१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आन्दोलनरत किसान बिरामी पर्दै, आयोग सुन्दैन

राजु चौधरी

काठमाडौँ — उखुको भुक्तानी माग्दै रौतहट र सर्लाहीका किसान दुई सातादेखि राजधानीमा धर्नामा छन् । चिसो र वर्षालाई समेत बेवास्ता गर्दै उनीहरू आफूले कमाएको रकम माग्न संघर्षरत छन् । खानेबस्ने टुंगो छैन । चिसोकै कारण पाँच जना किसान बिरामी परिसके । तर किसानकै अधिकार सुनिश्चत गर्न सरकारी स्तरबाट स्थापित किसान आयोग यस विषयमा मौन छ । 

आन्दोलनरत किसान बिरामी पर्दै, आयोग सुन्दैन

किसानहरू भाकभोकै आन्दोलन गरिरहे पनि आयोगले चासो दिएको छैन । आयोगका अधिकारी वार्षिक कार्यक्रम र गोष्ठी गर्न वीरगन्जमा व्यस्त छन् । ‘किसानको हकहितका लागि किसान आयोग भन्ने संस्था छ भन्ने सुनेको छु,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘आन्दोलनरत किसान बिरामी पर्दा आयोगका पदाधिकारी भेट्नसमेत आएका छैनन् ।’


चिसोकै कारण रामविलास महतो, अमरेन्द्र यादव, रामपुकार राय, रामेश्वर महतो, रामदरेश यादव बिरामी परेको रायले जानकारी दिए । चिसोले आन्दोलनरत किसानको कम्मर र घुँडामा समस्या देखिन थालेको उनले बताए । ‘दिनभर आन्दोलन गरेपछि बेलुका खानाबस्नकै समस्या हुन्छ,’ उनले भने, ‘बिरामी किसानलाई जिल्ला पठाएका छौं ।’ पानी पर्दा पनि किसानले आन्दोलन रोकेका छैनन् ।


किसानको हकहित प्रवर्द्धन गर्ने किसान कल्याणकारी योजना तर्जुमा गरी सरकारलाई सिफारिस गर्ने, राज्यप्रति किसानको कर्तव्य र दायित्वका लागि नीति ऐन, नियमावली बनाउन सहयोग गर्ने, किसानको अधिकारको अनुगमन, सुपरिवेक्षण गर्ने र सुधारका लागि सरकारलाई सिफारिस गर्नेलगायत किसान आयोग स्थापनाको मुख्य उद्देश्य हो । तर आयोगले न किसानले उखुको भुक्तानी नपाएको विषयमा मुख खोलेको छ, न गरिमा धनको नक्कली बीउ, फौजी किरालगायत समस्या समाधानमा पहलकदमी नै लिएको छ ।


‘किसानको पक्षमा बोल्ने पहिलो दायित्व आयोगकै हो । किसानकै पीडामा बोल्दैन भने आयोगको औचित्य के ?’ राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘किसानका हरेक समस्यामा आयोग अग्रपंक्तिमा हुनुपर्ने हो । आयोगको साथ नहुनु दु:खद हो ।’ आयोगका प्रवक्ता रवीन्द्र केसीले भने उखु किसानका लागि काम गरिरहेको दाबी गरे । ‘एक साताअघि उद्योग मन्त्रालयलाई उखुको भुक्तानीबारेको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका थियौं,’ उनले भने, ‘अहिले आयोगकै वार्षिक कार्यक्रमअन्तर्गत वीरगन्जमा छौं ।’


उखु किसानकै हकहितका लागि नेपाल उखु उत्पादक महासंघ पनि छ । महासंघले पनि आफूहरूको हकहितमा काम नगरेको आन्दोलनरत किसान बताउँछन् । ‘किसान उपत्यकामा आन्दोलन गरिरहेका छन् । तर महासंघका पदाधिकारी सुतेर बसेका छन्,’ किसान बेचन यादवले भने, ‘किसानको बीचमा आएर समस्या सुनिदिए हुन्थ्यो । विडम्बना महासंघले पनि हाम्रो मर्का बुझेन ।’


महासंघका अध्यक्ष मैनालीले भने आफूहरू किसानकै पक्षमा काम गरिरहेको दाबी गरे । ‘महासंघका प्रतिनिधि महालक्ष्मी सुगर मिलमा भेला गरिरहेका छौं । हामीले मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाएका छौं,’ उनले भने, ‘बिहीबार प्रमुख जिल्ला अधिकारीसहितको करिब २५ सय किसानको भेलाबाट छलफल गराएका छौं ।’


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार आफूहरूसँग २५ गतेसम्म ८० प्रतिशत र माघको पहिलो सातासम्म सम्पूर्ण भुक्तानीको व्यवस्था मिलाउने आश्वासन दिएको सचिव यादवले बताए । छ उद्योगले किसानलाई भुक्तानी दिन बाँकी छ । भुक्तानी माग्दै किसानहरू माइतीघरमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म आन्दोलन गरिरहेका छन् ।


‘उखुको समस्या क्रोनिकजस्तै’

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उखुको समस्या ‘क्रोनिक’ जस्तै रहेको बताएका छन् । वर्षौंदेखि उखु कृषकको समस्या उठेको र सम्बद्ध मन्त्रालयले त्यसको समाधानमा काम गरिरहेको उनको भनाइ छ ।


बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले किसानले अनुदान रकम पनि प्राप्त गर्न नसक्नु दु:खद भएको बताए । ‘सरकारले अनुदान दिएको छ । तर अनुदान चिनी मिलमार्फत जान्छ,’ उनले भने, ‘अनुदान पठाउने माध्यम उपयुक्त छैन । सोझै किसानलाई पठाउन खोजेका छौं ।’

प्रकाशित : पुस १८, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?