कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पाइपलाइनबाट युरो ६ डिजेल

शंकर आचार्य

(पर्सा) — मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइपलाइनबाट नौ दिनयता भारतीय पक्षले डिजेल दिएको छैन । डिसेम्बर २६ यता शुक्रबारसम्म पाइपलाइनमा भारतले इन्धन पठाएको छैन । जनवरीदेखि युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेकाले भारतले पाइपलाइनबाट डिजेल नपठाएको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए । 

पाइपलाइनबाट युरो ६ डिजेल

‘हालसम्म युरो ४ मापदण्डको डिजेल आइरहेको थियो तर अब युरो ६ मापदण्डको डिजेल आउने भएकाले यसको प्रशोधनमा केही समय लागेको हो,’ उनले भने, ‘यो काम पनि पूरा भइसकेको छ, आईओसीले भारतको बरौनीस्थित आफ्नो प्लान्टबाट नेपालका लागि डिजेल शुक्रबार नै पठाइसकेको छ, त्यहाँबाट पटनासम्म आउन करिब १२ देखि १५ घण्टा लाग्छ, पटनाबाट नेपाल शनिबार बिहानसम्म डिजेल आउने सम्भावना छ ।’ बरौनीमा रिफाइनरी प्लान्ट मर्मतको काम पनि भएकाले केही समय लागेको उनले दाबी गरे ।


यादवले डिसेम्बर २९ देखि (६ दिनयता) पाइपलाइनबाट डिजेल नआएको बताए पनि एनओसी अमलेखगन्ज डिपो स्रोतले डिसेम्बर २६ देखि नै भारतबाट पाइपलाइनमा डिजेल नआएको दाबी गरेको छ । ‘डिसेम्बर २६ देखि नै भारतले पाइपलाइनबाट डिजेल पठाएको छैन,’ नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, ‘हाल नेपालबाट गएका ट्यांकरले बरौनीबाट डिजेल ल्याइरहेका छन् ।’


यादवले भने बरौनीबाट ट्यांकरमा डिजेल नआएको दाबी गरे । आईओसीको बरौनी प्लान्टमा प्राविधिक समस्या देखिएपछि त्यसको मर्मत भइरहेको छ । त्यसैले आईओसीले नेपालतर्फको पाइपलाइनमा डिजेल नपठाएको हो । तर आईओसीको रक्सौल डिपोमा भने बरौनीबाट रेलवे र्‍याकमा ढुवानी गरी डिजेल आइरहेको छ । त्यहाँबाट नेपालका लागि डिजेल दिनुपर्नेमा आईओसीले त्यसो नगर्दा करिब १५० किलोमिटर दूरीमा रहेको बरौनीबाट ट्यांकरमा नेपालसम्म डिजेल ल्याउनुपरेको छ ।


स्रोतका अनुसार २०१९ सेप्टेम्बर १० बाट मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट डिजेल आउन थालेको हो । सुरुवातमा भारतले सातामा पाँच दिन पाइपलाइनमा डिजेल छाडिरहेको थियो । पछिल्ला दिनमा साताको दुई दिन मात्र डिजेल दिइरहेको छ ।


‘पछिल्लो समय पाइप लाइनबाट प्रतिघण्टा २ सयदेखि २२० किलोलिटर डिजेल आउने गरेको थियो,’ स्रोतले भन्यो, ‘सामान्यतया तीन दिनसम्म पाइपलाइनमा इन्धन नआउँदा समस्या पर्दैन । तर त्यसपछि भने एनओसी अमलेखगन्ज डिपोमै डिजेलको मौज्दात सकिन्छ ।’ अमलेखगन्ज डिपोको क्षमता हाल २० हजार किलोलिटर मात्र छ । पाइप लाइनबाट डिजेल आउन थालेपछि भैरहवातर्फ पनि अमलेखगन्जबाटै ट्यांकरमा डिजेल ढुवानी गरी लैजाने गरिएको छ ।


गत वर्षको सेप्टेम्बर १० देखि डिसेम्बर अन्त्यसम्म नेपालतर्फ पाइपलाइनबाट १ लाख ७५ हजार ६ य ८ किलोलिटर डिजेल आएको छ ।

प्रकाशित : पुस १९, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?