१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उधारो उखु : ऋण पनि पाउन्नन् किसान

उद्योगीबाट भुक्तानीको समस्या झेलिरहेका किसानलाई उखु खेती निल्नु न ओकल्नु भएको छ 
ओमप्रकाश ठाकुर

(सर्लाही) — दिनभरजसो खेतमा गोडमेल र रेखदेखमै व्यस्त रहने किसान उखुको रकम भुक्तानी माग्न राजधानी पुगेपछि गाउँमा खेती चौपट भएको छ । उखुको रकम भुक्तानी माग गर्दै उद्योगमा तालाबन्दी र अनशन गरे पनि उनीहरूले अझै भुक्तानी पाएका छैनन् । उखुको भुक्तानी नपाउँदा घरव्यवहार चलाउनै समस्या भएपछि उनीहरू राजधानी हान्निएका हुन् । 

उधारो उखु : ऋण पनि पाउन्नन् किसान

किसानले उखुको भुक्तानी त पाएका छैनन् नै, सँगै आपत्विपद्मा गाउँका साहूमहाजनले ऋण पनि पत्याउन छाडेका छन् । उखु किसान भएकै कारण आफूहरूलाई साहूले ऋण नपत्याएको किसानको गुनासो छ ।


पाक्न लागेको उखु जंगली जनावरले नष्ट गर्न थालेको छ । गोडैता नगरपालिका–९ सिसौटियाका लक्ष्मी रायलाई खेतमा लगाएको बाली नाश हुने अवस्था आएकामा चिन्ता छ । छोरा भुक्तानीका लागि काठमाडौं गएपछि खेतीपातीको रेखदेख गरिदिने कोही छैन । जंगली जनावरले बाली खाइदेला कि भन्ने चिन्ता एकातिर छ, अर्कोतिर काठमाडौंको चिसोमा छोराको अवस्था कस्तो होला, उनले अनुमान मात्र गर्न सक्छन् । बुढ्यौली उमेर भएकाले खेतमा जान नसकेको र छोराको चिन्ता मात्र गरेर बसेको उनले बताए । केही वर्षअघि उखु नगदे बाली भएको भन्दै छोरालाई यसतर्फ लाग्न प्रेरित गरेका थिए । तर भुक्तानी हुने छाँट नभएपछि उनलाई उखु खेतीमा छोरालाई लगाएको पछुतो छ । ‘सिँचाइ नभएकाले अरू बाली सप्रिन समस्या भइरहेका बेला नगदे बाली भनेर उखु लगाउन हौस्याएँ तर उद्योगीले भुक्तानी नदिएर पूरै परिवार समस्या भोगिरहेका छौं,’ उनले भने, ‘छोरा भुक्तानीका लागि संघर्ष गर्न काठमाडौं गएका बेला यहाँ जंगली जनावरले खेतमा आतंक मच्चाएको छ ।’


आम्दानीको मुख्य स्रोत उखु नै भएकाले यसबाट आउने भुक्तानीबाट यहाँका स्थानीयले गुजारा गरिरहेका थिए । उद्योगीले भुक्तानी नदिएपछि उखु खेतीकै लागि लिएको ऋणको ब्याजसमेत तिर्न नसकिएको किसान बताउँछन् । ‘फाइदा होला भनेर उखु खेती गरेको,’ किसान संघर्ष समितिका संयोजक रामसोगारथ रायले भने, ‘पीडा मात्र थपियो । जिल्लामा भुक्तानीका लागि अनुरोध गर्दागर्दै थाकिसक्यौं ।’


उखु काट्ने बेला नगदमा बिक्री हुँदैन, उधारोमा चिनी मिललाई बेच्नुपर्छ । सरकारले उखुको मूल्य समयमै तोक्दैन । उद्योगीको पनि नियमन नहुने गरेकाले त्यसको प्रत्यक्ष असर किसानलाई पर्ने गरेको छ । चिनी मिलमा उखु क्रसिङ सुरु हुँदा किसान र उद्योगीबीचमा १५ दिनमा भुक्तानी दिइसक्ने सहमति गरिन्छ । तर अहिलेसम्म त्यो कार्यान्वयन भएको छैन । ‘उद्योगले आलटाल गर्दा हाम्रो बिचल्ली भइसक्यो,’ स्थानीय किसान अच्छेलाल साहले भने ।


रामनगर गाउँपालिका–५ का रामाकान्त रायले तीन वर्षअघि डेढ बिघामा उखु खेती लगाएका थिए । त्यहाँ उत्पादित ६ सय क्विन्टल उखु दुई वर्षअघि अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरे पनि अहिलेसम्म उनले भुक्तानी पाएका छैनन् । गतवर्ष बगदहस्थित महालक्ष्मीमा पनि तीन सय क्विन्टल उखु बिक्री गरे । त्यसको पनि भुक्तानी भएको छैन । यसले घरव्यवहार धान्न मुस्किल परेको छ नै, घरमा कोही बिरामी पर्दा झनै समस्या थपियो । श्रीमती बिरामी पर्दा उपचार खर्च दिन रायले आग्रह गरेका थिए । तर उनको माग सुनुवाइ भएन ।


विशेषगरी अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगमा उखु बेचेका किसानलाई आपत्विपदमा गाउँका साहुले पनि पत्याउन छाडेको किसानको गुनासो छ । ‘हामी उखु किसानलाई गाउँका साहुले समेत पत्याउन छाडे, बेला बखत ऋण लिन जाँदा उखु किसान भएकै कारणले पाइँदैन,’ रायले भने । तीनवटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यस वर्ष २६ हजार हेक्टर क्षेत्रफलमा ५० हजार किसानले उखु खेती गरेका छन् ।

प्रकाशित : पुस १८, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?