धान भए जे पनि किन्न सजिलो

ठाकुरसिंह थारू

(बर्दिया) — पैसाको कारोबारले समाजबाट वस्तु विनिमयको चलनलाई विस्थापित गर्दै लगेको छ । पश्चिम तराईका किसान थारू समुदायमा भने अझै पनि वस्तु विनियमको चलन हटिसकेको छैन । सामान खरिद गरेबापत पैसाको अनुपात मूल्यांकन गरेर बदलामा धान दिन्छन् । तरकारी किन्यो, धान बुझायो ।

किराना सामान किन्यो, धान नै बुझायो । सामान किन्दा धान हुनेलाई विनिमय सजिलो छ । यो बेला थारू समुदायका लागि धान नगद नोट जत्तिकै छ ।


बालबालिकाले खानेकुरा किन्न माग्दा धानको रास देखाइन्छ । बालबालिका पोकामा धान बोकेर पसल कुद्छन् । कृषिमा निर्भर समुदायले विनिमयको आधार धान बनाएको छ । यसअघि महजनी प्रथा थियो । उनीहरूले आवश्यक परेका बेला पैसा दिने र साँवाब्याजबापत धान असुली गर्थे । ‘बैंक नभएको जमानामा जमिन्दारबाट ऋण लिने चलन थियो । जमिन्दारले चाहेको भाउमा धान किन्थे,’ बाँसगढी–६ का सुन्दर चौधरीले भने, ‘महाजनी प्रथा हट्यो । तर अझै पनि तरकारी किन्दा, पसलबाट सामान किन्दा धान लिएरै जाने चलन छ ।’ थोरै जग्गामा खेती गर्ने, अर्काको खेतीमा अधियाँ–बटिया लगाउने र ज्यालामजदुरी गर्ने परिवारमा यस्तो चलन रहेको उनले बताए ।


यतिसम्म कि युवाहरू धान लिएर बजार (गल्ला) मा बेचेर फिल्म हेर्न जान्छन् । तिहाइ र अधियाँमा खेती गर्दा काउली, आलु र खुर्सानी किन्ने परम्परा पुरानो नै हो । कसैलाई पारिश्रमिक दिनुपर्‍यो भने पनि धान दिने चलन छ ।


नजिकैको पसलमा दैनिक उपभोग्य वस्तु खरिद गरेपछि धानै बुझाउने गरिन्छ । यतिबेला थारू गाउँहरूमा चौकीदार र गुरुबालगायतलाई पारिश्रमिक दिन धान जम्मा भइरहेको छ । बर्सेनि गाउँभरिका किसानले प्रतिघर २०/२५ किलो धान उठाउँछन् । चौकीदार, गुरुवा र लोहारलाई श्रमअनुसारको पारिश्रमिक दिने गरिएको हो । थारू देउथनवाको पूजा गर्ने चिरकिया र ढाक बजाउने ढक्हेरलाई धानै पारिश्रमिक दिने गरिएको छ । यो सिजनमा धान अधिक हुने भएकाले उनीहरूले दिन इन्कार गर्दैनन् । धान दिँदा मूल्य पनि निर्धारण गरिँदैन । बडघरले यति किलो दिनुपर्छ भनी निर्णय गर्छन् । गाउँको पसलमा एक/दुई किलो धान बिक्री गर्दा राम्रो मूल्य पाउँदैनन् ।


‘यो पुर्खौंदेखि चल्दै आएको चलन हो । गाउँमा बैंक नहुँदा कारोबार धानबाटै गर्ने चलन हुन सक्छ । तर अहिले केही कम भएको छ,’ ठाकुरबाबा–५ का युवा राजकुमार चौधरी भन्छन्, ‘थारू समुदायका लागि धान एटीएम र चेकजस्तै हो । जे काम पर्दा पनि धान बेच्ने चलन छ ।’ धान एकमुष्ट बिक्री गर्दा बढी मूल्य पाउन सक्छन् । जम्मा गरेको पैसाले कारोबार गरे आर्थिक नोक्सानी बेहोर्नुपर्दैन । दिनमा तीन–चारपटक थोरथोरै धान बिक्री गर्न पसल पुग्दा ठगिनेहरू पनि छन् । दुई–चार किलो धान थोक खरिदकर्ताले नकिन्दा साना पसलले किन्छन् ।


नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक भुवनेश्वर लामिछाने मुद्रा नबन्दासम्म वस्तु विनिमयको चलन रहे पनि अहिले समाज पैसाकै कारोबारमा निर्भर भइसकेको बताउँछन् । ‘अरूले बाली बिक्री गरेर जम्मा गरेको पैसाले आवश्यकता पूरा गर्न थाले । तर थारू समुदायमा चेतनाको कमी रह्यो । बालीबाट कारोबार गर्दा ठगिएको बुझेनन् । अरूले पनि बुझाएनन्,’ उनले भने, ‘जसका कारण अझै पनि थारू किसान ठगिँदै आएका

