जसले किवी देशभर फैलाए

कुम्भराज राई

(फाप्लु, सोलुखुम्बु) — जागिरबाट अवकाश पाउन दुई महिना मात्र बाँकी छ । धेरैलाई अवकाश हुने बेला कार्यालयको कामप्रति उति जाँगर चल्दैन । बागबानी केन्द्र फाप्लु सोलुका प्रमुख चन्द्रमान श्रेष्ठमा भने अवकाशको छनक देखिन्न ।

जसले किवी देशभर फैलाए

बिहान उठेदेखि बागबानी केन्द्रका बोटबिरुवा र किवीका बेर्ना स्याहार्ने हतारोमा हुन्छन् । पुसको ठन्डीमा सिँचाइका लागि जम्मा गरिएको पोखरीको पानी १० बजेसम्म पग्लिँदैन । तर चन्द्रमान मिर्मिरेसँगै बगानमा निस्किन्छन् ।

२५ वर्षको जागिरे अवधिमा १५ वर्ष देशका विभिन्न बागबानी केन्द्रमा फलफूल स्याहार्दै बिताए । पछिल्लो १० वर्ष उनी किवी खेती प्रवर्द्धनमा छन् । उनको पहलमा सुरु भएको किवी खेती दशकमै देशका ४० जिल्लामा फैलिसकेको छ ।


चन्द्रमानले कुनै बेला आफू किवी फलको विशेषज्ञ हुन्छु भनेर सोचेका थिएनन् । सन् २००६ मा युरोपमा आयोजित एक तालिममा सहभागी हुने अवसरले उनको जीवनलाई त्यतातिर डोर्‍याइदियो । तालिममा उनलाई विभिन्न किसिमका फलफूल दिइन्थ्यो । नेपाली कर्मचारीको रोजाइमा स्याउ, सुन्तलाभन्दा अरू खासै थिएनन् । तर विदेशीहरूले हरियो दाना भएको फल टिपेर खाएको चन्द्रमानले देखे । त्यो फल उनले देखेका थिएनन् । सोधखोज गरे । किवी रहेछ । एक दाना टिपेर चाखे । स्वाद जिब्रोदेखि सरर आँत भरिँदै पेटसम्म पुग्यो ।


‘अहो यस्तो मीठो फल कहाँ फल्ने रहेछ । नेपालमा पनि फलाउन पाए हुन्थ्यो भन्ने लाग्यो,’ चन्द्रमानले भने, ‘फर्किएपछि मात्र थाहा भयो । यो नेपालको पहाडी भूगोलमा जति पनि फलाउन सकिने रहेछ ।’ नेपालमा किवी फल भित्र्याउने अन्तर्राष्ट्रिय संस्था इसिमोड हो । इसिमोडले भारतबाट यसको बिरुवा ल्याएर गोदावरीमा रोपेको थियो । केही किसानलाई वितरण गरेको थियो । इसिमोडबाटै प्राप्त बेर्ना ०६४ सालतिर इलामका केही किसानले लगाएको चन्द्रमानले सुनेका थिए ।


०६६ सालमा चन्द्रमानको सरुवा दोलखाको बागबानी केन्द्र प्रमुखका रूपमा भयो । उनले चरिकोटस्थित श्याम खड्काको घरमा किवी लटरम्म फलेको देखे । स्विस परियोजनामा काम गर्ने एक इन्जिनियर जेएफ मेस्सीले त्यो बोट खड्काको घरमा रोपेका रहेछन् ।


उनी किवीको बिरुवा रोपेर आफ्नो देश फर्किहाले । श्यामले त्यो बोटको नाम के हो र फल खान मिल्छ कि मिल्दैन भन्नेसमेत थाहा पाएनन् । चन्द्रमानले यो बोट देखेपछि आफूले युरोपमा खाएको किवी फल यही हो भनेर सम्झिए । उनले यो खान मिल्ने फल भनेर बताए ।


