कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चुलिँदै महँगी, उद्योग र होलसेल व्यवसायीले आफूखुसी उपभोग्य वस्तुको मूल्य बढाए

राजु चौधरी

काठमाडौँ — - अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीहरुले फलामे डन्डीको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढाए ।

चुलिँदै महँगी, उद्योग र होलसेल व्यवसायीले आफूखुसी उपभोग्य वस्तुको मूल्य बढाए

- ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै प्रतिकिलो २५० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासु ३ सय १० रुपैयाँ पुग्यो । नेपाल अन्डा उत्पादक संघले पनि अन्डाको मूल्य बढाएर प्रतिक्रेट १५ रुपैयाँ पुर्‍यायो । संघले मागअनुसार आपूर्ति नभएको जनाउँदै मूल्य बढाएको छ ।


- मूल्य बढ्नुपर्ने कुनै कारण नभए पनि एक सातायता खाद्यान्नको मूल्य पनि बढेको छ । व्यवसायीका अनुसार खाने तेल, दाल, खुर्सानीलगायत अत्यावश्यक वस्तुको मूल्य प्रतिलिटर/किलोमा १० रुपैयाँसम्म बढेको छ ।

यी केही उदाहरण मात्रै हुन् । अन्य वस्तुको मूल्य पनि बढिरहेको छ । नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार हस्तक्षेपमा चासो दिएको छैन । मूल्य बढेको सन्दर्भमा विभागलाई जानकारी गराउन खोज्दा महानिर्देशकले समय नदिएको व्यवसायीको गुनासो छ ।


‘दाल र तेलमा मूल्य बढ्नुपर्ने कारण छैन । आपूर्तिमा पनि समस्या छैन । तर उद्योग र होलसेल व्यवसायीले आफूखसी मूल्य बढाएका छन्,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘मूल्य बढेकोबारे आपूर्ति विभागलाई जानकारी गराउन खोज्दा महानिर्देशकले समय नै दिनुभएन ।’ विभागका महानिर्देशक नेत्र सुवेदी छन् । सुवेदीले भने भेटघाटका लागि बन्देज नगरेको दाबी गरे । ‘सहयोग गर्ने व्यवसायी भए त धेरै सजिलो हुन्थ्यो,’ उनले भने, ‘कसैलाई पनि भेट्न रोकेका छैनौं ।’ मूल्य वृद्धि नियन्त्रणका सन्दर्भमा महानिर्देशकले नै पहल लिनुपर्ने जानकारहरू बताउँछन् । तर महनिर्देशक जिल्लाजिल्ला घुम्नमै रमाइरहेको कर्मचारीहरूको गुनासो छ । ‘मूल्यमा कार्टेलिङ भइरहेको छ । अनुगमन र नियन्त्रण गर्न किन चासो नदिइएको हो, थाहा भएन,’ विभागका एक अधिकारीले भने, ‘अनुगमन गर्नुपर्‍यो भन्नुहुन्छ तर कुन क्षेत्रमा गर्ने स्पष्ट निर्देशन छैन ।’


ती अधिकारीका अनुसार अन्डा र कुखुरा व्यवसायीले मूल्य वृद्धि गरिरहँदा महानिर्देशक उपभोक्ता सचेतनाको नाममा बर्दिया, राजापुर, सुर्खेत, दैलेख, नेपालगन्ज, तनहुँ हुँदै स्याङ्जाका कार्यक्रममा थिए । गोष्ठी र सचेतनाले उपभोक्ता र व्यवसायीलाई कुनै प्रभाव नपर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । ‘व्यवसायीले आफूहरूलाई कसैले कारबाही गर्दैन भन्ने बुझिसके । विभागले पनि जरिवानालाई मात्रै उपलब्धि ठानेको छ,’ उनले भने, ‘७/८ वर्षअघि प्रभावकारी थियो । हरेक क्रियाकलापमा पारदर्शी हुन्थ्यो । अहिले अनुगमन पनि शंकाको घेरामा छ ।’ सचेतना गोष्ठीका नाममा घुमेर होइन, बजार मूल्य पनि विश्लेषण गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।


एक साताको अवधिमा मासको दालमा प्रतिकिलो २० रुपैयाँ बढेर १६० रुपैयाँ पुगेको संघले बताएको छ । प्रतिकिलो मुङमा २० रुपैयाँ बढेर १८०, रहरमा १० रुपैयाँ बढेर १५० र मुसुरोमा १० रुपैयाँ बढेर १ सय रुपैयाँ पुगेको छ । आटा मौदामा किलोमा ५ रुपैयाँ मूल्य वृद्धि भएको छ । खाने तेलको मूल्यमा पनि प्रतिलिटर १० रुपैयाँ बढेको छ ।


‘आयातकर्ताले होलसेलमै मूल्य बढेको बताउँदै आएका छन्,’ संघका अध्यक्ष श्रेष्ठले भने, ‘होलसेल व्यवसायीले भने मिलले बढाएको दाबी गर्छन् । सरकारले अनुगमन गरे पनि खुद्राबाहेक ठूलालाई गर्दैन । यसले खुद्रा व्यापारीलाई गाह्रो भएको छ ।’ सरकारी अनुगमन देखाउनका लागि मात्र हुने गरेको उनको भनाइ छ ।


खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि खाने तेलमा प्रतिबाकस १ सय रुपैयाँ बढेको जानकारी दिए । ‘१ हजार ३ सय ५० रुपैयाँ पर्ने बाकस १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ,’ उनले भने । एक बाकसमा कम्पनीअनुसार १० देखि १२ प्याकेट तेल हुन्छ । कच्चा पदार्थमा मूल्य वृद्धि हुँदा मिल सञ्चालकले मूल्य बढाएको उनले बताए । कच्चा पदार्थ मलेसिया र सिंगापुरबाट आयात हुन्छ ।


मूल्य माथिल्लो तह (उद्योगी) ले नै बढाएको नेपाल वितरक संघका अध्यक्ष दुर्गाराज श्रेष्ठको दाबी छ । ‘प्यान भ्याटको समस्याले कच्चा पदार्थ आयातमा कमी आएको थियो । सीमित व्यक्तिसँग मात्रै कच्चा पदार्थ थियो,’ उनले भने, ‘अहिले माग बढ्यो । त्यसको सदुपयोग भएको छ । मूल्य बढ्नुपर्ने अरू कारण छैन ।’ व्यवसायीका अनुसार नेपालमा सबैभन्दा बढी तेल निम्बस र दुगडले बेच्छन् । व्यवसायी स्वयंले कारणबिनै मूल्य बढेको बताए पनि नियामक निकायले चासो दिएको छैन ।


अनुगमनका नाममा जागिर खाने मात्रै काम भइरहेको विभागका अधिकारीहरू बताउँछन् । ‘अनुगमन सुस्त छ । पारदर्शी पनि छैन,’ ती अधिकारीले भने, ‘अनुगमन गरेपछि फाइल थन्काउने काम मात्रै भएको छ ।’ मूल्य संकलन गरेर तुलना गरेपपछि मात्र व्यवसायीसँग छलफल गरिने विभागका महानिर्देशक सुवेदीको भनाइ छ । ‘मूल्य तुलना गरेर हेर्नुपर्छ । अहिले त्यत्तिकै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तथ्यांक आउनेबित्तिकै व्यवसायीसँग छलफलमा बस्छौं ।’ अनुगमनका लागि टोली खटाइएको उनले बताए ।

प्रकाशित : पुस २०, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?