छन् । कम मूल्यमा धान बिक्री गर्दा गरिबी छ ।’ आवश्यक परेका बेला धान दिने र पछि सकिएपछि महँगोमा किनेर खानुपर्दा गरिबी बढेको उनले बताए ।


थारू समुदायका बडघर (अगुवा) चन्द्र चौधरीले गुरुबा र चौकीदार राख्ने निर्णयसँगै पारिश्रमिक दिनका लागि धान कति दिने भनेर तय गर्ने बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका किसानले बढीजसो गाउँमा धान दिएर आवश्यकता पूरा गर्छन् । जसका कारण पर्याप्त भएको बेला धान बेच्ने र वर्षायाममा ऋण खोजेर फेरि किनेर खाने बाध्यता हुने गरेको छ । बर्दिया जिल्लाको जनसंख्यामा थारू मात्रै ५२ प्रतिशत छन् । जिल्लाका धेरैजस्तो ग्रामीण क्षेत्रमा वस्तु विनिमयको चलन छ । प्रकाशित : पुस २०, २०७६ ०९:४६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राप्तीमा घडियाल छाड्ने तयारी

निकुञ्ज क्षेत्रभित्र पर्ने नदी र खोलामा ५५ प्रजातिका माछा पाइन्छन् । तीमध्ये ५ प्रजातिका माछा दुर्लभको सूचीमा छन् ।
ठाकुरसिंह थारू

(बाँके) — बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोही छाड्ने तयारी गरेको छ । गोहीको बासस्थानका लागि राप्ती नदीको निकुञ्जअन्तर्गतका शिवखोला, सिक्टा र गाभर क्षेत्र पहिचान गरिएको छ । 

घडियाल मृत्युदर अधिक रहेको गोहीमध्येको दुर्लभ प्रजाति हो । खोलामा माछा मार्न विष प्रयोग गरिएका कारण घडियाल संकटमा छ । त्यसको संरक्षणका लागि बाँके निकुञ्जले चितवनको कसरास्थित प्रजनन केन्द्रबाट पहिलोपटक राप्तीमा ल्याएर छाड्ने तयारी गरेको हो । ‘घडियालका लागि आवश्यक पर्ने आहारा माछा राप्तीको शिवखोला क्षेत्रमा पर्याप्त छन् । त्यसैले त्यस क्षेत्रलाई उपयुक्त बासस्थान मानिएको हो,’ बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालमणि भण्डारीले भने, ‘अब निकुञ्ज क्षेत्रमा घडियाल गोही हेर्न सकिनेछ ।’ राप्तीमा मगर प्रजातिको गोही पाइन्छ । निकुञ्ज क्षेत्रभित्र पर्ने नदी र खोलामा ५५ प्रजातिका माछा पाइन्छन् । तीमध्ये ५ प्रजातिका माछा दुर्लभको सूचीमा छन् ।

घडियाल गोही सफा पानीमा बस्न मन पराउने र माछा खान्छ । माछा नपाइने र मानवीय गतिविधि बढी हुने स्थानमा बस्दैन । मगर गोही फोहोर पानीमा बस्न सक्ने र पशुचौपायाको मासु खाने भएकाले जस्तोसुकै स्थानमा पनि बस्न सक्छ । ‘नदीमा माछा मार्न विष प्रयोग गरिन्छ । जसका कारण माछा पाइँदैन । आहारा नभएपछि घडियाल संकटमा परेको हो,’ उनले भने, ‘बाँकेमा पहिलोपल्ट गोही छोड्न थालिएको हो । यसले संरक्षण पनि हुने र पर्यटकका लागि आकर्षक हुनसक्छ ।’

घडियाल गोहीको प्रजनन केन्द्र बर्दियाको ठाकुराद्वारा र चितवनको कसरामा छ । घडियाल गोही छोड्ने भनिएको क्षेत्रमा पशुचौपाया र मानवीय गतिविधि हुने गरेको छ । यसले संरक्षणमा केही समस्या हुने देखिएको छ ।

सिक्टा र गाभर क्षेत्रमा बस्ती विस्तार भइसकेकाले पनि गोही संरक्षणमा समस्या हुने शंका गरिएको छ । त्यसका लागि स्थानीयसँग सहकार्यको प्रयास गरिएको छ । गोही संरक्षणबारे स्थानीयलाई जानकारी गराइरहेको निकुञ्जले जनाएको छ । बाघ संरक्षणका लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्ज घडियाल गोहीका रूपमा पनि परिचित हुने विश्वास छ ।

प्रकाशित : मंसिर २१, २०७६ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×