चरिकोटको उचाइमा किवी फलेको देखेपछि उनलाई यसको खेती अध्ययन गर्ने हुटहुटी जाग्यो । र त्रिभुवन विश्वविद्यालयमा किवी फलको खेतीसम्बन्धी विषयमा स्नातकोत्तरका लागि शोधपत्रको प्रस्ताव गरे । त्रिविले तुरुन्तै सहमति जनायो । त्यसपछि उनी किवीबारे अध्ययन गर्न भारतको कुल्लु मनालीसम्म पुगे । भारतको सोलानस्थित कृषि विश्वविद्यालयमा उनले महिनौं अध्ययन गरे । भर्खरै किवी फल्न थालेको इलाम र अन्य भूगागको स्थलगत अध्ययन गरे । सोलान विश्वविद्यालयका प्राध्यापकले नेपालमा किवीको अधिक सम्भावना भएको भन्दै प्रोत्साहन गरे ।


श्रेष्ठको शोधपत्रले पूर्णता पायो । त्यसपछि दोलखामा उनले किवीका बेर्ना उत्पादन र खेतीसम्बन्धी तालिम आयोजना गरे । सुरुमा रामेछाप, धनकुटा, इलामका किसान तालिममा सहभागी भए । रोपेको तीन वर्षपछि किवी फल्न थाल्यो । नेपालमा उत्पादन हुन थालेको किवीले सुरुसुरुमा प्रतिकिलो १ हजार ५ सयसम्म मूल्य पायो । धेरै नेपालीले किवी कस्तो फल हो भनेरै चिनेका थिएनन् । खेतीसँगै किवीको गुण र यसमा पाइने पौष्टिक तत्त्वबारे उनले किसानकै माध्यमबाट प्रचार थाले । दुई वर्षअघिको कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ५५१ हेक्टरमा किवीको खेती गरिएको छ । वार्षिक एक लाखभन्दा बढी बेर्ना बिक्री भएअनुसार हालसम्म १ हजार ६ सय हेक्टरभन्दा बढीमा विस्तार भइसकेको अनुमान छ ।


श्रेष्ठ चार वर्षदेखि बागबानी केन्द्र फाप्लुका प्रमुख छन् । उनले आएर रोपेको एउटै किवीको बोटले यस वर्ष अधिकत ११७ किलोसम्म उत्पादन दिएको छ । बेर्ना उत्पादनका लागि स्रोत केन्द्र बनाउने उनको उद्देश्य छ । यस वर्ष उनले दुई हजार हाराहारीमा बेर्ना उत्पादन गरे । अर्को वर्ष २० हजार उत्पादन गर्ने उनको तयारी छ । ‘किवीका बेर्नाको माग यति धेरै छ कि यस वर्ष मात्र किसानले ३० हजार बोट मागेका छन् । हामीसँग दुई हजारभन्दा बढी छैनन्,’ श्रेष्ठले भने ।


पहाडी भूगाग अर्थात् समुद्री सतहदेखि १ हजार ३ सयदेखि २ हजार ४ सय मिटर उचाइ किवी खेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ । कोल्डस्टोर निर्माण गरेर भण्डारण गर्न सके किवी ६ महिनासम्म बिग्रिँदैन । विदेशी बजारमा यसको माग अत्यधिक भएकाले नेपालमा उत्पादन बढाउन सके निर्यातको सम्भावना उत्तिकै छ । अहिले सरकारी बागबानी केन्द्र कीर्तिपुर, दोलखा, फाप्लु र दामनमा किवीका बेर्ना उत्पादन गरिँदै आएको छ । केही किसानले निजी फार्ममा बेर्ना उत्पादन गरी त्यसको बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । एक दशकअघि नेपालमा किवीको सम्भावना छ भनेर सरकारलाई बजेट विनियोजन गर्न लगाउँदा उनले मुखेन्जी जवाफ पाउँथे, ‘नेपालमा किवी खेतीको आकर्षण छैन, यो सम्भव हुँदैन ।’

प्रकाशित : पुस २०, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?