गत वर्षसम्म जुस, जाम र स्पोर्ट्स सुज सर्वाधिक निकासी हुने गरेको थियो । चालु आवमा भने खजुर र भटमासको तेल बढी निकासी भएको छ । 

साढे ८ अर्बको खजुर र भटमास तेल निर्यात

यस वर्ष मंसिर मसान्तसम्म ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको खजुर र भटमासको तेल भारत निकासी भएको भन्सार कार्यालयले जानकारी दिएको छ । गत आवको मंसिर अन्त्यसम्मको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट खजुरको प्रशोधित तेल निकासी ५ र भटमासको प्रशोधित तेल निकासी झन्डै ७५ गुना बढेको छ । गत आवको सोही अवधिमा यो नाका भएर २ अर्ब २ करोड रुपैयाँबराबरको १ करोड ७३ लाख लिटर खजुरको प्रशोधित तेल निकासी भएको थियो । चालु आवमा अहिलेसम्म ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको ६ करोड ५४ लाख ३९ हजार किलो तेल निकासी भएको छ ।


गत आवको मंसिरसम्म यो नाका हुँदै २ करोड ७७ लाख रुपैयाँ बराबरको २ लाख ५ हजार ४१ किलो भटमासको प्रशोधित तेल निकासी भएको थियो । चालु आवको मंसिर मसान्तसम्ममा यो नाका हुँदै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख किलो भटमासको तेल निकासी भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहले बताए । स्वदेशी उत्पादन निकासी प्रोत्साहन गर्न यी वस्तुको निर्यातमा शून्य भन्सार शुल्क लाग्ने गरेको उनले जनाए । गत आवदेखि भारततर्फ यी तेलको निकासी सुरु भएको हो ।


ब्राजिल, अर्जेन्टिना, युक्रेन, इन्डानेसियालगायत मुलुकबाट खजुरको कच्चा तेल आयात गरेर प्रशोधन गरी नेपालमा खाने तेल उत्पादन गरिन्छ । नेपालमै खपतका लागि यसको आयात गर्दा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । तर, भारत निकासी प्रयोजनका लागि आयात गर्दा भने बैंक ग्यारेन्टीमा आयातको सुविधा छ । यसमा भन्सार शुल्क लाग्दैन ।

प्रकाशित : पुस २१, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?